केही दिनयता स्कटल्यान्डका पहाड, हरियाली, ताल, समुद्र, पुराना किल्ला, सुन्दर गाउँबस्ती र यहाँको जीवनशैलीलाई नजिकबाट नियालिरहेकी छु। एउटा नेपाली महिलाका रूपमा यहाँ घुमिरहँदा मैले केवल एउटा सुन्दर देश देखिरहेकी छैन, मेरा आँखाले बारम्बार नेपाललाई खोजिरहेका छन्।
स्कटल्यान्डका उच्चभूमिका पहाड हेर्दा नेपालको हिमाल सम्झिन्छु, यहाँका हरिया डाँडाकाँडा देख्दा हाम्रा गाउँ सम्झिन्छु, स्थानीय उत्पादन र साना व्यवसाय देख्दा नेपालका महिला उद्यमी सम्झिन्छु अनि युवाहरूलाई नयाँ प्रविधि र सिर्जनशीलतासँग जोडिएको देख्दा नेपालका लाखौं सम्भावनाशील युवाको भविष्य सम्झिन्छु।
महिला उद्यमशीलता, युवा नेतृत्व, स्थानीय उत्पादन, पर्यटन र आर्थिक सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी मलाई स्कटल्यान्डको यो यात्रा पर्यटकको यात्रा मात्र लागेन। यो मेरा लागि सिकाइको यात्रा बन्यो। यहाँ रहँदा मेरो मनमा एउटा प्रश्न पटक–पटक उठिरह्यो - प्रकृति, संस्कृति र स्थानीय पहिचानलाई स्कटल्यान्डले कसरी आर्थिक अवसरमा रूपान्तरण गरेको छ र नेपालले यसबाट के सिक्न सक्छ ?
नेपालबाट विदेश जाँदा हामी प्रायः त्यहाँको भौतिक विकास, सडक, भवन, प्रविधि वा जीवनशैली हेर्छौं। मेरो रुचि भने मानिस र अर्थतन्त्रबिचको सम्बन्धमा छ। एउटा पर्यटक स्कटल्यान्ड आउँदा उसले होटलमा मात्र पैसा खर्च गर्दैन। उसले स्थानीय खाना खान्छ, यातायात प्रयोग गर्छ, किल्ला र संग्रहालय हेर्छ, स्थानीय उत्पादन किन्छ, गाउँ पुग्छ, स्थानीय मार्गदर्शक लिन्छ, कृषि फार्ममा जान्छ र प्रकृतिको अनुभव गर्छ। यसरी एउटा पर्यटकको खर्च धेरै व्यवसाय हुँदै स्थानीय समुदायसम्म पुग्छ। त्यसैले यहाँ पर्यटन एउटा उद्योग मात्र होइन, धेरै क्षेत्रलाई जोड्ने समग्र अर्थतन्त्र रहेछ भन्ने अनुभूति हुन्छ।

स्कटल्यान्ड बेलायतकै हिस्सा भए पनि यसको आफ्नै इतिहास, संस्कृति, भाषा, पहिचान र आर्थिक विशेषता छ। यहाँको प्रकृति र संस्कृति विश्वभरका मानिसका लागि आकर्षण हुन्। स्कटल्यान्डको वास्तविक शक्ति केवल यसको प्राकृतिक सुन्दरतामा छैन। यसको शक्ति प्रकृति, संस्कृति, मानिस, उद्यमशीलता, उत्पादन, पर्यटन र बजारलाई एकअर्कासँग जोड्ने क्षमतामा छ। यही कारणले स्कटल्यान्डको यात्रा गर्दै गर्दा नेपालका लागि सम्भावनाका धेरै ढोका देखिन्छन्।
स्कटल्यान्डलाई केवल सुन्दर देशका रूपमा बुझ्नु हुँदैन
