भारतको केन्द्रीय राजधानी दिल्लीस्थित जन्तरमन्तरमा २० दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकलाई २१औँ दिनमा शनिबार प्रहरीले अस्पताल लगेको छ। स्वास्थ्यमा समस्या देखिएपछि वाङचुकलाई सफदरजंग अस्पतालमा भर्ना गरिएको हो।
वाङचुकलाई अस्पताल लगेपछि ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले आफूले आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेका दिपकेले भनेका छन्, ‘म आज आमरण अनशन सुरु गर्दैछु। म सबैलाई पछि नहट्न अपिल गर्दछु। यो आन्दोलन अझ ठुलो हुँदै जानेछ। उनीहरूले ठुलो गल्ती गरेका छन्।’
दिपकेले प्रहरीले वाङचुकलाई चादरले छोपेर लगेको भन्दै उक्त कार्य चोर र गुण्डाको जस्तो रहेको बताए। उनले आन्दोलन नरोकिने र जुलाई २० मा हुने मार्च तालिका अनुसार नै अगाडि बढ्ने दाबी गरे। दिपके भन्छन्, ‘म सबैलाई जन्तरमन्तर आउन आग्रह गर्दछु। हाम्रो आन्दोलन यहाँबाट जारी रहनेछ र हामी जुलाई २० मा हाम्रो मार्च अगाडि बढाउनेछौँ।’
वाङचुक जुन २८ देखि एनईईटी परीक्षामा भएको अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरी अनशनमा बसेका थिए। दिल्लीका उपायुक्त सचिन शर्माका अनुसार उच्च अदालतको निर्देशन र चिकित्सा सल्लाहका आधारमा उनलाई अस्पताल लगिएको हो। अस्पताल स्रोतले लामो समयको भोक हडतालका कारण वाङचुकमा डिहाइड्रेसन भएको र अवस्था कमजोर रहेको बताएका छन्। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
यसैबिच, वाङचुककी श्रीमती गीताञ्जली आङ्मोले उपचारका विषयमा कडा अडान लिएकी छिन्। आफू अस्पतालमै रहेको बताउँदै आङ्मोले भनेकी छिन्, ‘सोनमलाई उनको सहमति, परिवार र विगत २० दिनदेखि स्वास्थ्य निगरानी गरिरहेका डाक्टरहरूको सहमति बिना मौखिक वा नसाबाट केही पनि दिनु हुँदैन।’
वाङचुकको मेडिकल टोलीका अनुसार उनको रक्तचाप र रगतमा सुगरको मात्रा सामान्यभन्दा कम देखिए पनि अन्य महत्त्वपूर्ण संकेतहरू सामान्य छन्।
प्रकाशित: २ श्रावण २०८३ १४:१५ शनिबार

