तार्नोवमा सहरमा खसेको छ मायालु घाम । घामले पोतेको छ सहरको मुख्य चोकमा सुनौलो रङ । अनुहारमा मुस्कान पोतिएकी सुन्दरी माग्दालेना मेरो सामुन्ने छिन् । स्थानीय नगरपालिकाद्वारा सञ्चालित तार्नोव टुरस्टि इन्फरमेसन सेन्टरकी कर्मचारी हुन् माग्दालेना । उनैले आज दिनभर मलाई पोल्यान्डको तार्नोव सहरको भ्रमण गराउने छिन् । देखाउनेछिन् दोस्रो विश्वयुद्धका घाउहरू । बताउनेछिन् सहरका रहस्यमय कथा र लुकेका इतिहासहरू।
चोकको वरिपरि उभिएका छन् लामो इतिहास बोकेका रंगीन भवनहरू । त्यहाँ सञ्चालित छन् थुप्रै रेस्टुरेन्ट र क्याफेहरू । बाहिर राखिएका कुर्सीमा बसेर गफ चुटिरहेका छन् मानिसहरू । उडिरहेको छ हावामा कफीको बासना । त्यहाँको मनोरम दृश्य क्यानभासमा कोरिएको एउटा जीवित चित्रजस्तै लाग्छ मलाई । यो चोक मात्र होइन, तार्नोव सहरको धड्कन हो । जहाँ सहरले सास फेरिरहेको छ । पर्यटकहरू आएर फेर्छन् खुसीको सास । म पनि तानिरहेको छु शान्तिको सास।
मुख्य चोकको बिचमा थपक्क राखिएको जस्तो देखिने टाउन हल छ । सोह्रौं शताब्दीमा बनाइएको ऐतिहासिक टाउन हलले सुरक्षित राखेको छ पुराना इतिहासहरू । पुनर्जागरणकालीन वास्तुकलाको अनुपम नमुना टाउन हललाई अहिले म्युजियममा परिणत गरिएको छ । त्यसको अवलोकनका लागि माग्दालेना र म हलभित्र प्रवेश गर्छौं।
म्युजियममा कार्यरत सुन्दरीले हामीलाई स्वागत गरिन् । दुई सुन्दरीको पछि लागेर पाइला चालिरहेको छु । हिँड्दै गर्दा मलाई यस्तो अनुभूति भयो, मानौं म कुनै म्युजियमभित्र होइन, इतिहासकै एउटा पानाभित्र प्रवेश गर्दै छु । म वर्तमानमा होइन मध्यकालमा छु।
म्युजियमभित्रको एउटा कक्षमा थिए तार्नोवका कुलीन वर्गका इतिहासहरू । सुरक्षितसाथ राखिएका थिए बहुमूल्य हस्तकला र पेन्टिङहरू । जसले तार्नोव सहरको वैभता र गौरवशाली अतीत झल्काइरहेका थिए । अर्को कक्षमा प्रदर्शनीका राखिएका थिए विभिन्न कालखण्डका थुप्रै बन्दुक र पेस्तोलहरू । ती बन्दुक र पेस्तोलका अगाडि उभिँदा मलाई यस्तो लाग्यो मानौं, म युद्ध मैदानमा छु।
ती युवतीले म्युजियमका हरेक वस्तु र त्यससँग सम्बन्धित इतिहासको व्याख्या गरिन् । पढाइन् लामो इतिहासको छोटो पाठ । एउटा उपलब्धीपूर्ण यात्रामा दुर्लभ कला र सङ्ग्रहको अवलोकन गर्न पाउँदा मन सन्तुष्ट बन्यो । ती युवतीलाई धन्यवाद भनेर हामी बाहिर निस्किन्छौं।
‘अब हामी यहुदीहरू पहिले बस्ने गरेको क्षेत्रतिर जाँदै छौं,’ टाउन हलबाट निस्कँदै गर्दा माग्दालेनाले भनिन्।
