२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!

मुक्तक

१) मुक्तक

गलेको छ तन उडेको छ मन दिन काट्न कठिन भाछ

तिम्रो अनुपस्थितिमा प्रिय सूर्य पनि  मलिन भाछ

ढकमक्क बगैंचा पनि उजाड देख्छु मरुभूमिजस्तै,

शंकालु नजरले भन्दैछौ कसरी जिन्दगी त्यो रङ्गीन भाछ?

२) मुक्तक

दुर्गम त्यसै दुर्गम हजुर गाँस बास कपास छैन

परदेशीएको युवा जमात छिट्टै फर्किने आश छैन

रेमिट्यान्सको आडमा भन्छौ, समृद्ध बन्छ अब देश,

मक्किएको छ घरको धुरि वृदलाई पक्की निवास छैन।

३) मुक्तक

कहिलेकाहीँ एकान्तमा एक्लै बसी स्वास फेर्ने गर्नुहोस् त

त्रुटि स्वीकार गरी आफूले आफ्नै मनलाई केर्ने गर्नुहोस् त

दुनियाँको छलकपट र खिचातानीबाट टाढा रहेर नि हजुर,

यो सुनौलो संसारलाई बालकको नजरबाट हेर्ने गर्नुहोस् त।

४) मुक्तक

अघिपछिभन्दा फरक चालामाला लागेपछि

अमृत मानी खाएको चिजले पखाला लागेपछि

नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही,

जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।

५) मुक्तक

एउटै वृक्षको फलमा फरक खोज्न मिल्छ र

नतिजाकै निम्ति श्रम अथक खोज्न मिल्छ र

जे जस्तो छ, त्यस्तै स्वीकार गर्नुपर्ने रहेछ हजुर,

अनि  कर्तव्य पूरा नगर्नेले हक खोज्न मिल्छ र?

प्रकाशित: २८ असार २०८३ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App