गाउँको रहर थियो - सडक होस्, विकासको उज्यालो आओस्, बार्पाककी ९० वर्षीय लालमायाले जीवनमा कहिल्यै गाडी देखिनन्। उनलाई गाडी हुन्छ भन्ने त थाहा थियो तर कस्तो हुन्छ, कसरी गुड्छ थाहा थिएन। कुनै साना कुनै ठूला गाडीहरू देख्दा ती ठूला गाडीका बच्चाहरू होलान् भन्ने पनि लाग्दथ्यो।
७५ वर्षका बलबहादुर गुरुङले सहरमा गुड्ने अनेक रङ्गमा गाडीका ताँती त देखेका थिए तर गाउँमा गाडी आउला भन्ने कहिल्यै लागेकै थिएन।
गाडी नदेख्ने र नचढ्ने गाउँमा धेरै वृद्धावृद्धा थिए नै। बलबहादुरलाई सहरतिर गएर गाडी चढ्दा लाग्थ्यो, हाम्रो गाउँमा त सायद कहिल्यै गाडी आउँदैन होला। किनकि गाडी देख्नकै लागि पनि गाउँबाट कम्तीमा तीन दिनसम्म पैदल हिँड्दै, जङ्गलमा बास बस्दै पृथ्वी राजमार्गसम्म पुग्नुपर्दथ्यो तर गाउँमा गाडी आइपुगेको छ, पहिलापहिला गाउँमा गाडी आएर घार्रघुर्र आवाज निकाल्दा २०७२ सालको महाविनाशकारी भूकम्पको त्राश उल्झाएको जस्तो पनि लाग्दथ्यो - भूकम्प हो कि? बालबालिकाले सडकमा गाडी देख्न पाउँदा आँखा चम्काउँथे र परपर सँगै पछिपछि कुदिरहन्थे।
त्यसैले बार्पाकका बासिन्दाका लागि सडक पुग्नु एउटा सपना पूरा हुनु थियो। तर आज त्यसै सडकको छेउ उभिएर ६५ वर्षीय धनबहादुर घले भन्छन्, “सडक त आइहाल्यो तर आफू मात्र नआएको रहेछ। आफू सँगसँगै धेरै थोक बोकेर ल्याएछ - उज्यालो मात्र होइन, छाया पनि।”
भुईचालो अघिको बार्पाक हराएको समयको अवशेष २०७२ वैशाख १२ गते। घाम लागेको बिहान, साउनको झरी जस्तो अचानक झरेको विनाश। गाउँमा रहेको पूरै १८०० भन्दा बढी घरहरू निमिट्यान्न भएर भत्किए, कुनै ठाडो घर देखिएन। भित्तामा टाँसिएको फोटो, लुगाफाटा, अन्न र ज्यूँदो सपना - सब भत्कियो।
धनबहादुर घले सम्झन्छन्, “हाम्रा घर ढले, तर त्यो माटोसँगै परम्परा, संस्कृति, हाम्रा आत्मा मात्रै ढलेनन्, भरे बाल्ने चुलो, पाक्ने अन्न, भाडावर्तनहरू सबैसबै ती ढलेर आँसुमा बदलियो।यतिबेला हामीलाई सद्भाव र प्रेमका हातहरू खाँचो थियो नै।
सपना र चलायमान जीवन भत्काउन आयो भुईचालो: बिहान कसैको चुल्होमा दाल उम्लिरहेको थियो, बाहिर खेलिरहेका नाति नातिनाहरू झसङ्ग भएर ढलेका थिए घरभित्र एक्कासी कराउने आमाको आवाज धुलोमै हरायो। जङ्गलमा घाँस दाउरा खोज्न, टिप्न गएकाहरू रुवाबासी गर्दै घरमा के भयो होला भनेर कुदाकुद गर्दै फर्किए र देखे, घरहरू चिहानधारी थियो सपनाको चिहान, गाउँका ७२ मानिसको एकै चिहान।
पुनर्निर्माण: भौतिक कृतिम सौन्दर्य आयो, भावनाहरू सदाका लागि बिलायो।
गाउँ शोकमग्न थियो तर शोक पालेर बसिरहन हुन्नथ्यो। छिट्टै “पुनर्निर्माण” शुरु भयो। सिमेन्ट, रड, फलाम, एंगल, सर्भे, अनि ‘मोडल हाउस’ का बहसहरू प्रारम्भ भयो। गाउँ पुन: उभिनै पर्थ्यो, प्रारम्भ भयो तर धनबहादुर भन्छन्, “हामीलाई त चुल्हो फर्काउनु थियो, उनीहरूले त डिजाइन ल्याए-सिमेन्टको सपना।” देखाए धमाधम घर बन्न थाल्यो।