स्कटल्यान्डको अर्थतन्त्रलाई एउटा मात्र क्षेत्रमा निर्भर अर्थतन्त्रका रूपमा बुझ्न मिल्दैन। सेवा क्षेत्र यसको ठुलो आधार हो। निर्माण, व्यावसायिक तथा वैज्ञानिक सेवा, वित्तीय सेवा, थोक तथा खुद्रा व्यापार, पर्यटन, ऊर्जा, खाद्य तथा पेय पदार्थ, कृषि, समुद्री अर्थतन्त्र र प्रविधिले यहाँको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
२०२२ को जनगणनाअनुसार स्कटल्यान्डको जनसंख्या करिब ५४ लाख ३७ हजार थियो। जनसंख्या संरचनामा क्रमशः वृद्ध थपिँदै जाने प्रवृत्ति पनि देखिन्छ। यसको अर्थ भविष्यको अर्थतन्त्रमा युवा जनशक्ति, सिप, उत्पादकत्व र आवश्यक जनशक्तिको व्यवस्थापन महत्त्वपूर्ण विषय बन्नेछ। यो कुरा नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ।
नेपालमा युवा जनसंख्या ठुलो मात्रामा छ तर त्यो जनसंख्यामा युवाहरू रोजगारी र अवसरका लागि विदेश गइरहेका छन्। त्यसैले हामीले केवल युवा जनसंख्या भएकोमा गर्व गरेर पुग्दैन। युवालाई देशभित्रै उत्पादन, उद्यम र रोजगारी सिर्जनासँग कसरी जोड्ने भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ।
स्थानीय उत्पादनलाई विश्वव्यापी पहिचान
स्कटल्यान्डको नाम आउँदा विश्वका धेरै मानिसले सबैभन्दा पहिले स्कच ह्विस्की सम्झन्छन्। एउटा स्थानीय उत्पादन कसरी देशको अन्तर्राष्ट्रिय पहिचान बन्न सक्छ भन्ने यो एउटा महत्त्वपूर्ण उदाहरण हो तर स्कटल्यान्डको खाद्य तथा पेय पदार्थ क्षेत्र ह्विस्कीमा मात्र सीमित छैन। सामुद्रिक माछा तथा अन्य समुद्री उत्पादन, दुग्धजन्य पदार्थ, मासु तथा विभिन्न स्थानीय खाद्यवस्तु पनि विश्व बजारमा परिचित छन्।
सरकारी विवरणअनुसार स्कटल्यान्डको खाद्य तथा पेय पदार्थ क्षेत्रमा १७ हजारभन्दा बढी व्यवसाय छन् र यसबाट करिब एक लाख १५ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्। यस क्षेत्रको आर्थिक योगदान करिब १८.९ अर्ब पाउन्ड रहेको उल्लेख गरिएको छ। २०२५ मा स्कटल्यान्डको अन्तर्राष्ट्रिय वस्तु निर्यातमा पेय पदार्थ सबैभन्दा ठुलो वर्गमध्ये एक थियो, जसको मूल्य करिब ४.९ अर्ब पाउन्ड थियो।
यी तथ्यांकले एउटा महत्त्वपूर्ण कुरा देखाउँछन्– स्थानीय उत्पादनलाई गुणस्तर, पहिचान, बजार र निर्यातसँग जोड्न सकियो भने एउटा उत्पादनले पूरै देशको आर्थिक परिचय निर्माण गर्न सक्छ।
मलाई यहाँ आएपछि नेपालका उत्पादनहरू सम्झना हुन्छन्–इलामको चिया, नेपाली कफी, अलैंची, अदुवा, मह, हिमाली जडीबुटी, मुस्ताङको स्याउ, हस्तकला, ढाका, पश्मिना र विभिन्न स्थानीय खाद्यपदार्थ। हामीसँग उत्पादन छन्। हामीसँग कथा छन्। हामीसँग मौलिकता छ। हामीसँग प्रकृति छ तर प्रश्न हो - के हामीले यी सबैलाई विश्व बजारमा चिनिने बलियो व्यावसायिक पहिचानमा बदल्न सकेका छौं?
