१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

कृत्रिम बौद्धिकता बुझाउने पुस्तक ‘पत्रकारितामा एआई’

पुस्तक

लेखकद्वय अजय शर्मा र शिव पुरीको पुस्तक ‘पत्रकारितामा एआई’ हालै प्रकाशन भएर बजारमा आएको छ। प्रस्तुत पुस्तकले विश्वव्यापी रूपमा पत्रकारिता क्षेत्रमा कृत्तिम बौद्धिकता (एआई) को प्रयोगबारे गहिरो चर्चा गरेको छ। कृत्रिम बौद्धिकता शब्द (Artificial Intelligence) को नेपाली अनुवाद हो। एआई भनेको मूलतः कम्प्युटर प्रणाली मार्फत मानिसजस्तै सोच्न, सिक्न, विश्लेषण गर्न र निर्णय लिने प्रणालीसँग सम्बन्धित छ। पत्रकारिता क्षेत्रमा एआईको प्रयोगले समाचार उत्पादन, सम्पादन, विश्लेषण र वितरणको परम्परागत ढाँचालाई परिवर्तन गर्न सकिन्छर सकिएको पनिछ। परम्परागत पत्रकारितामा समाचार खोज्न, तथ्य सङ्कलन गर्न र लेख्न धेरै समय र श्रम लाग्थ्यो।  

तर, एआई प्रविधिले ठूलो मात्रामा डाटालाई छिटो विश्लेषण गरी समाचारयोग्य विषय पहिचान गर्नका निम्ति सहयोगी बन्न पुग्यो। सामाजिक सञ्जाल, सरकारी डाटा बेस र अनलाइन स्रोतबाट आएको सूचनालाई एआईले क्रमबद्ध गरी ट्रेन्ड गर्दै घटनाहरू पहिल्याउन सक्छ, जसले कारण एआईले डेक्समा पत्रकारहरूलाई सहयोग पुर्‍याइरहेको हुन्छ। पत्रकारिताको एउटा अपरिहार्य विषय बनेको छ, कृत्रिम बौद्धिकता। पुरी र शर्माले यही विषयलाई सम्बोधन हुने गरी ‘पत्रकारितामा एआई’ नामक प्रस्तुत पुस्तक तयार गरेका हुन्।

केही वर्ष यता नेपाली समाजमा यो शब्दको प्रयोग व्यापक हुन थालेको छ। लेखकद्वयको यो पुस्तक बहुआयामित विषयसँग एआई जोडेर तयार गरिएको छ। पत्रकारको कार्यकुशलता वृद्धिका लागि एआई सहयोगी बनेको छ। पत्रकारितालाई एआईले नयाँ चरणमा विकास गर्न सहयोग गरिरहेको छ। यहीँ कुरा प्राथमिकतामा राखेर यो पुस्तक बजारमा आउनु निकै सान्दर्भिक कार्य हो। एआईको प्रयोगसँगै पत्रकारले जान्नुपर्ने समाचारसँग जोडिने नैतिकता र पत्रकारिताका लागि अत्यावश्यक तथ्य जाँचको सवाललाई पुस्तकमा महत्त्वकाे साथ चर्चा गरिएको छ।

प्रस्तुत पुस्तक किन लेखियो, यसको सान्दर्भिकता के कति छ भन्ने सन्दर्भमा लेखकद्वयको तर्क छ– हामी बुझ्छौँ, एआई कुनै जादु होइन, यो एक साधन मात्र हो, साध्य होइन। पत्रकारितामा एआई अवसर र चुनौती दुवै हो। त्यसैले पत्रकारिता क्षेत्रमा यसको उपयोगिता, अवसर, जोखिम, सम्भावना र सीमा सबै पक्ष गहिरिएर बुझ्न आवश्यक छ। यही आवश्यकता पूर्ति गर्न हामीले यो पुस्तक तयार गरेका हौँ, (पत्रकारितामा एआई, लेखकीय अंश)।

