अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका दर्जनभन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले बिहीबार बेलुका ५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेको जानकारी दिएको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
मङ्गलबार दिउँसो साढे ४ बजेदेखि बाटो बन्द हुँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने सवारीसाधन रोकिएका छन्। त्यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा पहिरो खस्दा काठमाडौं-धादिङ सडक भने एकतर्फी रूपमा मात्र सुचारु छ।
बागमती प्रदेशका मुख्य राजमार्गहरू पहिरो र बाढीको उच्च जोखिममा छन्। काभ्रेस्थित बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी) मा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ।
भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र १० टनसम्मका मालवाहक सवारीसाधन चलाउन दिइएको छ। बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म भने परिस्थितिको विचार गरी सवारीसाधन सुचारु हुने प्रहरीले जनाएको छ।
रसुवामा भदौ ८ र १० गते आएको विनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड र जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। यो अवरोध लामो समयसम्म रहन सक्ने प्रहरीको अनुमान छ।
नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोलास्थित टोखा-छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यस्तै, बेत्रावती नगरपालिका-१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ।
धादिङमा पृथ्वी राजमार्गको अवस्था पनि अस्तव्यस्त छ। बेनीघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने गजुरी गाउँपालिका-२ परेवा भिरमा साना गाडीहरूका लागि मात्र एक लेन सुचारु गरिएको छ।
त्यस्तै, धादिङकै बेनीघाट रोराङ-१० ज्वाङखोला र थाक्रे गाउँपालिका-२ कमेरेभिरमा भने पृथ्वी राजमार्ग एकतर्फी रूपमा खुलेको छ।
कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चामा पहिरो जाँदा मुगु-गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका-३ भालखोरमा पहिरो खस्दा सहिदमार्ग बन्द भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ बालसिद्ध मन्दिर नजिकै मङ्गलबार दिउँसो पहिरो जाँदा सालझण्डी-ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ भाद्र २०८३ १८:१९ बिहीबार



-600x400.jpg)

