बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सनबर्न महोत्सवमा जाँदै गर्दा कार दुर्घटनामा परेकी छिन्।
मुम्बई प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका एक चालकले आफ्नो कार उनको गाडीमा ठोक्काएका थिए। यसबाट नोरालाई हल्का चोट लागेको थियो र उनले मस्तिष्कमा सानो झटका (कन्कसन) बेहोरेकी थिइन्। उनलाई तुरुन्त नजिकैको अस्पताल लगिएको थियो जहाँ सिटी स्क्यान गरियो र कुनै गम्भीर चोट नभएको पुष्टि भयो।
दुर्घटना भए पनि आराम गर्न चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै उनले महोत्सवमा आफ्नो प्रस्तुति दिएको थिइन्।
‘उनलाई तुरुन्तै प्राथमिक उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो, जहाँ उनको अवस्था स्थिर रहेको पुष्टि भयो। मादक पदार्थ सेवन गरी गाडी चलाउने चालक विरुद्ध मुद्दा दर्ता गरिएको थियो र उनलाई हिरासतमा लिइएको थियो,’ मुम्बई प्रहरीले भनेको छ।
प्रहरीले ती चालकविरुद्ध मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरबाहीपूर्ण तरिकाले गाडी चलाएको आरोपमा मुद्दा चलाएको छ।
परम्परागत रूपमा गोवामा आयोजना हुने सनबर्न महोत्सव यो वर्ष पहिलो पटक मुम्बईमा भएको हो, जुन डिसेम्बर १९ देखि २१ सम्म चलेको थियो।
प्रकाशित: ६ पुस २०८२ ११:५३ आइतबार





