त्यो फुच्चे केटो म चढेको स्टेशनभन्दा पल्लो स्टेशनबाट वस चढेको रहेछ सायद। दुई जनाको वसको सीटमा झ्यालतिर चेप्पिएर बसेको थियो। उसको हातमा बाँसको कप्टेरोमा बनाइएको कागजको सानो झण्डा थियो र झ्यालबाट आएको हावामा फिरफिर भइरहेथ्यो झण्डा। हातको झण्डाको फिरफिरसँगै फुच्चे प्रफुल्लित मुद्रामा मुस्कुराइरहेथ्यो र आफ्नै तालमा ऊ गाउँदै पनि थियो -
सैयौँ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची–महाकाली।
फुच्चेले पटकपटक नयाँ राष्ट्रिय गानका पङ्क्तिहरू दोहोर्याइरहेको थियो। सँगै बसेकी उसकी दिदी होलिन् सायद - ‘चुप लाग, चुप लाग’ भनिरहेकी थिइन्। फुच्चे चाहिँ चुप लाग्न टेरिरहेको थिएन।
–मैले केटोलाई सोधेँ– बाबु, यो झण्डा कसले बनाएको?
–फुच्चेले सहजै जवाफ दियो -म आफैँले।
–अनि यो राष्ट्रिय गान कसले रचेको हो नि, थाहा छ?
–उसले भन्यो– व्याकुल माइलाले।
–तिम्रो नाम के हो नि?
–देशभक्त आचार्य।
फुच्चे निक्कै तीखो लाग्छ। जुनसुकै सवाल–जवाफमा पनि पछि नहट्नेजस्तो छ ऊ। उसकी दिदी चाहिँ मुसुमुसु हाँसिरहेकी छिन्।
सडक जाम छ। गाडीहरू घ्यार्रघ्यार्र गरिरहेछन्। अलिकति सर्दा पनि यात्रुहरू खुशी हुँदै भन्छन् -सरोसरो! के भएको हो यस्तो? एक दिन होइन, दुई दिन होइन। सधैँको जामे रोगले मरिने भइयो– कोही ठड्यौली बोली बोल्छ।
म फुच्चेको हातको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डा र फुच्चेको बोलीमा आकर्षित भइरहेको छु। ऊ हँसिलो छ, चङ्खे परेको अनुहार छ।
उमेरमा त्यस्तै नौ/दस वर्षको हुँदो हो।
–बाबु तिम्रो झण्डा मलाई देऊ न, मैले भनेँ।
–अहँ, दिन्न। फुच्चेले भन्यो।
–तिमी अर्को बनाऊ न, यो मलाई देऊ, मैले फेरि भनेँ।
–अहँ, दिन्न, ऊ एकोहोरो लागिरह्यो।
–म पैसा दिन्छु नि, मैले लोभ्याउन खोजेँ।
–उसले भन्यो– कति दिने?
–मैले भने– पाँच रुपियाँ।
–उसले भन्यो– अहँ दिन्न।
–मैले बढाउँदै गएँ– दस रुपियाँ, वीस रुपियाँ।
–ऊ केवल अहँ दिन्न मात्र भन्दै गयो।
–म सय, पाँच सय र हजार रुपियाँसम्म पनि पुगेँ।
–उसको जवाफ उही रह्यो।
हजारमा पुगेपछि फुच्चेले ‘ल हुन्छ, दिन्छु’ भनेको भए म के गर्थेँ हो कुन्नि ! पिलपिले कागजको सानो बाँसको कप्टेरोमा बनाएको त्यो झण्डा वास्तवमा एक दिनभन्दा दुई दिन टिक्नेवाला थिएन। फुच्चे लरतरो पनि थिएन। हजार रुपियाँ फ्याट्ट भनिहालेँ। त्यसपछि पो म झसङ्ग भएँ। ल, दिन्छु ल्याउनुस् हजार रुपियाँ भनिदिएको भए यतिबेलासम्म उससँग गरेको रमाइलो वसभरि छताछुल्ल भएर पोखिनेवाला थियो। म लिन्न भन्न नपाउने परिवन्दमा परिसकेको थिएँ। वरिपरिका सीटका चार/पाँच जना र उसकी दिदीले पनि हाम्रो संवाद राम्रैसँग सुनेका छन्। म एकाएक सतर्क भएँ। फुच्चे पनि एकछिन्सम्म बोलेन। सोचेँ - यसले पक्कै हजार रुपियाँ निकाल्नुस्, दिन्छु भन्नैलाई सोच्दैछ।