स्कटल्यान्डले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचानमा बदल्न सकेको छ। नेपालले पनि ‘नेपालमा निर्मित’ भन्ने पहिचानलाई केवल भावनात्मक नारामा सीमित नराखी गुणस्तर, आकर्षक आवरण, प्रमाणीकरण, बजार पहुँच र निर्यातसँग जोड्नुपर्ने समय आएको छ।
कृषि र पर्यटनको सम्बन्ध
स्कटल्यान्डको अर्को महत्त्वपूर्ण पक्ष कृषि हो। सन् २०२५ मा यहाँको कुल कृषि क्षेत्र करिब ५० लाख ३० हजार हेक्टर थियो, जुन कुल भूभागको लगभग ६५ प्रतिशत हो। नेपाल र स्कटल्यान्डको कृषि प्रणाली एउटै होइन। भूगोल, प्रविधि, बजार र उत्पादनका तरिका फरक छन् तर एउटा महत्त्वपूर्ण सिकाइ भने साझा छ - कृषिलाई केवल खेतमा उत्पादन गर्ने कामका रूपमा होइन, ग्रामीण अर्थतन्त्रको केन्द्रका रूपमा हेर्न सकिन्छ।
स्कटल्यान्डमा कृषि–पर्यटनको विकास हुँदै गएको छ। अर्थात् कृषि फार्मलाई उत्पादन गर्ने ठाउँ मात्र नभई पर्यटकले ग्रामीण जीवन अनुभव गर्ने ठाउँका रूपमा पनि विकास गरिएको छ। कृषि फार्ममा बसाइ, फार्म भ्रमण, स्थानीय खाना, साना भोजनालय, स्थानीय उत्पादनको बिक्री र ग्रामीण जीवनको अनुभव पर्यटकका लागि आकर्षण बनेका छन्। २०२५ को कृषि–पर्यटनसम्बन्धी अध्ययनले स्कटल्यान्डको कृषि–पर्यटनको आर्थिक मूल्य करिब २९ करोड २९ लाख पाउन्ड पुगेको र २५ लाखभन्दा बढी आगन्तुकले यस्ता अनुभव लिएको अनुमान गरेको छ।
नेपालमा यसको सम्भावना अझ ठुलो हुन सक्छ?
हाम्रो चियाबगान आफैं एउटा पर्यटन गन्तव्य बन्न सक्छ। कफी फार्ममा पर्यटक पुग्न सक्छन्। मुस्ताङको स्याउखेती, इलामको चिया, जुम्लाको स्थानीय कृषि, हिमाली पशुपालन, मौरीपालन, जैविक खेती र स्थानीय खानालाई पर्यटन अनुभवमा बदल्न सकिन्छ। किसानलाई केवल उत्पादन गर्ने व्यक्ति होइन, ग्रामीण पर्यटनको उद्यमी बनाउन सकिन्छ। यसबाट किसानको आम्दानी बढ्नुका साथै युवालाई गाउँमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सकिन्छ।
पर्यटन: होटलभन्दा धेरै ठुलो अर्थतन्त्र
स्कटल्यान्डमा पर्यटनको वास्तविक अर्थ बुझ्न चाहने हो भने होटलका कोठा मात्र हेरेर पुग्दैन। एउटा पर्यटक एडिनबरा आउँछ। ऊ होटलमा बस्छ, भोजनालयमा खाना खान्छ, रेल चढ्छ, किल्ला हेर्छ, स्थानीय पसलमा सामान किन्छ, उच्चभूमितर्फ जान्छ, मार्गदर्शक लिन्छ र स्थानीय खाना तथा पेय पदार्थको अनुभव गर्छ। उसको खर्च विभिन्न व्यवसाय हुँदै स्थानीय अर्थतन्त्रमा पुग्छ।