अबको घरबाट फलेकले छाएका छाना हराए, आँगनमा ढुङ्गा बिछ्याइएका। चोक र गल्लीहरू बिलाए। बन्न थाले कङ्क्रिटका महलहरू, बाहिर रङ्गीन पेन्ट, भित्र मौनता र नमिठो उष्णता।सडक आयो, बाटो गयो, संस्कृति हराउने सुरुवात बार्पाक पुग्ने पक्की सडक - एक गौरवको विषय थियो। तर यो बाटोले गाडी मात्र होइन, शहर ल्यायो, बजार ल्यायो, मूल्य ल्यायो र मौलिकता लग्यो र लग्यो आत्मनिर्भरता, आफ्नो उत्पादन हराएर कर्पोरेट व्यावसायीका खुद्रा सामान किनबेच हुन थाल्यो।
गाउँ बिस्तारै उठेसँगै सम्वादको भर्चुअल दुनियाँ सहज भयो फोन, मोबाइल, इन्टरनेटको सहजता प्राप्त भयो तर हाम्रा स्नेहिलता प्यार र सद्भाव हराउँदै गयो। सँगै आफन्तहरूसँगको भौतिक संवाद हराउँदै गयो। एकै घरमा मान्छेहरू पराया हुन थाले।
गुन्ज ब. गुरुङ भन्छन्, “हामीले बाटो मागेका थियौं। संस्कृति बेच्ने यातायात होइन। गुम्बाहरू ढलेका ठाउँमा चर्चहरू बनून् भनेका थिएनौ। जन्मोत्सवमा गुम्बामा पूजापाठ होऊन् भनेका थियौं केक काट्नुपर्छ भनेका थिएनौं।
अहिले त गाउँका युवायुवतीहरू पिङ्गमा रमाउन छोडेका छन्।”
रोधी हरायो, मेलापात हरायो, गोठ बसाइ गुम्यो बार्पाकमा रोधी, परम्परागत नाचगानहरू अब त “ पौराणिक इतिहास जस्ता” भएका छन्।
मेलापात-जहाँ गाउँले सँगै खेत जोत्न्थे, सँगै दालभात खान्थे, त्यो अब त्यसो गर्नेहरू मजदुरको दर्जामा गए। गोठ जानेहरू, चौरी पाल्नेहरू र भेडा पाल्नेहरू हराउन थाले।
जहाँ रनवन बिहान दिउँसो मुरली बज्थे, साँझबिहान दुध दुहिने मही पार्ने, आलोपालो ऐचोपैंचो गर्ने परम्परा थियो - अब शहरको डेरी जस्तो र पाकेटमा कर्पोरेट व्यावसायीले पठाउने दुध र कोकाकोलाले खाइदियो।
पुरानो दृश्यहरू भित्तामा टाँसिने मात्रै भयो: काठले छाएका छाना, फल्यकले बारेका भित्ता, ढुङ्गाले बिछ्याइएको आँगन, माटो र काठको दुईतले घर, बरण्डा, कौसी, मान्द्रोमा सुकाइएको गुन्द्रुक, उन कात्ने चर्खा भएका घरहरु अब दुर्लभ नै भैसक, भित्तामा टाँसिने पोष्टरमा बनिसकेका छन्।
भुक्तभोगी शारदा भन्छिन्, “अहिलेका घरहरू त राम्रो होलान् तर चुलाकाे धुवाँ छैन, त्यो धुवाँमै हाम्रो पहिचान थियो।”
परदेशीको पर्खाइस् लाहुरे संस्कारदेखि मल्टिनेशनल सपना, हिजो: “लाहुर जानु शान थियो। गाउँको इज्जत प्रतिष्ठा थियो।” तर आज “भिसा लाग्नु नै भाग्य हो।”
बार्पाकका युवाहरू कोरिया, जापान, कतार, दुबई, मलेसिया पुगेका छन्। सहरमा घडेरी किन्ने सपना बोकेका छन्, कसैले बार्पाकमा बस्ने र बाबुआमाको बिंडो थाम्ने रहर गर्दैनन्।
युवाहरू परदेशी भएपछि: गाउँमा वृद्धावृद्धा मात्रै बाँकी छन्, बालबालिकाले आमाबाबुलाई मोबाइलमा चिन्छन्, हजुरबा र हजुरआमा चिन्दैनन्। नातिनातिनाको प्रेममा भुतुक्कै हुनु सामान्य मात्रै हो।
स्कुलमा शिक्षक छन् तर विद्यार्थी छैनन्, भवन छ स्याहार छैन। आँगनमाआँगनमा सिस्नु उम्रिनु सामान्य बनेको छ।
फोटोमा बाँचेको गाउँ: “पुराना फोटो हेर्छु,” घले बुबा भन्छन्, “त्यो घरलाई छोएझैँ लाग्छ। मन भक्कानिएर आँउँछ। ढोकाको चौकटमा आमा झुन्डिएको तस्वीर, त्यही घरभित्र पुरिएर मनमा मात्रै सँगालेको छु।
के बाँकी छ?