अलिक ढिलो गरेर भन्यो भने त मलाई पनि जवाफ दिने ठाउँ बन्छ, किन मैले भन्नेबित्तिकै हुन्छ, दिन्छु नभनेको त? अब त चाहिएन भन्न सक्छु तर त्यति ढिलो पनि छैन यो केटो। यसले उसको उमेरको झण्डैझण्डै चौदोब्बरको मलाई पक्कै पनि पछार्ने भयो। निक्कै खुम्चिएँ म। फुच्चेको अनुहारमा पनि नहेरी ध्यान अन्यत्र बदल्न खोजेँ। यतिसम्म कि उससँग म कुनै संवादमा उत्रिएकै छैनझैँ बन्न खोजेँ।
‘नजाने गाउँको बाटै नसोध्नु’ भनेका त्यसै होइन रहेछन्। वास्तवमा मैले फुच्चेलाई जिस्क्याउनै नहुने थियो। विचरा बच्चोले रहरले सानो झण्डा बनाएर बोकेको थियो। गाडीमा हिँड्दा झ्यालको हावामा फिरफिरफिरफिर हुँदा केटाकेटीलाई मज्जा लाग्छ। प्लाष्टिक, कागजका पाना त्यसै पनि बच्चाले हावामा उडाएर मज्जा लिइरहेकै हुन्छन्। सानोमा बाँसको पट्याँसको फिरफिरे बनाएर मै पनि कति कुद्थेँ हावामा तर आज यो केटोले अप्ठ्यारोमा पार्ने नै भयो। आफूले खनेको खाल्डोमा आफैँ पर्ने भएँ। यसबाट उम्किन पाएँ भनेँ मेरो ठूलै विजय भएजस्तै हुनेछ। बरु गाडी रोक्न लगाएर यतै झरौँ र अर्कोमा चढेर जाउँ कि भन्ने पनि नसोचेको त होइन तर फुच्चे त्यति ढिलो छँदै थिएन। उसले एकछिन चाहिँ खै किन हो, सोच्यो र मतिर फर्किएर बोल्यो– ओ अङ्कल!
म थर्कमान् भएँ; पक्कै यसले ल्याउनुस् हजार रुपियाँ भन्यो अब। मरेजत्तिकै हुने भएँ। केटाकेटी हो, जे पनि भन्न सक्छ। मलाई गाली गर्न सक्छ, नलिने भए किन जिस्क्याएको त पनि भन्न सक्छ। मुखै छोडेर भन्न थाल्यो भने पनि ऊ केटाकेटी छ, सुहाउँछ। न पिट्नु, न मुख थुनिदिनु।
“हजार त के, लाख रुपियाँ दिए पनि दिन्न। आफ्नो देशको राष्ट्रिय झण्डा पनि कसैले बेच्छ?”
मभित्रको उकुसमुकुस पानीपानी भयो। म छ्याङ्ग भएँ। मन हलुङ्गो भयो तर अघिसम्म गुम्सिएको भाव त्यसै हराउन सकेन। त्यसले निस्किने बाटो खोज्यो। दुःख, खुशी, पीडा, सन्त्रास, डर, जे भनौँ, सबैले आँखैलाई आफ्नो सहज निकासको बाटो ठान्दछन्। आँखा दुःखमा पनि भिज्छन् र हर्षमा पनि भिज्छन्। सायद धेरै कोमल भएकै कारणले होला आँखा यति छिट्टै पग्लिएका। मेरा आँखा पनि पग्लिएर तर मैले आफ्ना आँखा पग्लिएको कुनै पनि हालतमा अरूलाई देखाउनै हुन्नथ्यो। मलाई निक्कै हम्मेहम्मे पर्यो पग्लिएको भाव लुकाउनलाई। बनावटी हाँसो मुसुक्क हाँसेर फुच्चेको गालामा थपथपाएँ। उसकी दिदीलाई हेरेँ। ऊ पनि हँसिली पाराले मलाई नै हेरिरहेकी थिई। अब मलाई त्यति असजिलो भएन पचाउनलाई।
