‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो
जाँदैन बाचा खेर पर्ख लिन आऊँला...’
यो गीत रेकर्ड हुँदा नारायणगोपालसँग युगल गीत गाउने तारादेवीले यसका गीतकार रत्नशमशेर थापालाई चिनेकी थिइनन्। गीत रेकर्ड भइसकेपछि पनि धेरै समयको अन्तरालमा मात्रै रत्नशमशेरसँग उनको चिनजान भयो। र, त्यो चिनजानमा नारायणगोपालका सामु अत्यन्त लजालु मुद्रामा उभिएकी थिइन्। आज यो कुरो सुन्नेहरूको मनमा अवश्यै जिज्ञासा पैदा हुन सक्छ। त्यो अवस्था बुझ्नेहरूको भनाइ छ - गीतमा जुन शब्दहरू राखिएका थिए, त्यसलाई गाउँदा श्रोताहरूले वास्तविक नै मानिदिन सक्छन्। अर्थात्, गीतमा कतै आफ्नै भाव पो पोखेकी हुन् कि भन्ने भाव श्रोताहरूमा पर्न जाने सम्भावनालाई तारादेवीले ख्याल गरेकी थिइन्। त्यसैले, नारीजातिको मूल गहना– ‘लाज’को मर्मलाई स्वभावतः उनले अनुशरण गरेकी थिइन्। यसका अलावा, यही गीतको रेकर्डिङबारे थाहा पाउनेहरूले यो पनि भनेका छन् कि त्यो गीत रेकर्ड हुँदा यही लज्जा–चरित्रका कारण तारादेवीले नारायणगोपालतर्फ नफर्की र नारायणगोपाल पनि विपरीत दिशातर्फ फर्केर यो गीत गाएका थिए।
त्यो समयको समाज नै सङ्कुचित थियो भनिएला तर सत्य भन्ने हो भने सभ्य समाजको परम्परा थियो त्यो, आजको जस्तो कथित स्वतन्त्रमय समय थिएन। यतिसम्म कि, रङ्गमञ्चमा प्रदर्शन गरिने कुनै नाटकका अभिनयकर्ता यदि नारीपात्र हुन् भने ती पात्रसमेत पुरुष हुन्थे, तिनै पुरुषलाई सिँगारपटार गराएर नारीको रूपमा अभिनय गर्न लगाइन्थ्यो।
त्यो परिवेशको सामाजिक संस्कारमा हुर्केको गीत–गायनको समय र यो समयको तुलना गर्दा आकाश–जमिनकै अन्तर पाउँछौं हामी। आज, गायनको कुरा छाडौं, कथित गीतकारले लेख्ने कथित गीतका शब्दहरू हेर्दा गीत श्रवण गर्ने गीत–पारखीहरू नै लजाउनुपर्ने स्थिति छ। खास गरेर छायाङ्कन गरिएका अधिकांश गीत हेरेर–सुनेर स्वयं लाज पनि लजाउँछ आजकल।
वास्तविक गीतबाट कति तल गिरिसकेका छन् आजका गीतहरू! गीतमा कुनै जीवन छैन। गीतसँग जोडिएको ‘कालजयी’ शब्दमै कलङ्क लागेजस्तो भएको छ। अपवाद छाडेर गीतहरूमा जीवन्तता छैन। रेकर्ड गरायो, भिजुएल बनायो, युट्युबमा जोड्यो अनि ‘भ्युज’को तथ्याङ्क बटुल्यो, बस्! प्रश्न उठ्छ, उद्देश्यविहीन गीत गाइनुको खास अर्थ के हो? केवल चर्चाका लागि? चर्चा गरेर–गराइएर गीतलाई बुझ्न सकिन्छ?
