१८ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

अभय

लघुकथा

‘यस्तो अपर्झट त विदेशमा बसेको छोरालाई बोलाउनु नपर्ने।’ मनमा कुरा खेलाउँदै उसले तगारो उघारेर भित्र पस्यो। पिँढीभरि मानिस भरिएको देखेर उसको मन भक्कानिए जस्तो भयो। पर कुनामा बुबा हुनुहुन्थ्यो, आमालाई दैलाको अगाडि नै देख्यो बहिनीले त फोन नै गरेकी थिई। ऊ झस्किदैं उषालाई सम्झ्यो। उनी आँगनको डिलमा मलिन अनुहार लगाएर बसेकी थिइन्। लामो श्वास फेर्‍याे।

‘परिवारका कसैलाई त केही भएको रहेनछ।’

उसले मनमनै भगवानलाई थोरै धन्यवाद दियो। बाँकी कुरा बुझ्नु त बाँकी नै थियो।

‘अब तँ आइपुगिस्, तँ नआउँदै हामीले केही गरे पनि पत्यार लाग्दैन भनेर बोलाएको।’ डर माथिका माहिला दाइले भने। उसकी साली विवाह गर्न इन्कार गरेपछि पहिलो पटक बोल्दै थिए उनी।

‘के हो छिटो भनौ न?’ उसलाई पनि हल्का रिस उठ्यो। आउन त दुई महिनापछि आउने नै थियो तर उता खान खाएर यता हाट चुठ्न आउनु परे जस्तै हतारमा आउन बोलाएका थिए।

‘अब बाबु  हजूर उता हुँदा यता उषा यस्तो भइन्। अब कसरी राख्ने उनलाई घरमा।’ माइली भाउजूलाई पनि आफ्नी बहिनी इन्कार गरेकोमा बेइज्जत गर्नु थियो डर पारीको घरको।

उसले पुलुक्क उषातर्फ हेर्‍याे। उषाको मलिन अनुहार थियो। आँखामा क्षमाप्रार्थी भाव थियो। आफ्नो गल्तीमा पश्चाताप थियो पनि थियो।

उसले मनमनै भन्यो, ‘उसको जाने ठाउँ भएको भए त उहिले नै हिँड्थी नि। आजसम्म किन कुरेर बस्थी र?’

‘ल अब त दाइ आइपुग्नुभयो। खुरुक्क बाटो लागे हुन्छ।’ भन्दै उषातर्फ हेर्दै बहिनीले तगारोको गरालो खोलिन्।

उसले आँगनको बिचमा उभियो। आफ्नी आमातर्फ हेर्‍याे र भन्यो ‘इम्बेसीमा इमर्जेन्सी काम परेर दुई दिनका लागि काठमाडाैं आउनुपरेको थियो, घर खबर गर्न भ्याइन। उषा माइत गएकी रहिछ्न्। उतैबाट काठमाडाैं बोलाएको थिएँ।’  

प्रकाशित: १७ माघ २०८२ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App