देशमा लोकतन्त्र आएको छ। रङ्गिचङ्गी झण्डाहरू सडकमा यत्रतत्र देखिन्छन्। छयालीस सालमा बहुदल आएको बेला त झन् यतिबेलाको भन्दा ज्यादा घरघरमा पार्टीका झण्डाहरू फरफराएको देखिन्थ्यो। आआफ्नो आस्था र सिद्धान्तका पार्टीका झण्डाहरू घरैपिच्छे देखिन्थे। कतैकतै त एउटै घरमा पनि बेग्लाबेग्लै पार्टीका तीनवटासम्म झण्डा फरफराएको पनि देखिएकै हो। दलीय व्यवस्थाको स्वतन्त्रता नै यही हो। एउटै घरमा पनि वैचारिक मतभिन्नता भइदिँदा श्रीमान्ले एउटा पार्टीको, श्रीमतीले अर्को पार्टीको र छोरोले अर्कै पार्टीको आफ्नो अस्था अनुसारको झण्डा राख्ने स्वतन्त्रताको उपयोग थियो त्यो तर राष्ट्रिय झण्डा चाहिँ त्यतिबेला पनि विचरो अवस्थामा थियो र यतिबेला पनि विचरै अवस्थामा छ। कि त सरकारी कार्यालयहरूमा देख्न पाइन्छ, कि त स्कूलहरू र कि त केही लहडी व्यक्तिहरूका हातमा मात्र। दोलखा जाँदा सदरमुकाम चरिकोटको सात दोबाटो चोकमा राखिएको राष्ट्रिय झण्डा हावामा फरफराउँदै वरिपरि घुम्दा पहिलोचोटि देख्नेलाई अचम्म लाग्न सक्छ। यो देखेर म कति हर्षित भएँथे। सम्भवतः नेपालभरमै यो नै एउटा ठाउँ हो चोकमा त्यसरी राष्ट्रिय झण्डा राखिएको।
राष्ट्रिय झण्डा बोक्ने केही व्यक्तिहरूका आ–आफ्नै स्वभाव छन्। के यो केटो पनि तिनै लहडी स्वभावका व्यक्तिहरूकै सूचीमा पर्छ त? म मनमनै सोच्छु।
एक जना विश्व साइकल यात्री छन्। उनी आफ्नो साइकलमा राष्ट्रिय झण्डालाई बाँधेर विश्व भ्रमणमा हिँडिरहेका छन्। घरव्यवहार, जागिर केही नभनी साइकलमा राष्ट्रिय झण्डा बाँधेर महादेशहरू चहार्नु उनको सोख हो कि लहड? सगरमाथा आरोहण गर्नेहरूले पनि अब त आआफ्नो धर्म, आस्था र पार्टीको झण्डालाई राष्ट्रिय झण्डासँगै चुचुरोमा गाड्न थालिसकेका छन्। अर्का छन् अचम्मको व्यक्तित्वका विम्ब बनेका लक्ष्मणसिंह खड्का। उनी काँधमा एकातिर राष्ट्रिय झण्डा र अर्कोतिर कोदालो र सावेल बोकेर काठमाडौँको सडकका खाल्दा र बिग्रिएका ढलहरू बनाउँदै, पुर्दै हिँड्छन्। अनि चोकचोकमा भाषण पनि गरिहाल्छन्। उनलाई पनि मान्छेले अर्कै आँखाले हेर्छन् र हास्यपात्रको रूपमा उपयोग गर्छन्। अर्का एक जना छन्, जसले पिठ्युँमा जस्तापातालाई कच्याककुचुक पारेर बनाएको बाक्से झोला बोकेका हुन्छन् र उनको भएभरको श्रीसम्पत्ति त्यसैमा अटाएझैँ गरी बोकेका हुन्छन्। उनको एक हातमा राष्ट्रिय झण्डा र अर्को हातमा शिवजीको प्रिय वाजा डम्बरु हुन्छ। उनी डम्बरु बजाउँदै हिँडिरहेका भेटिन्छन्। कोहीसँग नबोल्नु र नमाग्नु उनको विशेषता हो। देख्नेहरूले उनलाई सायद पागल भन्न सक्छन्। खुट्टामा जुत्ता–चप्पल नहुनु, झुत्रेझात्रे र त्यस किसिमको रूपरङ्ग मान्छेका आँखामा सद्दे त पक्कै पनि हुँदैन। म सोच्छु, कतै राष्ट्रियताप्रतिको गम्भीर चिन्ताले पो यसो गरेका हुन् कि यिनले!
अनेक कुरा सोच्दै म मौनतामै टोलाइरहेको थिएँ। फुच्चे आफ्नै ठाउँमा थियो। उसले फेरि बोलायो। म त उससँग बोल्नसक्ने अवस्थामै थिइनँ। हारिसकेको थिएँ मैले फुच्चेको राष्ट्रियतासँग।
“अङ्कल, अचेल टेलिभिजनमा कुन हो एउटा फलामे डण्डीको विज्ञापन आउँछ नि! तपाईंले हेर्नुभएको छ?
