ककरोच जनता पार्टी (सीजेपी) द्धारा प्रदर्शनरत दिल्लीको जन्तर मन्तरमा जारी आन्दोलनको समर्थनमा अभिनेत्री शबाना आजमी र अभिनेता प्रकाश राज सहभागी भएका छन्। उता सोनाक्षी सिन्हाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन दोहोर्याएकी छन्।
आन्दोलनका अगुवा सोनम वाङचुकलाई शनिबार जन्तर–मन्तरबाट हटाएर अस्पताल लगिएपछि, आन्दोलनमा सहभागीहरू र समर्थकहरूले सोमबार संसदतर्फ ९चलो संसद० मार्च आयोजना गर्ने तयारी गरेका छन्।
आइतबार शबाना आजमी जन्तर–मन्तर पुगेर आन्दोलनकारीहरूसँग भेटिन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी अनशनमा बसेकी एक प्रदर्शनकारीको हात समात्दै सान्त्वना दिँदै देखिन्छिन्। उक्त प्रदर्शनकारीले भिडियो साझा गर्दै लेखेकी छन्, शबाना म्याम, तपाईंको समर्थन, एकता र मायाका लागि धन्यवाद।
शबाना आजमीले प्रदर्शनस्थलमा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरिन् र सोनम वाङचुकको अनशनप्रति समर्थन जनाइन्।
यसअघि पनि आन्दोलनमा पुगेका अभिनेता प्रकाश राज आइतबार पुनः जन्तर–मन्तर पुगे। प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने,–‘म आज राति तपाईंहरूसँग छु। म यहीँ छु। अब के हुन्छ, हेरौँ।’
पछि उनले सामाजिक सञ्जालमा प्रदर्शनस्थलबाट एउटा सेल्फी भिडियो साझा गर्दै लेखे,–‘हाम्रो देशका युवाहरू’
भिडियोमा प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेको देखिन्छ। उनले भने,–‘यी युवाहरू आफ्नो उद्देश्यका लागि संघर्ष गरिरहेका छन्।’उनको जन्तर– मन्तरबाट कैयौँ भिडियो सामाजिक सन्जालमा भाइरल भएका छन्।
अर्को तर्फ अभिनेत्री सोनाक्षी सिन्हाले पनि इन्स्टाग्राम स्टोरी र भिडियोमार्फत आन्दोलनलाई समर्थन गरिरहेकी छन्। उनले ‘चलो संसद’ मार्चमा सहभागी हुन आह्वान गरिएको पोस्ट पुनः साझा गर्दै लेखेकि छन्–‘शान्ति। एकता। सम्मान।’
सोनाक्षीले सोमबारको मार्चमा सहभागी हुनेहरूलाई पनि शान्ति कायम राख्न आग्रह गर्दै भनिन्,–आफ्नो आवाज निडरतापूर्वक उठाउनुहोस्, तर आन्दोलनभर कायम रहेको अनुशासन र मर्यादा पनि कायम राख्नुहोस्। शान्ति, एकता र सम्मानलाई प्राथमिकता दिऔँ। प्रत्येक नागरिकलाई प्रश्न गर्ने अधिकार छ, र जब त्यो आवाज अहिंसात्मक हुन्छ, त्यसलाई सुनिनुपर्छ। म युवाहरू, संविधान, विद्यार्थीहरू र राष्ट्रको पक्षमा छु। सबै कुरा राम्रो होस् भन्ने आशा गरौँ।’
प्रकाशित: ४ श्रावण २०८३ १४:११ सोमबार