मौलिक बार्पाक अब देखिन्छ तर हृदयमा त्यो बार्पाक बाँकी छैन। नक्कली पर्यटन, नक्कली संस्कृति?
होमस्टेहरू खुलेका छन्, गाउँ हेर्न आउनुस् भन्ने पोस्टर देखिन्छ तर पर्यटकले देख्ने बार्पाक-सजिएको, पेन्ट गरिएको, होटलस्तरको सेवा - के त्यो साँचो बार्पाक हो र?
गुन्ज ब. गुरुङ भन्छन्: “पर्यटकलाई देखाउन झूटा झ्याल बनाउँछौँ, तर घरमा छैन। आफ्नै जीवनको झ्याल कहिले खोल्ने?”
महिला: मौनताभित्रको आन्दोलन, गाउँका पुरुषहरू परदेशिएपछि घर महिलाले सम्हालेका छन् घर, गोठ, समाज तर प्रश्नको केन्द्रबिन्दुमा छैनन्। कृषि, सहकारी, स्वास्थ्य, तालिम- सबैमा महिला तर राजनीतिको निर्णयात्मक पङ्क्तिमा छैनन्। त्यो पनि अधबैंसेहरू मात्रै न हुन्।
ओसिना घले भन्छिन्, “हामीले घर बनायौं तर नक्सा को हो अर्कैले बनाउँछ। जसले हाम्रोपन बुझ्दैनन् जान्दैनन्। हामीले गाउँ सम्हाल्यौ तर नेतृत्वमा तिनै छन्- जो यहाँ छैनन्।”
भविष्यको बार्पाक: हराएकोलाई खोज्ने वा नयाँ सिर्जना गर्ने?
सडक, भवन, इन्टरनेट-सबै विकासका सूचक हुन्। तर संस्कृति, परम्परा, सम्बन्ध, सामूहिकता - यी बिना गाउँ नक्सामा मात्रै बाँकी हुन्छ। जसले बल्ल बल्ल गणितीय आँकडामा मात्रै समाज बुझेका छन्। संस्कृति बुझेका छैनन्।
के गर्न सकिन्छ त बार्पाक जोगाउन?
हाम्रा रोधी घर पुनः स्थापना गर्न केही योजना हुनुपर्ने हो स्थानीय गीतसङ्गीतको संग्रहालय बन्नुपर्ने हो तर कसरी? युवालाई गाउँमै रोजगारी दिने तयारी कसले गर्ने? पुराना घर संरचना पुनर्निर्माण, जीवन्त म्यूजियमको रूपमा विकास गर्नुपर्छ। यसका लागि सोच्ने कसले हो?
बार्पाक - गुमेको गाउँ, पाउने बाटो
बार्पाकको फलेक छाएको घर सुन्दर होला तर झिकिएको माटोमा थियो आत्मा जस्तो छ।
ढोकामा लटकाइएको फोटोहरू राम्रो देखिएलान् तर तिनको पछाडि उभिएको आत्मगौरव नै साँचो बार्पाक हो।
“घरको बनावट फेरिएको छ तर आवाज फेरिएको छैन- त्यो पुरानो रोधीको गीत अझै कानमा गुन्जिरहेछ।”
- गुन्ज ब. गुरुङ फेरि थप्छन्। अब जिउँदो भएर रोदी फेरि बिउँझेला त!
प्रकाशित: ७ भाद्र २०८२ १३:१३ शनिबार





