ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ को एक आर्थिक वर्षको अवधिमा भएका विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार एक आर्थिक वर्षमा भएका ९१ वटा विपद्का घटनामा परी ५ महिला, ४ पुरुष र १ बालिका गरी कुल १० जनाको मृत्यु भएको छ। भट्टराईका अनुसार आगलागीका घटनामा परी २ महिला र २ पुरुष गरी ४ जना, बाढीमा घटनामा परी १ महिला र १ बालिका गरी २ जना, पहिरोका कारण १ पुरुष र १ महिला गरी २ जना, चट्याङका कारण १ पुरुष र लेक लागेर १ महिलाको ज्यान गएको हो।
विपद्का घटनामा परी १६ पुरुष, १० महिला, ५ बालक र १ बालबालिका गरी कुल ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ। ४ पुरुष र १ बालिका गरी ५ जना विपद्का घटनाबाट बेपत्ता भएका छन्। विपद्का घटनामा परी २६ वटा घर, ३ वटा उद्योग र ९ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ।
सबैभन्दा बढी आगलागीका घटनामा २० वटा घरमा क्षति भएको छ भने पहिरो र हावाहुरीबाट समान ३–३ वटा घरमा क्षति पुगेको छ। एक आर्थिक वर्षमा २५ वटा आगलागीका घटना, ३ वटा जंगल आगलागीका घटना, १७ वटा बाढीका, ९ वटा पहिरोका, १० वटा चट्याङका, ४ वटा जंगली जनावरको आक्रमणका, १७ वटा सर्पदंशका, ३ वटा लेक लाग्ने र ३ वटा हावाहुरीका घटना भएका छन्।
प्रकाशित: २ श्रावण २०८३ १४:३० शनिबार



-600x400.jpg)