लेखकद्वयले भने जस्तै पत्रकारितामा कृत्रिम बौद्धिकताले अवसर र जोखिम दुवै सँगै ल्याएको छ। अबको युगमा कृत्रिम बौद्धिकताबिना पत्रकारिता गर्न सकिने अवस्था छैन। एआईको युग सुरुआत भइसकेको छ। नेपालमा पनि यसको अभ्यास भइरहेको छ। बरु एआई कसरी सञ्चार र पत्रकारिताको हितमा प्रयोग गर्ने, पत्रकारितामा नैतिकतालाई कसरी प्रवर्द्धन गर्ने अनि तथ्य जाँचसहित सिर्जनात्मकता ध्यान दिँदै समाचार कसरी बनाउन भन्नेमा ध्यानाकर्षण हुन जरुरी भएको छ। लेखकद्वयले यी चिन्ताका विषयलाई पुस्तकमा यथेष्ट चर्चा गरेका छन्।

अहिले विश्व नै एउटा गाउँको रूपमा विकास भएको छ। यो सबै विज्ञान र प्रविधिको कारण सम्भव भएको हो। नेपाली पत्रकारिता जगत्मा एआईको प्रयोग गर्ने क्रम बढेको छ। सरकारी क्षेत्रमा गोरखापत्र दैनिक, निजी क्षेत्रमा कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण दैनिक,बीबीसी नेपाली सेवा, अनलाइन खबर, रातोपाटी, सेतोपाटी आदि मिडियाहरूमा एआईलाई प्रयोग गरिएको छ। मूलधारका अनलाइन र पत्रपत्रिकामा एआईलाई एउटा नूतन प्रविधिको रूपमा प्रयोग गर्न थालिएको छ। पुस्तकमा विश्वका विभिन्न सञ्चारमाध्यम र विभिन्न देशमा भएका प्रयोगहरूलाई उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। एआईसँग जोडिएर पत्रकारिता गर्दा मानवीय निगरानी र हस्तक्षेपको आवश्यकता रहेको लेखकद्वयको धारणा रहेको छ। पत्रकारिता जगत्मा एआईको विश्वव्यापी रूपमा प्रयोग हुँदै गर्दा यसको जिम्मेवार भएर प्रयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ।

लेखकद्वयको चिन्ता छ, कतै एआई सिर्जनात्मक कथा वाचनमा चुक्छ कि? के यसले पीडाको गहिराइ, सामाजिक अन्याय, मानिसका यावत् दुख, राजनीतिक सङ्कटमा मानवता, उत्सवको उत्साह, जीवनको लय समात्दै ती कुरा पाठकसम्म लैजान सक्ला? लेखकद्वयले प्रयोग गरेको अवसर चुनौतीको वाक्य यहीँनेर प्रयोग गर्न सकिन्छ। धेरै विद्वान् के दावी गर्छन् भने कृत्रिम बौद्धिकता पनि मानिसको बौद्धिकताबाट बनेको हुँदा यो मानिसको बौद्धिकताभन्दा अगाडि जान सक्दैन। लेखकद्वय यो सन्दर्भसँग खासै असहमत छैनन्। लेखकद्वयको मुख्य चासो भनेको पत्रकारितामा एआईको बहुआयाम मूल्यको चर्चा गर्दै पाठकलाई सुसूचित गर्नु नै हो र एआईले पत्रकारिता क्षेत्रलाई ल्याएको नयाँ तरङ्ग बहसमा ल्याउनु हो।

सङ्कट, युद्ध, आन्दोलनका समयमा झुटा हल्ला, समाचार र अफवाह तीव्र गतिमा फैलिएका हुन्छन्। अबको युगमा कुन सही र कुन गलत समाचार हो भनेर छुट्याउन गाह्रो छ। सामाजिक सञ्जालका स्रोतहरू मार्फत फैलिएका समाचार पत्रकारिता जगतका चुनौती बनिरहेका छन्। यसका निम्ति कृत्रिम बौद्धिकतालाई कसरी प्रभावकारी, नैतिक र तथ्यसङ्गत रूपमा प्रयोग गर्ने लेखकद्वयले बौद्धिक ढङ्गले सरल भाषाका यी विषयलाई गहन छलफलमा ल्याएका छन्।