स्कटल्यान्डको पर्यटन निकायका अनुसार २०२४ मा घरेलु तथा अन्तर्राष्ट्रिय गरी करिब नौ करोड २० लाख पर्यटकीय भ्रमण भएका थिए र आगन्तुक खर्च करिब ११.४ अर्ब पाउन्ड पुगेको थियो। पर्यटन क्षेत्रमा करिब दुई लाख ३९ हजार रोजगारी रहेको तथ्यांक छ। यसैले पर्यटनलाई केवल ‘पर्यटक ल्याउने’ विषयका रूपमा हेर्नु हुँदैन। पर्यटन एउटा यस्तो आर्थिक प्रणाली हो, जसले होटल, कृषि, खाद्य उद्योग, यातायात, कला, संस्कृति, खुद्रा व्यापार, स्थानीय उत्पादन, मार्गदर्शक, मनोरञ्जन र साना व्यवसायलाई एकअर्कासँग जोड्छ।
नेपालले पनि पर्यटनलाई यही दृष्टिले हेर्नुपर्छ
पर्यटक काठमाडौंको होटलमा बसेर मात्र नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याउँदैन। उसलाई गाउँसम्म पुर्याउनुपर्छ। स्थानीय उत्पादन किन्न लगाउनुपर्छ। स्थानीय खाना खान दिनुपर्छ। स्थानीय संस्कृति अनुभव गर्न दिनुपर्छ। स्थानीय मार्गदर्शक र व्यवसायीबाट सेवा लिन सक्ने वातावरण बनाउनुपर्छ। त्यसपछि मात्र पर्यटनको लाभ व्यापक समुदायमा पुग्छ।
कस्ता मानिस स्कटल्यान्ड आउँछन्?
स्कटल्यान्डको पर्यटन बजार विविध छ। यहाँ परिवार आउँछन्, युवा, दम्पती, वृद्ध, प्रकृतिप्रेमी आउँछन्, इतिहास र संस्कृति रुचाउने मानिस आउँछन्, साहसिक पर्यटनमा रुचि राख्नेहरू आउँछन्। गोल्फ खेल्न एवं खाद्य तथा पेय पदार्थको अनुभव लिन आउनेहरू छन्। व्यावसायिक भ्रमण तथा विभिन्न कार्यक्रमका लागि आउनेहरू पनि छन्। २०२५ मा ग्रेट ब्रिटेनका बासिन्दाले स्कटल्यान्डमा एक करोड चार लाख रात बिताउने पर्यटकीय भ्रमण गरेका थिए। उनीहरूले तीन करोड दुई लाख रात बिताएका र करिब ३.८ अर्ब पाउन्ड खर्च गरेका थिए।
त्यसैगरी २०२४ मा अन्तर्राष्ट्रिय आगन्तुकले ४४ लाख भ्रमण गरेका, तीन करोड सात लाख रात बिताएका र करिब आर अर्ब पाउन्ड खर्च गरेका थिए। यसको अर्को रोचक पक्ष के हो भने आजको पर्यटक केवल ठाउँ हेर्न चाहँदैन। ऊ अनुभव गर्न चाहन्छ। स्थानीय खाना खान चाहन्छ, स्थानीय मानिसको कथा सुन्न चाहन्छ, कृषि फार्ममा जान चाहन्छ, गाउँको जीवन बुझ्न चाहन्छ, पहाडमा हिँड्न चाहन्छ र इतिहाससँग जोडिन चाहन्छ। यही नै आधुनिक पर्यटनको बदलिँदो अर्थ हो।
कुन मौसममा स्कटल्यान्ड जाने?