दोस्रो विश्व युद्धअगाडि तार्नोवको कुल जनसङ्ख्यामध्ये पैंतालिस प्रतिशत यहुदीहरूको थियो । हिटलरको यहुदी सफाया आन्दोलनका कारण धेरै यहुदीहरू ग्यास च्याम्बरमा मारिए । केहीलाई तार्नोव सहरमा रहेको यहुदीहरूको समाधिस्थलमा पुर्याएर गोली हानेर मारियो । महिला, बालबालिका र वृद्धवृद्धाहरू खान नपाएर मरे । मार्छन् भन्ने डरले सहर छाडेर भागेका यहुदीहरू कति त बाटैमा मरे । त्यसैले तार्नोवमा अहिले त नगन्य मात्रामा छन् यहुदीहरू । तिनै यहुदीहरूका पुराना घर, भग्न अवस्थामा रहेको प्रार्थानास्थल र समाधिस्थल मात्र छन् यहुदीहरूलाई सम्झाउने।
२२ अप्रिल, २०२६ को दिन । एउटा साँधुरो गल्लीमा हामी हिँडिरहेका छौं । गल्लीका दुवैपट्टि रहेका पुराना ढाँचाका घरहरू शान्त र गम्भीर छन् । यहुदीहरूले भोग्नुपरेको त्रासदीपूर्ण इतिहास ती घरहरूले मौन रूपमा बताइरहेका छन् । दोस्रो विश्वयुद्धको पीडा र त्यसको नमिठो स्मृति त्यहाँ जीवित रहेको पाउँछु।
हामी चार वटा पिलर भएको इँटाको अग्लो संरचनाको अगाडि छौं । त्यस संरचनालाई छानो लगाएर सुरक्षित राखिएको छ।
‘यस स्थानमा यहुदीहरूको कलात्मक ठुलो प्रार्थना घर थियो । यस प्रार्थना घरलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरका सेनाले आगो लगाएर ध्वस्त बनाएका थिए । आगोबाट जोगिएको बाँकी संरचनालाई राज्यले सुरक्षा दिएर राखेको छ,’ माग्दालेनाले जानकारी दिइन्।
जल्नबाट बचेको उक्त संरचनालाई एकदम नजिकबाट नियाल्छु । चारवटा पिलरले हिटलर गरेको अत्याचार बतायो । त्यसले मलाई विगतको त्रासदी सुनायो । त्यहाँ एकछिन उभिदा मैले यहुदीहरूले भोग्नुपरेको पीडालाई महसुस गरेँ।
हामी कुरा गर्दै तोर्नोव सहरको प्रसिद्ध सडक वालेवा स्ट्रिटमा टेक्छौं । छेउमा जनरल जोजेफ बेमको पूर्णकदको सालिक छ । सालिकको छेउमा हंगेरी र पोल्यान्डको मित्रता झल्काउने यात्रुहरू बस्न मिल्ने मार्बलले बनेको आकर्षक बेन्च छ । मित्रताको प्रतीक त्यस बेन्चमा दुवै देशको नाम कुँदिएको छ । आफूलाई बिसाउँछु उक्त बेन्चमा । यसो विचार गर्छु, दुई देशबिचको सम्बन्धलाई मजबुत बनाउने अनेक आयाम हुँदा रहेछन्।
माग्दालेनाले जनरल जोजेफका बारेमा केही जानकारी दिइन् । त्यसपछि उनको अवशेषलाई सम्मानसाथ राखिएको हरियालीले भरिएको स्ट्रेजेल्की पार्कमा पुग्छौं । पार्कमा चराहरूले चिरबिर चिरबिर गीत गाइरहेका थिए । पैदल यात्रुहरूको गुनगुनाउँदै हिँडिरहेका थिए । मायालु हावाले लगातार स्पर्श गरिरहेको छ मलाई । सहरको बिचमा प्रकृतिसँग एकाकार हुन पाउँदा आनन्दित हुन्छु ।
