फिल्म ‘आ बाट आमा’को शुभसाइत गर्दै छायांकन सुरु भएको छ । आर्या इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको तनहुँको गलेश्वर मन्दिरमा विधिवत् रुपमा शुभसाइत गरिएको हो ।
करिब २ सय जना बटुकले हवनसहित पूजाआर्चना गरेका थिए । फिल्मको छायांकन पनि चितवनमा सुरु भएको छ । एक महिनासम्म फिल्मलाई चितवन, काठमाडौं र भारतको हैदरावादमा छायांकन गर्ने निर्माण पक्षाले जनाएको छ ।
पल शाह, भारतीय कलाकार प्रदीप रावत, नायिका विपना थापा, सिम्रन पन्त र उषा उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रले आमा र सन्तानबिचको स्नेह र सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्नेछ ।
चन्द्र पन्तको निर्देशनमा तयार हुने फिल्ममा कृष्ण प्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवरको लगानी छ । फिल्मको प्रदर्शन मिति फागुन १५ गतेलाई तोकिएको छ ।
प्रकाशित: १४ भाद्र २०८२ १५:०५ शनिबार