स्कटल्यान्डलाई एउटै उत्कृष्ट मौसममा सीमित गर्न सकिँदैन। प्रत्येक ऋतुका आफ्नै विशेषता छन्। वसन्त ऋतुमा प्रकृति हरियो हुँदै जान्छ। सहर, संस्कृति र ग्रामीण क्षेत्र घुम्न चाहनेका लागि यो आकर्षक समय हुन सक्छ। जुनदेखि अगस्टसम्मको गर्मीको मौसम सबैभन्दा व्यस्त हुन्छ। दिन लामो हुन्छन्। पहाडी क्षेत्र, टापु र प्रकृतिमा आधारित गतिविधिका लागि धेरै पर्यटक आउँछन्। तर यही समयमा भिड र मूल्य पनि बढ्न सक्छ।
सेप्टेम्बरदेखि नोभेम्बरसम्मको शरद् ऋतुमा पहाड र जंगलको रङ परिवर्तन हुन्छ। प्रकृति अवलोकन, पैदल यात्रा, खानपान र सांस्कृतिक अनुभवका लागि यो सुन्दर समय हो। डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो हुन्छ। दिन छोटा हुन्छन् र केही क्षेत्रमा मौसम कठिन हुन सक्छ तर क्रिसमस, जाडो मौसमका सांस्कृतिक गतिविधि, खानपान, ह्विस्की र हिमाली गतिविधिले अर्को प्रकारको पर्यटन सम्भावना सिर्जना गर्छ। यसले नेपाललाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ - हामी किन केही महिनामा मात्र पर्यटन केन्द्रित हुन्छौं? नेपालले पनि वर्षभरि पर्यटन चलाउन जाडो पर्यटन, सांस्कृतिक पर्यटन, स्वास्थ्य तथा विश्राम पर्यटन, कृषि–पर्यटन, गाउँ पर्यटन, साहसिक पर्यटन र सम्मेलन पर्यटनको विकास गर्नुपर्छ।
उच्चभूमि देख्दा नेपालको हिमाल सम्झिन्छु
स्कटल्यान्डको उच्चभूमि हेर्दा मलाई नेपालको हिमालको सम्झना हुन्छ। भूगोल फरक छ, प्रकृतिको स्वरूप फरक छ तर प्रकृतिसँग मानिसको सम्बन्धको प्रश्न समान छ। उच्चभूमि स्कटल्यान्डको महत्त्वपूर्ण पर्यटन गन्तव्य हो।
एडिनबरा र ग्लास्गोजस्ता सहरसँगै ग्रामीण तथा प्राकृतिक क्षेत्रले पनि पर्यटकलाई आकर्षित गर्छन्। नेपालसँग त झन् अद्वितीय हिमाली सम्पदा छ - सगरमाथा, अन्नपूर्ण, मनास्लु, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला र असंख्य हिमाली गाउँ तर एउटा प्रश्न हामीले सोध्नैपर्छ - हिमालको पर्यटनबाट हिमालमै बस्ने मानिसले कति लाभ पाइरहेका छन्? पर्यटक गाउँमा पुग्छ तर स्थानीय समुदायको आम्दानी बढ्दैन भने पर्यटनको उद्देश्य अधुरो हुन्छ। पर्यटनको लाभ होटलमा मात्र होइन, किसान, महिला उद्यमी, स्थानीय मार्गदर्शक, यातायात व्यवसायी, हस्तकर्मी, कलाकार र गाउँका युवासम्म पुग्नुपर्छ। स्थानीय समुदायलाई पर्यटनको लाभको केन्द्रमा राख्न सकियो भने मात्र पर्यटन दिगो बन्न सक्छ।
संस्कृति पनि अर्थतन्त्र हो
स्कटल्यान्डको संस्कृति यहाँको पर्यटनको मुटु हो। ब्यागपाइपको संगीत, परम्परागत पोसाक, लोकसंगीत, पुराना किल्ला, साहित्य, उत्सव, स्थानीय खाना र मौलिक सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छन्। यहाँ संस्कृति केवल संग्रहालयभित्र बन्द छैन। त्यो जीवन्त छ। मानिसको दैनिक जीवनसँग जोडिएको छ। त्यसले मानिसलाई आकर्षित गर्छ र अर्थतन्त्रसँग जोडिन्छ। नेपालसँग त झन् ठुलो सांस्कृतिक विविधता छ। नेवार वास्तुकला, गुरुङ र मगर संस्कृति, शेर्पा परम्परा, थारू संस्कृति, तामाङ समुदाय, हिमाली जीवन, मिथिला कला, लोकगीत, लोकनृत्य, नेपाली खाना र धार्मिक तथा सांस्कृतिक सम्पदा हाम्रो ठुलो पुँजी हो।