पार्कको एक छेउमा एउटा सुन्दर पोखरी छ । निलो आकाशको प्रतिविम्ब तैरिएको छ पोखरीको पानीमा । पौडिरहेका छन् पानीमा माछाहरू । मेरो मनको पोखरी छचल्किन्छ आनन्दका छालहरू।
पोखरीको बिचमा ६ ओटा गोलाकार पिलरमाथि मृतकलाई राख्ने जस्तै सिमेन्टले बनेको आयाताकार बाकस छ । त्यही बाकसमा जनरल बेमको अवशेषहरूलाई राखिएको रहेछ । असल कर्म गर्नेहरू पुजिन्छन् संसारभर । जनरल जोसेफ पनि पुजिएका रहेछन् पोल्यान्ड र हङ्गेरीमा । उनी दुवै देशका राष्ट्रिय नायक रहेछन्।
जनरल बेम केवल एक सैनिक मात्र थिएनन्, उनी साहस र बलिदानका प्रतीक पनि थिए । उनको समाधि अगाडि उभिँदा माग्दालेनाले बताएको इतिहास सम्झेँ । सम्झेँ उनको बहादुरीको कथा । पोल्यान्डबासीका लागि त्यो स्मारक मात्र होइन, समाधिस्थल मात्र पनि होइन, त्यो त एउटा श्रद्धास्थल पनि रहेछ।
हामी फेरि फर्कन्छौं वालेवा स्ट्रिमा । वालेवा स्ट्रिटको चहलपहल लोभलाग्दो छ । ससाना पसलहरू, क्याफे र रेस्टुरेन्टहरू, मानिसका पदचाप, सडक कलाकारका गीत र सङ्गीतले गर्दा जीवन्त बनेको छ वालेवा स्ट्रिट । तार्नोव सहरको जनजीवनको एक झलक यहीं देख्छु।
हिँडिरहेका हाम्रा पाइला रोकिन्छ स्ज्चेपानिक स्क्वायरमा । एउटा अर्धकदको सालिक सामुन्ने उभिएको छु म।
‘यो सालिक पोल्यान्डका प्रसिद्ध आविष्कारक जान स्ज्चेपानिकको हो । यिनले पचासभन्दा बढी आविष्कार गरेका थिए । फोटोग्राफी र चलचित्र उद्योगमा यिनको आविष्कार अहिले पनि लागु हुन्छन्,’ माग्दालेनाले सुनाइन्।
ती महान् आविष्कारको छेउमा उभिएर उनलाई स्मरण गर्दै एउटा सेल्फी खिच्छु, खिचिक्क । सम्झन्छु, उनकै योगदान त होला नि मैले खिचेको यस फोटोमा।
न गर्मी न जाडो, रमाइलो मौसम छ । उसो त तार्नोव पोल्यान्डको सबैभन्दा न्यानो स्थान हो । स्थानले मात्र होइन, यहाँका मानिसहरूले पनि न्यानो सत्कार, आत्मीयता र सद्भाव देखाइरहेका छन् । यही त हो नि पाहुनाहरूलाई स्वागत गर्ने तरिका । अनि त फेरि फर्केर जान्छन् पाहुनाहरू । तिनैले अरू यात्रुहरूलाई पनि पठाउँछन् सहरमा।
अलिक पर पोएट्स बेन्च अर्थात् कविहरूको बेन्च देखेर आकर्षित हुन्छु । भनिन्छ, एक कविलाई अर्को कवि भेट्दा आफन्त भेटेजस्तो लाग्छ रे । मलाई पनि तीनजना कविलाई एकसाथ देख्दा आफन्त भेटेजस्तो लाग्यो।
