४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा

चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ। सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो।

फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहनेछ। नामले लभस्टोरी संकेत गरे पनि निर्माण पक्षले भने यसबारे केही जानकारी दिएको छैन तर टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ।

टाइटलमा रहेको कालो र रातो कलरले पनि शंका बीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ। चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन्। उनले नेपाल आइडल सिजन-१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए। भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडी लगायत अनुभव सँगालेका उनी अभिनेता पनि हुन्। ‘दर्पण छाया-२’ मा उनले अभिनय गरेका थिए। फिरोज गायक पनि हुन्।

इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन्। उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

‘कहाँ गयौ तिमी…’ मा कोको कलाकार रहनेछन्, त्यो भने निर्माण पक्षले खुलाएको छैन। निर्माता पनि को रहने जानकारी दिइएको छैन। चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए।

यो चलचित्रको घोषणा गर्दै उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्, “शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। सिनेमा निर्देशन मार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आउँदाे दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।”

प्रकाशित: १ भाद्र २०८२ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App