हामीले संस्कृतिलाई केवल संरक्षण गर्ने विषयका रूपमा मात्र होइन, सम्मानपूर्वक स्थानीय अर्थतन्त्रसँग जोड्ने विषयका रूपमा पनि हेर्नुपर्छ। कुनै गाउँको परम्परागत खाना, हस्तकला, पोसाक, नृत्य वा वास्तुकला पर्यटकका लागि अनुभव बन्न सक्छ तर त्यसको लाभ स्थानीय समुदायमै फर्किनुपर्छ। संस्कृति व्यापारको वस्तु मात्र होइन, समुदायको पहिचान हो भन्ने संवेदनशीलता पनि उत्तिकै आवश्यक छ।
महिला: पर्यटन र अर्थतन्त्रका नेतृत्वकर्ता
महिला उद्यमशीलतामा काम गर्दै गर्दा मैले एउटा कुरा सधैं महसुस गरेकी छु– महिलालाई अवसर दिइयो भने उनीहरूले केवल आफ्नो परिवारको आम्दानी बढाउँदैनन्, समुदायको अर्थतन्त्र पनि चलाउँछन्। पर्यटनमा महिला होटल व्यवसायी हुन सक्छन्, घरबास सञ्चालन गर्न सक्छन्, स्थानीय खाना उत्पादन गर्न सक्छन्, हस्तकला बेच्न सक्छन्।
महिलाले पर्यटन व्यवसाय सञ्चालन गर्न सक्छन्, कृषि–पर्यटन चलाउन सक्छन्, विद्युतीय माध्यमबाट आफ्नो उत्पादन विश्व बजारमा बेच्न सक्छन्। त्यसैले महिला सशक्तीकरणलाई केवल सामाजिक न्यायको विषयका रूपमा मात्र होइन, आर्थिक विकासको रणनीतिका रूपमा पनि हेर्नुपर्छ।
नेपालमा महिला उद्यमीको संख्या बढ्दै छ तर वित्तीय पहुँच, प्रविधि, बजार, निर्यात, व्यावसायिक पहिचान र सञ्जाल निर्माणमा अझै ठुलो खाडल छ। स्कटल्यान्डसँगको सहकार्यले यी क्षेत्रमा ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न सक्छ। नेपालका महिला उद्यमीले यहाँका सफल अभ्यास सिक्न सक्छन् भने स्कटल्यान्डका संस्थाले नेपालका महिला उद्यमीका मौलिक उत्पादन र सम्भावना बुझ्न सक्छन्।
युवा: रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने हो
स्कटल्यान्डमा युवाको भूमिका हेर्दा नेपालको युवापुस्तालाई सम्झनु स्वाभाविक हुन्छ। आजको युवा प्रविधिसँग जोडिएको छ। उसले नयाँ व्यवसाय सुरु गर्न सक्छ। सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्धन गर्न सक्छ। विद्युतीय व्यापारमार्फत स्थानीय उत्पादन बेच्न सक्छ। कृत्रिम बुद्धिमत्ता र तथ्यांकको प्रयोग गर्न सक्छ। नयाँ पर्यटन अनुभव सिर्जना गर्न सक्छ।
नेपालमा हामीले युवालाई केवल सरकारी जागिर वा विदेशको रोजगारीतर्फ हेर्ने सोचबाट बाहिर निकाल्नुपर्छ। युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने पनि हुन सक्छ तर त्यसका लागि उसलाई अवसर चाहिन्छ। नयाँ उद्यम सुरु गर्न प्रारम्भिक लगानी चाहिन्छ, उद्यम विकास केन्द्र चाहिन्छ, अनुभवी व्यक्तिको मार्गदर्शन चाहिन्छ, बजारसम्म पहुँच चाहिन्छ, स्थिर र प्रोत्साहनकारी नीति चाहिन्छ।