पोल्यान्डका तीन जना प्रसिद्ध कविहरू एग्निज्का ओसिस्का, जान ब्रजेच्वा र जिबिग्नियु हर्बर्टको सालिक तीनतिर तीन वटा बेन्चमा राखिएका छन् । कवि एग्निज्का ओसिस्का एक छेउमा बस्छु र नियाल्छु वरपरको वातावरण । बसिरहँदा कविसँग मौन संवाद गर्छु । त्यहाँ एकछिन बस्दा जीवनको सरलता र आनन्द महसुस हुन्छ मलाई । पालैपालो तीन कविहरूसँग बसेर फोटो खिच्छु।
साधारणजस्तो देखिने कविहरूको बेन्चले गहिरो अर्थ बोकेको छ। मानौं, ती कविहरू कविता लेख्दा लेख्दै थाकेर त्यहाँ बसेका हुन्। अथवा रुख छहारीमुनि बसेर सहरका कविता लेख्न आँटेका हुन्। मलाई यस्तो लाग्यो, ती कविका अगाडि बहने हावा पनि कविता बोकेर बगिरहेको छ । एक छिन बसे भने म एउटा कविता लेख्छु कि जस्तो लाग्यो । अरूतिर पनि जानुपर्ने कार्यक्रम भएकाले एउटा बेग्लै ऊर्जा लिएर त्यहाँबाट उठ्छु । कविताका विम्बहरू मनमा आइरहे।
कविहरूको बेन्चको नजिकैे रहेको पोल्यान्डका तेह्रौं शताब्दीका राजा लोकिएटेकको सालिक अगाडि पुग्छौं । एक किवंदन्तीअनुसार राजा लोकिएटेक यहाँ लुकेका थिए रे। त्यसैले यस स्थानमा उनको सालिक बनाइएको रहेछ । पूर्ण कदको सालिकको दाहिने खुट्टा खुब टल्केको देख्छु । के होला भनेर विचार गर्दै थिएँ।
‘राजाको दाहिने खुट्टा दाहिने हातले समातेर एउटा मात्र कामना गरेमा पूरा हुन्छ,’ माग्दालेनाले बताइन्।
मैले राजाको खुट्टालाई दाहिने हातले समातेर मनमनै कामना गरेँ । यस्ता खालका विश्वास र मान्यताहरू संसारभरका विभिन्न धर्म र संस्कृतिमा पाइन्छन् । नेपालमा पनि यस्ता कैयौं विश्वास र परम्परा अझै जीवित छन् । तिनलाई रुढीवादी र अन्धविश्वास भनेर मेटाउनुहुँदैन । यस्तै विश्वास र परम्परामा जीवित रहेका हुन्छन् मौखिक इतिहास । इतिहास र किंवदन्तीको मिश्रण भएको यस स्थान मलाई अलिक रहस्यमय लाग्यो।
गफिँदै पैदल हिँडिरहेका छौं । माग्दालेनाले पोल्यान्डका बारेमा थुप्रै जानकारी दिइरहेकी छिन् । मेरा जिज्ञासाका उत्तर दिइरहेकी छिन्।
नेपाली काष्ठकलामा देखिने बुट्टा भएको काठको गेटले रोक्छ चलिरहेका हाम्रा पाइला। गेट देखेर अचानक नेपालको सम्झनाले स्पर्श गर्छ मलाई । कुनै नेपाली कला पो हो कि भनेर नियाल्छु।
‘तार्नोव र हङ्गेरीबिचको पुरानो र गाढा सम्बन्धको प्रतीकका रूपमा बनाइएको सेक्लर गेट हो । यसलाई हङ्गेरीको सेक्लर समुदायले उपहारमा दिएका हुन्,’ माग्दालेनाले जानकारी दिइन्।
मित्रताको प्रतीक आकर्षक बुट्टा भएको गेटमुनिबाट प्रवेश गरेर बगैंचा भएको सानो पार्कमा पुग्छु । गेट पार गरेपछि मित्रता र भाइचाराको सुन्दर बगैंचामा पुगेको जस्तो अनुभूति हुन्छ मलाई । जहाँ सुन्दर फूलहरू फुलिरहेका थिए । मित्रता र विश्वासका वासना मगमगाई रहेका थिए।