विज्ञापन त हरेक डण्डीका आउँछन्। कुनैका ढुक्कले निदाउनका लागि भन्ने, कुनैका त्यो डण्डी भएको बाटो नै फलामै फलाम बनेर बज्ने, कुनैका वरिपरिका सबै घर भूकम्पले भत्किँदा पनि त्यो डण्डीबाट बनेको घरचाहिँ जस्ताको तस्तै रहने, कुनैका टेन्सन छैन भन्ने, कुनैका दूरबीनले डण्डी पसल खोज्ने, कति छन् कति? फुच्चेले के भन्न लाग्यो हो कुन्नि? यसले भन्ने कुरो पक्कै पनि गहिरै हुनुपर्छ। सोधेँ– कुन विज्ञापन देशभक्तबाबु?
“त्यही क्या त पत्रकार भूषण दाहालले राष्ट्रिय झण्डा फरफराउँदै राष्ट्र निर्माणका लागि भरपर्दो आधार भन्छन् नि, फुच्चेले व्याख्या गयो।
मैले झट्ट सम्झिएँ त्यो विज्ञापन। हेर्दा तान त तुनको छ। झण्डा हल्लाएर पनि के विज्ञापन गरेको होला अहिलेको ग्ल्यामरको जमानामा पनि भनेजस्तो तर त्यो विज्ञापन टेलिभिजनमा आउन थालेदेखि मेरी छोरीले पनि हैरान पार्न थालेकी छे– “बाबा मलाई पनि त्यस्तै झण्डा ल्याइदिनु न” भनेर।
सायद त्यो फुच्चेसँग झण्डा माग्नुको, मोलमोलाई गर्नुको मेरो उद्देश्यमा छोरीको आग्रहले पनि कताकता नजानिदो काम गरिरहेको पो थियो कि!
यति सानो केटोमा पनि कति ठूलो चेत ! यो केटो भविष्यको राजनेता हुनसक्छ, प्रखर राष्ट्रवादी। पार्टीपार्टीमा विभाजित नेताहरूलाई हामी राजनेता भनिरहेका छौँ र मानिरहेका छौँ। राष्ट्र र राष्ट्रियताकै लागि मात्र सोच्ने, व्यक्तिगत र पार्टीगत सोचभन्दा माथि उठेको को छ र यहाँ? पुष्कर शाह, लक्ष्मणसिंह र डम्बरुवालालाई त नभनौँ, डण्डीको विज्ञापनमा चाहिँ व्यापारिक स्वार्थ छ नै तर राष्ट्रिय भावनाबाट पनि व्यापारिक विज्ञापन प्रचार गर्न सकिँदोरहेछ भन्ने उदाहरणचाहिँ हो यो।
फुच्चे एकाएक अर्को गीत गाउँछ
“राष्ट्रको गौरव झण्डा यो
हावामा फिरफिर नाच्दछ
चन्द्र र सूर्य उचाली
देशभक्त गीत गाउँछ।’’
“यो गीत चाहिँ कसले लेखेको हो नि बाबु” फुच्चेलाई सोधेँ।
“म आफैँले बनाएको हो” फुच्चेले भन्यो। उसको नाम पनि गीतको लाइनमै भएकोले मैले केही बोल्ने ठाउँ थिएन।
वस जाममा रोकिदै, सर्दै तीनकुने पुगिसकेको थियो। भक्तपुरको गठ्ठाघरबाट कोटेश्वर तीनकुने पुग्नलाई ठ्याक्कै दुई घण्टा लागेछ। समयको कुनै मूल्य छैन। कहीँ कतै कुनै काममा जानुपर्दा दिनै बित्छ। दिनभरको समय आउँदा र जाँदै ठिक्क। आज गणतन्त्र प्राप्तिको खुसीयालीमा आउँदा र जाँदै ठिक्क हुने भयो। गणतन्त्र प्राप्तिको खुसीयालीमा सामुहिक विजय यात्रा छ पार्टीहरूको, त्यसैले जाम भएको हो भनेर मान्छेहरूले चित्त बुझाए पनि जाम त प्राय: भइरहेकै छ। यथार्थ उही त हो व्यङ्ग्यबाजे भैरव अर्यालले भानुभक्तको अलकापुरीलाई भनेजस्तो–
“पथ सात फुटे वस नौ गजको
सीट वीस भए भीड सौ तकको ...”