लेखकद्वय नै सूचना र प्रविधि र कृत्रिम बौद्धिकतालाई नजिकबाट नियालिरहेका पात्र हुन्। युवा लेखक तथा पत्रकार अजय शर्मा दुई दशकदेखि सञ्चारकर्ममा सक्रियताका साथ लागिरहेका छन। हाल गोरखापत्र दैनिकका उपसम्पादक शर्मा २०६६ सालदेखि नै गोरखापत्र दैनिकमा आवद्ध भएर काम गरिरहेका छन्। उनी सूचना प्रविधि क्षेत्रका जानकारी राख्छन्। मूलतः पत्रकारितामा एआई कसरी प्रयोग हुन्छ भन्ने विषयका जानकार त हुन् नै, यसका अलवा शर्मा कुटनीति र सामाजिक मुद्दाबारे पनि लेख्छन्।

अर्का लेखक शिव पुरी आमसञ्चार र चलचित्र क्षेत्रमा दुई दसकदेखि सक्रिय छन्। श्रव्यदृश्य सामग्री निर्माण, वृत्तचित्र निर्माणदेखि सञ्चार प्रशिक्षकको रूपमा समेत परिचित छन्। दुई अब्बल लेखकले यस पुस्तकलाई व्यावहारिक र प्राविधिक ज्ञान दिँदै बौद्धिक सामग्री पनि बनाएका छन्। किताबको पछाडि राखिएका यथेष्ट सन्दर्भ सामग्री हेर्दा, किताब गरिएका छलफल र पुस्तक बनाउँदा गरिएको अध्ययनको तरिका हेर्दा पुस्तक उपयोगी सामग्री बनेकोमा शङ्का गर्नुपर्ने ठाउँ छैन। पत्रकारिताका शिक्षक, विद्यार्थी र स्वयम् पत्रकारका निम्ति यो पुस्तक निकै उपयोगी पाठ्यसामग्री बनेको छ।

पुस्तकमा मूलतः ८ अध्याय छ्न। सबै अध्यायमा बेग्लाबेग्लै विषयको चर्चा गरिएको छ। पहिलो अध्यायमा कृत्रिम बौद्धिकताको सिद्धान्त, एआईको वर्गीकरण, एआईको महत्त्व र एआईको इतिहास विषय बनाएर यथेष्ट चर्चा गरिएको छ। एआईको प्रारम्भिक कालदेखि कृत्रिम बौद्धिकताको व्यापकताको युगसम्मलाई यस अध्यायमा चर्चा गरिएको छ। दोस्रो अध्याय ‘पत्रकारितामा एआई’ शीर्षकको पाठबाट सुरुआत भएको छ। यस अध्यायमा पत्रकारितामा एआईको आवश्यकता र पत्रकारितामा एआईको चुनौतीको सन्दर्भ विस्तृत चर्चा गरिएको छ।

यसै अध्यायमा मानव मेसिन–सहकार्य, तथ्य जाँच र गलत सूचनाको नियन्त्रण, सिर्जनशीलता र कथावाचन, आपतकालीन पत्रकारिता जस्ता शीर्षकमा एआईको आवश्यकताको चर्चा छ भने एआईको प्रयोगसँगै आउने चुनौती जस्तै गलत सूचनाको जोखिम, रोजगारीमा चुनौती, सही स्रोतको अभाव, नैतिक चिन्ता र पूर्वाग्रह, कानुनी र नीतिगत चुनौती आदि विषयको विस्तृत चर्चा गरिएको छ।

अध्याय ३ को सुरुआत ‘समाचार कक्षमा एआई’ शीर्षकबाट भएको छ। यसै अध्यायमा विश्वका प्रमुख सञ्चारमाध्यममा भएका एआईको प्रयोगबारे जानकारी दिइएको छ। समाचार कक्षमा एआईदेखि भविष्यको सञ्चार कक्षमा एआई शीर्षकमा पनि चर्चा गरिएको छ।

यस्तै यस किताबको महत्त्वपूर्ण अध्याय चौथो अध्याय पनि हो। यस अध्यायमा विश्वको एआई रणनीतिको सन्दर्भमा बेग्लै चर्चा गरिएको छ भने विभिन्न देशका एआई रणनीतिका बारेमा छोटो मीठो चर्चा गरिएको छ। कुनकुन देशले कृत्रिम बौद्धिकतालाई पत्रकारिता जगतमा कसरी उपयोग गरिरहेका छन, यस अध्यायको अध्ययन गर्दा गहिरो गरी जानकारी हासिल गर्न सकिन्छ।