एकछिन बगैंचामा बस्दा एउटा आत्मीयता र गहिरो मित्रताको आभास हुन्छ मलाई । यस्ता संरचनाहरू सहरमा निमार्णले दुई देशबिचको सम्बन्ध अझ मजबुत बनाउँछ । त्यसले नागरिकको स्तरबाट दुई देशबिचका मित्रतालाई जोड्ने काम गर्छ।
अनेक प्राचीन वास्तुकलादेखि आधुनिक कला, स्तम्भ र प्रतिमाले भरिएको तार्नोव सहरमा चलिरहेका छन् मेरा गोडा । दौडिरहेका छन् मेरा दृष्टि । तार्नोवका प्राचीन कला र इतिहासले पर्यटकलाई अलमलाउँदा रहेछन् । रमाउँछन् पर्यटकहरू यहाँ बेस्सरी । म आफैं आनन्द लिइरहेको छु तार्नोव सहरका प्रत्येक स्थान र वस्तुहरूमा।
तार्नोव सहरको यात्रा केवल स्थानहरूको भ्रमण मात्र होइन, समयको यात्रा पनि रहेछ । म प्राचीन, मध्य र आधुनिककालमा एकसाथ भ्रमण गरिरहेको छु । तार्नोवको शान्ति, सांस्कृतिक विविधता, धार्मिक उतारचढाव र ऐतिहासिक गहिराइका कुराहरू माग्दालेनाबाट सुनिरहेको छु।
एउटा सडक कलाकारको प्रतिमाले आकर्षित गर्यो मलाई । हार्मोनियम बाजा बोकेर बुरेक चोकमा ठिङ्ग उभिएको छ पूर्णकदको प्रतिमा । सडकमा गीतका लय र सङ्गीतका धुन सुनाएर जीविकोपार्जन गर्ने सडक कलाकारको प्रतीकलाई घुमीघुमी हेर्छु । त्यस प्रतिमाले पुराना दिनको साङ्गीतक पेसालाई स्मरण गराउँछ।
प्रतिमाको ठिक अगाडि स्थानीय किसानहरूले दैनिक रूपमा ताजा तरकारी र फलफूलहरू ल्याएर बेच्ने व्यवस्थित पसलहरू छन् । ग्राहकहरूको आउजाउ छ पसलमा । हुन त आजकल सुपरमार्केटहरूमा आकर्षण प्याकेजिङमा बेचिने तरकारी र फलफूलहरूमा ग्राहक लोभिन्छन् । तर किसानहरूले उत्पादन गरेका तरकारी र फलफूलहरू किसानकै हातबाट किन्नुको मज्जा बेग्लै छ । त्यसलाई खानुको स्वादमा मिठास हुन्छ । कृषि बजारलाई एकछिन नियाल्छु । यसले मलाई काठमाडौंको कालीमाटी बजारको झझल्को दिलायो । पोल्यान्डको कृषि उत्पादन र जनजीवनको सानो झलक नजिकबाट नियाल्ने अवसर मिल्यो।
‘कतिको थाक्नुभएको छ?’ माग्दालेनाले सोधिन्।
‘छैन नि । एकदम आनन्द आइरहेको छ,’ म जवाफ फर्काउँछु ।
‘त्यसो भए अलिकति बस चढेर, अलिकति हिँडेर जाने अर्को ठाउँमा जाउँ त ?’ माग्दालेनाले भनिन्।
लन्डनदेखि घुम्नका लागि पोल्यान्डमा पुगेको छु । मलाई तार्नोव सहरले बोलाएको छ । ज्ञान र ऊर्जाले भरिएका मृदुभाषी सुन्दरी साथमा छिन् । नाइँ भन्ने कुरै भएन।
हामीले बस चढ्यौं । हुइँकियो बस व्यस्त सडकमा । करि पन्ध्र मिनेटपछि बसबाट उत्रियौं । एकछिन हिँडेर सेंट मार्टिन हिलमा पुग्यौं।