बाटाहरू उही हुन् साँघुरा, गाडीहरू बढ्दा छन् थरीथरीका। अनि बाटोले के पुगोस् तर आज भने साँच्चैको र्याली नै रहेछ। तीनकुनेबाट गाडी अगाडि जाने कुरै थिएन। सबै यात्रीहरू त्यहीँ ओरालिए। त्यो फुच्चे र उसकी दिदी पनि त्यहीँ झरे। फुच्चेको एक हातमा उसको झण्डा र अर्को हात दिदीको हातमा थियो।
र्याली सामूहिक थियो। त्यहाँ सबै पार्टीका झण्डाहरू थिए रङरङका। र्याली शुरु भइसकेको थियो। झण्डा र व्यानरहरूले सडक भरिएको थियो। बाटो हिँड्नलाई पनि ठेलमठेल र घुर्चाघुर्ची थियो। मैले फुच्चेलाई सोधेँ -देशभक्त, तिमीहरू कहाँ हिँडेका?
उसले दिदीको मुखमा हेर्यो। दिदीले भनी - वानेश्वर मामाघर।
म पनि उतै जाने त हो, अफिस हिँडेको तर आधा बाटोमै एक बजिसक्यो। हतारिएर पनि अर्को उपाय थिएन। उनीहरूसँगसँगै अघि बढेँ, र्यालीको चेपचेपबाट छिर्दैछिर्दै।
फुच्चेले चारैतिर आँखा घुमाइरहेको छ। अनेक रूप र रङका झण्डाहरूमा सायद आफूले बोकेको रूपरङको जस्तो झण्डा खोजिरहेका छन् उसका आँखाले। उसले कतै नदेखेपछि हुनसक्छ, एकाएक निन्याउरो अनुहार लगायो र मलाई भन्यो– “अङ्कल, खै त किन कसैले पनि राष्ट्रिय झण्डा चाहिँ नबोकेका?”
म धर्मसङ्कटमा परेँ। के उत्तर दिनु यसलाई? के भनेर चित्त बुझाउनु यो फुच्चेको ? यिनीहरू पार्टीपार्टीका मान्छे हुन्, यिनीहरूमा राष्ट्रियता छैन, त्यसैले राष्ट्रिय झण्डा नबोकेका भनेर उत्तर दिउँ भने पनि फेरि के भन्ने हो ? त्यस र्यालीमा राजनेताहरू पनि थिए। लोकतन्त्रका, गणतन्त्रका, विजयोत्सवका, राजतन्त्रको विरुद्धका नाराहरू लागिरहेका थिए।
पार्टी र झण्डाकै विषयमा कुरा हुँदा एक दिन एउटी महिला मित्रले भनेकी थिइन्– विदेशबाट आएका उनका श्रीमान्ले पनि यसैगरी सोधेका थिए अरे। विदेशमा त राष्ट्रिय झण्डालाई पनि सबै पार्टीकाले उत्तिकै मानेर बोक्छन् अरे। यहाँ त्यस्तो नपाउँदा उनका श्रीमानले “म जान्छु राष्ट्रिय झण्डा बोकेर त्यो जुलुसमा” भनेर जिद्धी गरेका थिए अरे। श्रीमतीजीले बल्लतल्ल श्रीमान्लाई रोक्न सकेकोमा ठूलै सङ्कट टारेझैँ प्रफुल्ल थिइन्।
मैले फुच्चेलाई कुनै जवाफ दिन नपाउँदै ऊ मरीमरी रुन–कराउन थालिसकेको थियो। लोकतन्त्रको विजयोत्सवको भीडमा उसको हातको कागजको त्यो सानो राष्ट्रिय झण्डा कसैले थुतेर किचीपिची पारेर भुइँमा फ्याँकिदिइसकेको थियो। उसको रुवाई झन्झन् चर्को हुँदै थियो। नमज्जा लाग्यो मलाई पनि। उसलाई फकाउने उद्देश्यले कुनै भद्रको हातमा भएको एउटा पार्टीको झण्डा मागेर फुच्चेलाई दिएँ।
मैले यहाँ पनि फुच्चेप्रति अर्को गल्ती गरेँ। उसलाई चिनिसकेर पनि मैले नगर्नु पर्ने गल्ती गरेँ।
उसले त्यो पार्टीको झण्डा स्वीकार्ने कुरै थिएन। उसले रुवाईसँगै भन्यो - “म पार्टीको मान्छे होइन अङ्कल, बोक्नु छैन यस्तो झण्डा मलाई!”
मलाई फेरि अर्को पटक उसले पगाल्यो। म पग्लिएर पानीपानी भएँ। अघिकै जसरी पानीले आँखाबाट निकास खोज्यो।
देशभक्त भने एकोहोरो रुँदै थियो - “मेरो झण्डा, मेरो झण्डा।”
प्रकाशित: २ फाल्गुन २०८२ १२:४२ शनिबार





