प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।
राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘बालपनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराले बालबालिकाको सुरक्षित भविष्यमा जोड दिएको बताएका हुन्।
उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि लगानी भएको बताएका छन्। साथै बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले संविधान, राष्ट्रिय बालबालिका नीति र बालबालिकासम्बन्धी ऐनले बालबालिकाका अधिकार सुनिश्चित गरेको बताउँदै अब ती अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित: २९ भाद्र २०८३ ११:३२ सोमबार