तार्नोव सहरको बाहिरी भागमा रहेको सेंट मार्टिन हिलमा चलिरहेको छ सिरसिरे बतास । त्यसले बोकेर ल्याएको छ पहाडका सुवास । कान थापेर सुन्छु सहरको हल्ला । नियाल्छु सेंट मार्टिन हिलबाट तार्नोव सहरलाई । विजयपुर डाँडाबाट धरान सहरलाई नियालेजस्तै रमणीय तार्नोव सहरलाई स्वाद मानेर हेर्छु।
माग्दालेनाले तार्नोव सहर नजिकैका सुन्दर गाउँहरूका बारेमा जानकारी दिइन् । चिनाइन् उनले ससाना फुच्चे पहाडहरू । एकछिनको बसाइँमा सेंट मार्टिन हिलले बेग्लै ऊर्जा दियो मलाई ।
सेंट मार्टिन हिल नजिकै रहेको चर्चमा पुग्छौं । काठैकाठले बनेको १३ औं शताब्दी सेंट मार्टिन चर्चलाई नियाँल्छु । भित्र र बाहिर पूरै काठले बनेको पोल्यान्डको वास्तुकलाको अनुपम उदाहरण हेरेर चकित हुन्छु । पुरानो बनावटको चर्चलाई आधुनिकताले छोएको रहेनछ।
तार्नोवमा प्रचालित कथाअनुसार यो सेंट मार्टिन चर्च चट्याङ र बिजुलीका स्लाभिक देवता पेरुनको मन्दिर भत्काएर बनाइएको हो । उतिबेला युरोपभरि विभिन्न देवताहरू मान्ने मूर्तिपूजक पेगनहरू थिए । शक्तिका बलले इसाईहरूले सबैलाई इसाई बनाएका थिए।
सेंट मार्टिन चर्च सरलता र आध्यात्मिकताको अनुपम सङ्गमजस्तो लाग्यो । तार्नोवको कैयौं उतारचढाव देखेको चर्चले मानिसलाई शान्त र धैर्यवान हुन पाठ पढाइरहेको थियो । युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको चर्चमा एकछिन समय बिताउँदा मनमा गहिरो शान्ति छायो।
चर्चको अवलोकनपछि हामी अन्तिम गन्तव्य पुरानो क्यासल हेर्न पाइला चाल्छौं । करिब पन्ध्र मिनेट उकाली ओराली गरेपछि एउटा डाँडामा भग्न अवस्थामा रहेको क्यासलमा टेक्यौं । १३ औं शताब्दीमा स्पाइचिमिर लेलिविटाले निर्माण गरेको क्यासलको भग्नावशेषमा मेरा आँखा दौडिन्छन् । क्यासलका इँटा र ढुङ्गाका पर्खालहरू जमिनबाट अलिकति टाउको निकालेर हेरिरहेकाजस्ता देखिन्थे।
सूचनापाटीमा कोरिएको नक्साअनुसार सरुक्षाका लागि ढुङ्गाको पर्खाल लगाएको क्यासलमा अग्लो टावर, सानो आवासीय क्षेत्र र एकदम सानो चर्चहरू बनाइएको रहेछ । शत्रुपक्षले आक्रमण गरेमा गुप्तमार्गबाट सुरक्षित भाग्न सकिने व्यवस्था मिलाइएको थियो । चौधौं शताब्दीमा हङ्गेरीका सेनाले कब्जामा लिएर यस क्यासललाई जलाई दिएका रहेछन् । पछि पुननिर्माण भएको क्यासलमा बाह्य शक्तिको आक्रमण, प्राकृतिक रूपमा क्षति हुँदै विरूप अवस्थामा पुगेको रहेछ । क्यासलका भग्नावशेषहरू आफ्नो वैभवशाली अतीत सम्झेर बसिरहेका थिए ।
