२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

आगाको रङ र सुगन्धविहीन फूल

निबन्ध

झिलिमिली छ चारैतिर, पिलिक... पिलिक... !

दायाँतर्फ हेर्‍यो, बायाँतर्फ हेर्‍यो, अगाडि–पछाडि, परसम्म जति आँखाले भ्याउन्जेल हेर्‍यो, राता, हरिया, निला, पहेँला। लहरे रङ्गीचङ्गी बिजुलीबत्ती चम्किरहेछन्।

तिहार हो यो। सुधारिएको भाषामा– दीपावली।

तर, मन शान्त छैन।

मास्तिर हेर्छु, चन्द्रमाबिनाको आकाश! केवल ताराहरूको पिलपिल। कस्तो रुन्चे समय यो, औंसीको!

सम्झिरहेको हुन्छु गएको भदौ महिना। अन्तिम हप्ताका ती दिनहरू, ओहो! साँझ ढल्दै गएपछिका दुस्वप्नझैं लाग्ने ती पलहरू!

कौसीबाट स्पष्ट हेरिरहेथेँ कुइरीमण्डल धुवाँ, जता हेरे पनि। र, घुम्दै घुम्दै आँखाहरू त्यो दृश्यमा अडिन्थे जहाँबाट आगोको ज्वाला नदेखिए पनि त्यसको रातोसँग मिसिएको पहेँलो रङ देखिन्थ्यो। यस्तो रङ दुई दिशा– पूर्व र पश्चिममा थिए। पूर्व– वीरेन्द्र अन्तर्राष्ट्रिय भवन र पश्चिम– सिंहदरबार।

रातभर जलिरहे आगोले ती महँगा र पुरातात्विक–ऐतिहासिक भवनहरू। र, त्यो आगोको रापले टाढैबाट पनि सेकिइरहेँ म। अहँ, कोही आएका सुनिएनन् त्यो आगो निभाउन। सम्भव भए आफैं त्यहाँ पुग्नु हुन्थ्यो र फु... गरेर निभाउन सकिने भए निभाउनु हुन्थ्यो आगो, यस्तै लागिरह्यो। तर, जादुबाट बनेको अस्तित्व थिइनँ म, न त चमत्कारिक कुनै जन्तरमन्तर जानेको थिएँ। बस्, मनको आवेगले उडाएर त्यहीं पुर्‍याइरह्यो।

सम्झन्छु, अझ अघिल्लो दिनको घटना। प्रहरीको गोलीबाट मृत्युवरण गर्न पुगेका, आफ्ना पाठशालाको युनिफर्म भिरेका ती अनुहारहरू! उफ्, रक्तरञ्जित त्यो समय!

र, आजको यो उज्यालोको चाड भनिएको तिहार!

फिक्का लाग्छ मलाई।

मनमा कुनै रोमाञ्चकता छैन।

मध्यरातसम्म पनि देउसी–भैलोका समूहहरूको नाचगान चलिरहेछ रोडमा। दुई–चार जना मिलेर हिँड्नेहरू पनि देउसी भट्याउँदै–गाउँदै हिँडिरहेछन्–

‘ए भन भन भाइ हो! देउसी रे

हामी त्यसै... आएका हैनौं...

बलिराजाले... पठाएका...।’

खोई, देउसी खेल्ने तिनीहरू स्वयम्लाई थाहा छैन होला– तिनलाई पठाउने बलिराजा को हुन् ? तर, तिहारको परम्परा ! तिनलाई यत्ति थाहा छ– यो तिहार हो, तिहारमा यिनै शब्द राखेर देउसी गाउनुपर्छ। खास गरेर बालबालिकाहरू देउसी–समूह बढी आइरहेछन्। युवाको समूह पनि यत्तिकै आइरहेछन्। तर, मैले महसुस गरिरहेछु– यी देउसीहरूमा कुनै रौनकता छैन। देउसी–भट्ट्याइ निरस छ, देउसुरेहरू निरास छन्। यसैबिच देउसुरेका एक समूह मेरो घरको आँगनमै उधुमले नाचिरहेछन्, लाउड स्पिकरमा बजाइरहेको यो गानासँगै–

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर...

माइतीघर... माइतीघर...।

मेरो टोल त्यहीं परतिरको आफ्नो घरमा बस्नुहन्छ यही गीतकारका गीतकार दाजु किरण खरेल। केही अशक्त... केही उदास... बोल्दा केही लर्बराउनुहुने, किरण दाजुको कानसम्म यो गीतको गुन्जन पुगिरहेछ सायद। तर, उहाँलाई समेत आफ्नै गीतले पनि पटक्कै छोइरहेको छैन । छोओस् पनि कसरी, जबकि यो तिहार स्वयं तिहारजस्तो छैन। फिक्का... अत्यन्तै फिक्का छ।

रमाउने चाड पो हो त तिहार ! तर, रमाउन सकिने कुनै परिवेश छैन। खोई, कुन खुशीको आधारमा रमाउने ? प्रश्न मात्रै चारैतिर रङ्मगिएको छ।