मेरो विचारमा नेपालको भविष्यको ठुलो सम्भावना यही ठाउँमा छ। आज विदेश जाने तयारी गरिरहेको युवालाई भोलि नेपालमै उद्यम गर्ने वातावरण दिन सकियो भने देशको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउन सकिन्छ।
स्कटल्यान्डबाट नेपालले सिक्नुपर्ने कुरा
स्कटल्यान्डको अनुभवलाई नेपालको वास्तविकतासँग जोडेर हेर्दा केही महत्त्वपूर्ण सिकाइ देखिन्छन्। पहिलो, प्रकृतिलाई आर्थिक अवसरमा बदल्दा प्रकृतिको संरक्षण पनि सँगसँगै हुनुपर्छ। प्रकृतिको दोहन गरेर दीर्घकालीन पर्यटन सम्भव हुँदैन। दोस्रो, स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनुपर्छ। उत्पादन मात्र पर्याप्त हुँदैन, गुणस्तर, पहिचान, आकर्षक प्रस्तुति, बजार र निर्यातको व्यवस्थापन पनि आवश्यक हुन्छ।
तेस्रो, कृषि र पर्यटनलाई जोडेर ग्रामीण अर्थतन्त्र बलियो बनाउनुपर्छ। किसानले आफ्नो उत्पादन बेचेर मात्र होइन, कृषि अनुभवबाट पनि आम्दानी गर्न सक्ने वातावरण बनाउनुपर्छ। चौथो, महिला र युवालाई अर्थतन्त्रको केन्द्रमा ल्याउनुपर्छ। उनीहरूलाई सहयोगको पात्रका रूपमा मात्र होइन, उद्यमी, लगानीकर्ता, उत्पादक र नेतृत्वकर्ताका रूपमा हेर्नुपर्छ। पाँचौं, पर्यटनलाई सहरमा मात्र सीमित नराखी गाउँ र स्थानीय समुदायसम्म पुर्याउनुपर्छ। पर्यटक जहाँ पुग्छ, त्यहाँ आर्थिक अवसर पनि पुग्नुपर्छ।
नेपाल–स्कटल्यान्ड सहकार्यको नयाँ सम्भावना
स्कटल्यान्ड भ्रमणले मलाई नेपाल र स्कटल्यान्डबिच सहकार्यका धेरै सम्भावना देखाएको छ। महिला उद्यमशीलता, युवा नेतृत्व, नयाँ उद्यम, पर्यटन उद्यमशीलता, कृषि प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूलन, सांस्कृतिक आदानप्रदान, शिक्षा, डिजिटल सिप र सामाजिक उद्यमका क्षेत्रमा सहकार्य गर्न सकिन्छ। नेपालका महिला उद्यमीहरूले स्कटल्यान्डबाट बजार पहिचान निर्माण, उत्पादनको आकर्षक प्रस्तुति, पर्यटन व्यवस्थापन, खाद्य गुणस्तर र अन्तर्राष्ट्रिय बजारसम्बन्धी ज्ञान लिन सक्छन्।
त्यसैगरी स्कटल्यान्डका व्यवसायी र संस्थाहरूले नेपालको हिमाली पर्यटन, हस्तकला, जैविक उत्पादन, स्थानीय संस्कृति र समुदायमा आधारित पर्यटनमा नयाँ सम्भावना देख्न सक्छन्। नेपाल र स्कटल्यान्डबिच सहकार्य केवल सरकार–सरकारबिचको सम्बन्धमा सीमित हुनु आवश्यक छैन। व्यवसाय–व्यवसाय, उद्यमी–उद्यमी, विश्वविद्यालय–विश्वविद्यालय र समुदाय–समुदायबिचको सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छ। यस्तो सहकार्यले ज्ञान र सिप आदानप्रदान मात्र गर्दैन, नयाँ बजार, नयाँ लगानी, नयाँ रोजगारी र नयाँ सम्भावनाका ढोका पनि खोल्न सक्छ।
हामीसँग के छैन होइन, हामीसँग भएकोलाई के बनाउने?
