बंगलादेशमा बिहीबार भएको १३औँ राष्ट्रिय संसदीय निर्वाचनले राजनीतिमा नयाँ प्याटर्न देखिएको छ।
सामाजिक सञ्जालमा चर्चित देखिने धेरै अनुहार पराजित हुनुपर्यो। सन् २०२४ मा विद्यार्थी नेतृत्वको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि यो पहिलो पटक भएको निर्वाचन हो ।
यस पटक चुनावी मैदानमा दशकौँ सत्तामा रहेको बंगलादेश नेशनल पार्टी (बीएनपी) थियो। अर्कोतिर २०२४ को जुलाई क्रान्तिबाट उदाएका नयाँ पुस्ताले नेतृत्व गरिरहेको नेशनल सिटिजन पार्टी (एनसीपी) पनि मैदानमा थियो।
मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तिरम सकारले १५ वर्ष सत्तामा रहेको हसिनाको अवामी लिगलाई चुनावमा भाग लिनबाट प्रतिबन्ध लगायो।
सँगै यस पटक सामाजिक सञ्जालका चर्चित अनुहारले पनि उच्च अपेक्षासहित पहिलो पटक चुनावमा भाग लिएका थिए। तर मत परिणामले सबैलाई सोचमग्न बनायो। चुनावी नतिजाले सामाजिक सञ्जालका लाइक र शेयर सधैँ मतपत्रमा नबदलिएको देखायो।
जारी नतिजाले तारिक रहमानको नयाँ नेतृत्वमा रहेको पुरानो दल बीएनपीले दुई तिहाइ बहुमत हासिल गरेको देखाउँछ। बंगलादेशको निर्वाचन आयोगका अनुसार २९७ सिटमध्ये बीएनपीले २०९ सिट जितेको छ। यसरी बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जितेको छ। यो सँगै रहमान अब सरकार गठनको तयारीमा छन्।
हसिना सरकारले प्रतिबन्ध लगाएको जमात-ए-इस्लामी ६८ सिट जितेर संसदमा बलियो विपक्षीको रूपमा उदाएको छ। उसको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनले कुल ७७ सिट जितेको छ। स्वतन्त्र उम्मेदवारहरूले आठ सिटमा जित निकालेका छन्।
तर विद्यार्थी विरोधबाट जन्मिएको एनसीपी छ सिटसहित तेस्रो स्थानमा छ। पार्टीकी नेता नाहिद इस्लामले आफ्नो सिट जितेर संसद्को सबैभन्दा कान्छो सांसदमध्ये एक बन्नेछन्। एनसीपीले जमातसँग गठबन्धन गरेर चुनाव लडेको थियो।
बीएनपीको देशव्यापी लहरले धेरै चर्चित युवा अनुहारहरूलाई हराएको छ।
यस निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेकी स्वतन्त्र उम्मेदवार डा. तस्निम जारा थिइन्। ढाका-९ बाट चुनाव लडेकी उनी जितेका उम्मेदवारसँग दोब्बरभन्दा धेरै (६६ हजार ५२८) मतान्तरले पराजित हुनुपर्यो। उनको फेसबुकमा ७४ लाखभन्दा बढी फलोअर्स छन्।
उनले आधुनिक स्वास्थ्य सेवा र नागरिक अधिकारका मुद्दालाई अजेन्डा बनाएकी थिइन्। उनले ४४ हजार ६८४ मत पाएर तेस्रो भइन्। सो क्षेत्रमा जितेका बीएनपीका अनुभवी नेता हबिबुर रसिद हबिबले एक लाख ११ हजार २१२ मत ल्याएर जित निकालेका हुन्। एनसीपी उम्मेदवार जावेद मियाले ६२ हजार ३४१ मत ल्याएर दोस्रो भएका छन्। यसरी हबिबले दुई नयाँ अनुहारले पाएकोभन्दा धेरै मत पाएका छन्।
पञ्चगढ-१ मा विद्यार्थी आन्दोलनका प्रमुखमध्य एक सरजिस आलम र बीएनपीका मोहम्मद नौशाद जमिरबीच कडा प्रतिस्पर्धा भएको थियो। सरजिसको फेसबुकमा ३१ लाख फलोअर्स छन्। सरजिसले एक लाख ६८ हजार ४९ मत पाए। तर जमिरले एक लाख ८६ हजार १८९ मत ल्याएर करिब १८ हजारको अन्तरले जित निकाल्न सफल भए।
ढाका-८ मा एनसीपीका युवा नेता नासिरुद्दीन पाटोवारीले बीएनपीका दिग्गज नेता मिर्जा अब्बासलाई कडा चुनौती दिएका थिए। पाटोवारीले ५४ हजार १२७ मत पाउँदा अब्बासले ५९ हजार ३६६ मत ल्याएर झिनो मतान्तरले जित निकालेका छन्।
निर्वाचन नतिजा सार्वजनिक भएपछि जाराले एक सन्देशमा भनेकी छिन्, ‘म राजनीतिमा पदका लागि आएकी थिइनँ। ४४ हजारभन्दा बढी मानिसको विश्वास मेरो लागि ठुलो उपलब्धि हो। संसद्मा नपुगे पनि जनताको स्वास्थ्य अधिकारका लागि मेरो डिजिटल लडाइँ जारी रहनेछ।’
सरजिस आलमले आफ्नो पराजयपछि लेखेका छन्, ‘हामीले सडकमा क्रान्ति गर्यौँ, तर मतपेटिकासम्म त्यो क्रान्ति पुर्याउन अझै धेरै मेहनत गर्नुपर्ने रहेछ। १८ हजारको मतान्तरले मलाई जनताको बिचमा अझै गहिरिएर जान प्रेरित गरेको छ।’
नासिरुद्दीन पाटोवारीले आफ्नो हारलाई सम्मानजनक हारको संज्ञा दिँदै भनेका छन्, ‘मिर्जा अब्बास जस्तो कडा प्रतिद्वन्द्वीसँग यति थोरै मतान्तरमा रहनु भनेको नयाँ पुस्ताको उदय हुनु हो। हामीले बंगलादेश नेशनल पार्टीको विरासतलाई चुनौती दिएका छौँ।’
यीमध्ये धेरै युवा नेताहरू सन् २०३१ को निर्वाचनको तयारी अहिल्यैदेखि सुरु गर्ने बताए। राजनीतिक विश्लेषकहरूका अनुसार यी युवा उम्मेदवारहरूले सहरी क्षेत्र र डिजिटल प्लेटफर्ममा ठुलो समर्थन पाए पनि ग्रामीण भेगका मतदाताहरू र आधारभूत संगठनमा बीएनपीको बलियो संरचनालाई तोड्न सकेनन्। विद्यार्थी (जेनजी) आन्दोलनबाट उदाएका एनसीपी संयोजक इस्लामको जितलाई धेरैले महत्त्वपूर्ण मानेका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २ फाल्गुन २०८२ १२:२० शनिबार