चर्चा शब्दलाई नै वास्तवमा पहिले बुझ्न आवश्यक छ। हामी भन्ठान्छौं, चर्चा हुनु भनेको नाम कमाउनु हो, महान् कहलाइनु हो। एक प्रतिशत पनि होइन। चर्चालाई जसरी चर्चित बनाइन्छ, त्यसरी नै त्यो सेलाउँछ पनि। जस्तो कि, सन्दर्भ जोडौं हिजोआजका गीतको। यो सत्य हो, चर्चित भनेर ढ्वाङ फुकिएका कतिपय गीतहरू लाखौंका सङ्ख्यामा सुनिन्छन्–हेरिन्छन्। तर, यो अर्को सत्यलाई आँखा चिम्लेर नकार्न मिल्दैन कि त्यस्ता गीतहरूको आयु कति हुन्छ? कति महिना? कति हप्ता? वा कति दिन? ठिक यही स्थितिमा आजका गीतलाई हेर्दा चर्चा भन्ने शब्द क्षणिक हो भनेर अझ स्पष्टसँग बुझ्न सकिन्छ। तर, ऊबेलाका कुरा गर्ने हो यहाँ सदाबहार वा कालजयी भन्ने शब्द उपयुक्त देख्न आउँछ। यस सन्दर्भ नाम जोडौं, उनै रत्नशमशेर थापाको र स्मरण गरौं उनका गीतहरूलाई।
रत्नशमशेर थापाका गीत सुन्नेहरूलाई पक्कै थाहा छ, उनी प्रायः रोमान्टिक गीत लेख्थे। माथि उल्लेख गरिएको गीत ‘ए कान्छा ठट्टैमा बैंस जान लाग्यो’ पनि त्यही परिवेशको गीत हो। र, यो गीतसँग सम्बन्धित रोमाञ्चक घटना पनि उल्लेख गरिसकियो । जब त्यो गीत रेडियोबाट बज्न लाग्यो, त्यसलाई अत्यन्तै मन पराइयो। त्यो गीत साँघुरो चर्चाको घेरा तोडेर फैलियो। त्यो फैलनुलाई ठेट शब्दले सम्बोधन गर्ने हो भने स्पष्टसँग भन्न सकिन्छ - त्यो गीत निकै ‘लोकप्रिय’ बन्यो। त्यो समयमा मानिसको मुखबाट आज पनि सुन्न सकिन्छ, गल्लीगल्ली, घरघरमा त्यो गीत गुनगुनाइन्थ्यो। कम्तीमा पनि मान्छेहरू यो गीतको लय सुसेलेर हिँड्थे। अनुमान गर्न सकिन्छ, वास्तवमै त्यो गीतका अलावा त्यति उचाइमा अन्य गीत त्यतिखेर सम्भवतः लोकप्रिय थिएनन्।
उपर्युक्त लोकप्रियता पुष्टि गर्ने एउटा बलियो आधार रत्नशमशेर थापासँगको कुराकानीमा उनैले यसरी बताएका थिए - श्यामदास वैष्णवले एक दिन थापालाई हाजिरीजवाफ शैलीमा सोधे– ‘रत्नजी, रेडियो नेपालबाट बजेको त्यस्तो एउटा गीत कुन होला, जुन दश हजारभन्दा बढी पटक बजेको छ?’
रत्नशमशेरलाई लाग्यो, माइकल ज्याक्सनको गीत हो कि! त्यतिबेला माइकल ज्याक्सन खुब हिट थिए। तर, रेडियो नेपालबाट त्यसरी अंग्रेजी गीत कहाँ बजाइन्थ्यो र! त्यसैले उनी सोचमग्न भए र जवाफ फर्काए -‘मलाई थाहा भएन त वैष्णवजी!’
वैष्णवले रहस्य खोल्दै भने - ‘यही तपाईंको गीत - ए कान्छा ठट्टैमा... त हो नि!’
यो सुनेर रत्नशमशेर आश्चर्यचकित भए। त्यसभन्दा अघि वैष्णवले अर्को थप रहस्य खोले– ‘तीन वर्षसम्म कुनै पनि दिन नबिराई यो गीत बजेको थियो। रेडियो नेपालको इतिहासमा कतै तथ्याङ्क राखिएको भए यो भेट्न सकिन्छ कि रेडियो नेपालबाट प्रसारण हुने फर्माइस गीत कार्यक्रममा तीन मिनेटको यो गीतका लागि पन्ध्र मिनेटसम्म फर्माइसकर्ताहरूको नाम पढिन्थ्यो।’
यसप्रकारको कीर्तिमान राखेको उक्त गीत आज पनि विभिन्न माध्यमबाट लगातार बजिरहेको सुनिन्छ। यसरी यो गीतको नाम लिएर बुझ्न सकिन्छ - लोकप्रिय हुनु भनेको के हो ? त्यसो त कविता, हाइकु, ताङ्काजस्ता काव्यिक साहित्यका अन्य विधामा समेत सिद्धहस्त गीतकार थापाको केवल त्यही एउटा गीत - ‘ए कान्छा ठट्टैमा...’ मात्रै होइन, असङ्ख्य अरू गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। त्यस्ता गीतका माध्यमबाट स्वरसम्राट नारायणगोपाल, तारादेवी, माणिकरत्न, प्रेमध्वज प्रधान, योगेश वैद्यको लोकप्रियतामा रङ थपिएको तथ्य उसबखतका गीतसङ्गीतका मर्मज्ञहरूले आज पनि दोहोर्याइरहन्छन्। जसको पुष्टि स्वभावतः ‘बिछोडको पीडा नसकी खप्न’, ‘घुम्तीमा नआऊ है’, ‘नआऊ जून कोठामा राति’, ‘गोरेटो त्यो गाउँको’, ‘यो खोलाको सङ्लो पानी’लगायत गीतहरूले सहजै गर्छन्।
आफ्ना जादुगरी गीति–शब्दहरूले रत्नशमशेर थापालाई युग–युग जीवित राखिरहने छन्।
प्रकाशित: ४ आश्विन २०८२ ०७:४५ शनिबार