स्कटल्यान्डको यात्रा सकिँदै गर्दा मनमा एउटा कुरा अझ स्पष्ट भएको छ -नेपालसँग स्रोतको कमी छैन। हामीसँग संसारको सर्वोच्च हिमाल छ, प्राकृतिक विविधता छ, संस्कृति छ, जैविक विविधता छ, मेहनती मानिस छन्, सिर्जनशील युवा छन्, संघर्ष गरेर अघि बढिरहेका महिला उद्यमी छन्। हामीसँग मौलिक उत्पादनका अनेक कथा छन् तर ती कथालाई उत्पादन, व्यवसाय, पर्यटन, रोजगारी र समृद्धिमा रूपान्तरण गर्नुपर्नेछ।
स्कटल्यान्डले आफ्नो पहाडलाई केवल पहाडका रूपमा राखेन, उसले पहाडलाई पर्यटनसँग जोड्यो। उसले आफ्नो संस्कृतिलाई केवल इतिहासका रूपमा राखेन, त्यसलाई विश्वव्यापी पहिचान बनायो। उसले आफ्नो स्थानीय उत्पादनलाई केवल स्थानीय बजारमा सीमित गरेन, त्यसलाई अन्तर्राष्ट्रिय बजारमा पुर्यायो। हामीले पनि यही सोच्नुपर्छ।
हिमाल हाम्रो गौरव मात्र होइन, स्थानीय समुदायको समृद्धिको आधार बन्न सक्छ। संस्कृति हाम्रो पहिचान मात्र होइन, सिर्जनात्मक अर्थतन्त्रको आधार बन्न सक्छ। कृषि हाम्रो जीविकोपार्जन मात्र होइन, कृषि, पर्यटन र खाद्य उद्योगको आधार बन्न सक्छ। महिला केवल परिवारको आधार होइनन्, राष्ट्रिय अर्थतन्त्रका उद्यमी र नेतृत्वकर्ता हुन्। युवा केवल देशको भविष्य होइनन्, आजकै अर्थतन्त्रका निर्माता हुन्।
स्कटल्यान्डको यात्रा गर्दै गर्दा नेपालको सम्झना झन् गहिरो भएको छ। यहाँका उच्चभूमिका पहाडमा नेपालको हिमाल देखेँ, यहाँका स्थानीय व्यवसायमा नेपालका महिला उद्यमी देखेँ, यहाँका युवामा नेपालको सम्भावनाशील पुस्ता देखेँ, यहाँको पर्यटनमा नेपालको भविष्यको ठुलो सम्भावना देखेँ।
त्यसैले नेपाल र स्कटल्यान्डबिचको सम्बन्ध केवल पर्यटनको सम्बन्ध नहोस्, ज्ञानको सम्बन्ध पनि बनोस्, उद्यमशीलताको सम्बन्ध बनोस्, महिला र युवाको सम्बन्ध बनोस्, संस्कृति र अर्थतन्त्रको सम्बन्ध बनोस्। हामीले स्कटल्यान्डको नक्कल गर्न आवश्यक छैन।
नेपाल नेपालकै रूपमा बलियो बन्नुपर्छ। हाम्रो भूगोल फरक छ, हाम्रो समाज फरक छ, हाम्रो आवश्यकता फरक छ तर अरूले आफ्नो सम्भावनालाई कसरी अवसरमा बदले भन्ने कुरा सिक्न भने सकिन्छ। अन्ततः विकासको प्रश्न यही हो - हामीसँग के छैन भन्ने होइन, हामीसँग जे छ त्यसलाई कति बुद्धिमानीपूर्वक समृद्धिमा बदल्न सक्छौं? स्कटल्यान्डको यात्राले मलाई यही प्रश्न नेपाल फर्काएर लैजाँदै छ। प्रकृति हाम्रो पुँजी हो। संस्कृति हाम्रो पहिचान हो। महिला र युवा हाम्रा शक्ति हुन्। उद्यमशीलता त्यसलाई समृद्धिमा बदल्ने माध्यम हो। अब आवश्यकता सम्भावना गन्ने होइन, सम्भावनालाई परिणाममा बदल्ने हो।
–ज्ञवाली सामाजिक तथा आर्थिक अभियन्ता हुन्।
प्रकाशित: ३ आश्विन २०८३ ०८:०६ शनिबार



-600x400.jpg)