तिहारमा त कम्तीमा पनि फूलैफूलको रहरलाग्दो गाँसिएका मालाहरू देखेर वा परैबाट ती फूलका मगमगाएका सुगन्धबाट मदहोस हुनुपर्ने। तर, यो तिहारमा खोई फूलहरू मगमगाएका ?सबै फूलहरू कागजका कृत्रिम फूलझैं सुगन्धविहीन लागिरहेछ।

निश्चित गर्न खोज्दै छु, मखमली, सयपत्री, गोदावरीका नाम दिइएका यी फूलहरू साँँच्चिकै फूलहरू नै हुन् त? फूल भए फूलको विशेषता हुनुपर्ने तिनमा। केवल आकारले–आकृतिले केही हुनुको चरित्र वर्णन गर्न सक्छ र? त्यो हुनुमा त त्यसको गुण निहित हुनुपर्छ त्यसमा। यसको अर्थ, यी देखिएका फूलहरू केवल फूलको आकृतिमा मात्रै देखिन्छन्, यिनमा फूलमा हुनुपर्ने गुण– बास्नाको एकरत्ति आभास पाइन्न। थाहा थिएन, फूल पनि यसरी फुल्दो रहेछ!

अर्कातिर, तिहारको पर्याय बनेको सेलरोटी यस पटक पनि प्रत्येक घरमा पक्कै पाकिरहेछ। मेरै घरमा पनि बनिए सेलरोटी। विडम्बना, म किन गोलो आकारमा देख्दिनँ त्यो, सबै बाङ्गो टेढोमेढो मात्रै पो देख्छु। त्यसबाहेकका अन्य रोटी पनि वास्तवमै रोटीजस्तो देख्दिनँ। फेरि, सँगै अनेक फलफूलहरू पनि देखिरहेछु र टाढैबाट महसुस गरिरहेछु–ती सबै खल्ला छन्। साँच्चै कति सुख्खा ! तिनमा अलिकति पनि रस छैन।

उ, पल्लाघरकाले देउसुरेका एक समूहलाई घरपटीले नाङ्गोभरि सेल, अनर्सा, सुन्तला, स्याउ ल्याएर दिँदै छन्। नाङ्लोमै दियो पनि बलेको छ, जो एकोहोरिएर बलिरहेको भान हुन्छ मलाई। हुन पनि यस्तो कृत्रिम बत्तीहरूको उज्यालोमा त्यो टुसुक्क दियोको के मूल्य? सकिनसकी मधुरो, साह्रै मधुरो ज्योति फ्याँकिरहेछ।

अगिसम्म त मैले त्यो नाङ्गोलाई त्यति वास्ता गरेको थिइनँ, अहिले भने नियालेर हेरेँ, नाङ्लोमा आकर्षक रूपले नयाँ–नयाँ सुकिला नोटहरू फिँजाइएका छन्।

हेर्दाहर्दै... ओहो, के देख्दै छु म? ती नोटहरू जलेका रूपमा छन् त ! कुनै अलिअलि, कुनैको अधिकांश भाग, सग्लो एउटै पनि छैन, कुनै त पूरै जलेर खरानी नै बनिसकेका। अझ नियालेर हेरेँ, जलेर नष्ट हुन नभ्याएका ती नोटहरूमध्ये केही त विदेशी मुद्रा पनि पो छन् त!

आफैँलाई चिमोटेर हेर्छु, भदौ महिनामा लागेको आगोको धङ्धङीले मलाई अझै छाडेको रहेनछ कि क्या हो? किन जताततै अझैसम्म आगो नै आगो देख्छु? किन आगोका लप्काहरू अझैसम्म आकाश छुन उठिरहेका जस्ता लाग्छन्?

निसासिन्छु म, उतिखेरको धूवाँ पनि मेरै सामुन्ने छ कि भनेर। त्यो धूवाँ जो मेरो घरको कौसीमा हावाको साथ लागेरआएको थियो। र, आउँदाखेरि जलेका खरानीसमेत लिएर आएको थियो। एक दिन मात्रै हो र, कौसीमा कैयन् दिनसम्म खरानी छाडिराखेर गएको थियो।

तिहारको समय, आज पनि त्यही धुवाँ, त्यही आगोको स्मरण ! के भएको होला यस्तो अनुभूति? त्यसो त, अनुभूति नै मात्र पनि त होइन नि ! त्यो आगोको वास्तविकता मैले भोगेकै हुँ, त्यो धुवाँको घुट्को मैले निलेकै हुँ। लाग्छ, यो समय म उभिएको माटोविपरीत हिँडिरहेछ। र, यहीं हिँडाइको पाइलामा पाइला मिलाएर हावाको धार नै नकारात्मक भएर उल्टो बहिरहेछ कि भन्ने म ठानिरहेछु।

भन्नुस् त! यो अवस्थामा कम्तिमा पनि तिहारका यी फूलहरूमा म कसरी सुगन्धको अनुभव गरूँ?

प्रकाशित: १५ कार्तिक २०८२ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App