यस क्यासलको पुननिर्माण गर्ने कुरा चलिरहेको रहेछ । इतिहास मेटाएर नयाँ भवन बनाउन लागेको माग्दालेनाजस्तै धेरैलाई मन परेको रहेनछ । क्यासलको भत्किएको पर्खालमा टुसुक्क बसेर तार्नोव सहरको दृश्य धित मरुन्जेल हेरेँ ।
दिनभरिको ऊर्जावान् सूर्य थकाइ मार्न पश्चिम आकाशतिर दौडिरहेको थियो । थकाइ त मलाई पनि लागेको थियो । हामी बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म लगातार यात्रारत थियौं । दिउँसो एक घण्टाको खाना खाँदाको समय घटाउने हो भने आठ घण्टा मेरा गोडाले निकै दुरी पार गरेर थुप्रै ठाउँमा टेके । मेरा आँखाले थुप्रै अद्भूत दृश्यहरू हेरेँ । अथाह अनुभवहरू सँगालेँ । यात्राबाट मन सन्तुष्ट भएको थियो।
अन्त्यमा, तार्नोव सहरको मुख्य चोकमा फर्किन बस चढ्छौं । बस दौडिरहेको छ सडकमा । मेरो मनमा भने दिनभरिको यात्रा र अवलोकनबाट सिर्जित अनेक कुरा दौडिरहेका छन् बेसरी।
आजको यात्राले मलाई धेरै महत्त्वपूर्ण कुरा सिकाएको थियो । तार्नोवका हरेक चोक, बजार, स्मारक, भग्न अवशेषहरूले आआफ्नै कथा र इतिहास बोकेर बसेका रहेछन् । तार्नोवका गल्लीहरूले कथा सुनाउँछन्, चोकहरूले पोल्यान्डको वास्तविक जीवन देखाउँछन् । स्मारकहरूले इतिहास सम्झाउँछन् र सुन्दर पार्कहरूले यात्रीहरूलाई आनन्द दिलाउँछन्।
शान्त तार्नोव सहर विविध संस्कृति र धर्महरूको मिलन विन्दु हो । जहाँ इतिहास, कला र शान्ति सँगसँगै भेटिँदा रहेछन् । सहरमा यहुदीको छाप, हंगेरी र अस्ट्रियाली संस्कृतिहरूको प्रभाव बोकेका भवन र स्मारकहरू अझै पनि उभिएका छन् । तिनको संरक्षण गरिएको छ । अनि त पर्यटकहरू जान्छन् । स्थानीय नगरपालिकाले पर्यटन प्रवर्धन गर्न स्थापना गरेको तार्नोव टुरिस्ट इन्फरमेसन सेन्टरले उल्लेखनीय कार्य गरेको रहेछ । यस्ता कार्य नेपालका नगरपालिकाहरूले पनि सिके हुन्थ्यो नि।
यस्तै कुरा मनमा खेलिरहँदा बस रोकियो । हामी बसबाट उत्रिन्छौं । अलिकति हिँडेपछि बिहान भेला भएको टाउन हल अगाडिको मुख्य चोकमा पाइला टेक्छौं । दिनभरि मलाई तार्नोव सहर घुमाउने, इतिहास र संस्कृतिका कुराहरू सुनाउने माग्दालेनालाई धन्यवाद भन्छु । यस सालको सेप्टेम्बर महिनामा विवाह गर्न लागेकी माग्दालेनालाई जोडीसहित हनिमुन मनाउन लन्डन आउने निम्ता दिन्छु । उनी खुसी हुँदै धन्यवाद भन्छिन् । घाम अस्ताउन अलिकति समय बाँकी नै छ । घामको सुनौलो उज्यालोमा चोक वरपरका भवनहरू मुस्कुराइरहेका थिए।
प्रकाशित: ९ जेष्ठ २०८३ ११:०४ शनिबार