यसैगरी पाँचौँ अध्यायमा नेपाली समाचार कक्षमा कसरी एआईको प्रयोग भइरहेको छ भनेर चर्चा गरिएको छ भने यसै अध्यायमा नेपाली सञ्चार क्षेत्रमा एआईको प्रयोग गर्दाका सम्भावना र चुनौतीहरू चर्चा गर्दैवर्तमान अवस्थाबारे पनि जानकारी दिइएको छ।

अहिले साइबर अपराधर साइबर सुरक्षाको विषय गम्भीर बनेको छ। पत्रकारिता जगतका लागि पनि यो एउटा गम्भीर विषय बनेको छ। यस पुस्तकको छैटौँ अध्यायमा साइबर सुरक्षा र एआई, पत्रकारितामा डाटा सुरक्षा र साइबर सुरक्षाबारे चर्चा गरिएको छ। यो अध्याय निकै महत्त्वपूर्ण छ। अहिले साइबर सुरक्षाको मुद्दा चौतर्फी रूपमा उठिरहेको छ। विश्वको पत्रकारिता जगतमा नै यो एउटा गम्भीर मुद्दा बनेको छ। लेखकद्वयले यही कारण यो अध्यायलाई प्रस्तुत पुस्तकमा महत्त्वपूर्ण स्थान दिएका हुन् भन्न सकिन्छ।

सातौँ अध्यायमा प्राविधिक शब्दावलीको चर्चा गरिएको छ। पत्रकारहरूलाई मेसिन लर्निङ, डिप लर्निङ, न्युरल नेटवर्क, प्राकृतिक भाषा प्रशोधन, पक्षधरता, एजेन्टिक एआई, डिपफेक, डिजिटल पदचिन्ह, फिसिङ, आदि शब्दावलीबारे जानकारी नहुन पनि सक्छ। त्यस्तो अवस्थामा लेखकद्वयले शब्दहरूको अर्थ राम्रोसँग खुलाइदिएका छन्। कम्युटर विज्ञानका कतिपय शब्द जटिल पनि हुन्छन्। त्यो विस्तारै बुझ्दै जाने कुरा पनि हो, जस्तो डिजिटल पदचिन्ह (Digital foot print) भन्ने शब्द छ। यसको अर्थ सजिलै बुझ्न सकिँदैन। यो भनेको इन्टरनेट प्रयोग गर्दा तयार हुने डाटाको ट्रेल अर्थात् बाटो बुझाउन प्रयोग गरिने शब्द हो। यस्ता शब्दको अर्थ पत्रकारले बुझ्न जरुरी पनि हुन्छ। अबको पत्रकारिता यस्ता शब्दहरूबारे प्रयोग कसरी हुन्छ? जान्न र बुझ्न जरुरी हुन्छ। विस्तारै अभ्यासको क्रममा बुझिँदै पनि जान सकिन्छ।

अध्याय ८ मा सञ्चारकर्मीको लागि कसरी एआई उपयोगी छ भनेर चर्चा गरिएको छ। एआई प्रयोग कसरी गर्ने भन्नेबारे एउटा सामग्री छ – यसरी प्रयोग गर्नुहोस् एआई? र, अन्तिममा किताब लेख्दा प्रयोग भएको सन्दर्भ सामग्रीबारे सन्दर्भसूची (नेपाली/अङ्ग्रेजी) दुवैमा रहेको छ।

यसरी यस किताबको ढाँचा तयार भएको छ। लेखकद्वयका भाषा सरल र बोधगम्य हुँदा प्रस्तुत पुस्तक प्राविधिक विषयको किताब जस्तो लाग्दैन; बरू साहित्य जस्तो लाग्छ। लेखकद्वयले तीव्र खोज र अनुसन्धानका साथ प्रस्तुत पुस्तक तयार गरेको कुरामा कुनै शङ्का छैन। वाग्मती प्रदेश सरकारअन्तर्गत सञ्चार रजिस्टार कार्यालयले यस पुस्तक प्रकाशन गरी महत्त्वपूर्ण काम गरेको छ। सञ्चार रजिस्टार कार्यालयले आउँदाे दिनमा पनि यस्तै पुस्तक प्रकाशन गर्दै आओस्, सूचना प्रविधिको युगमा यस्ता सामग्रीले निकै महत्त्व राख्छन्।

लेखकद्वयलाई अनन्त बधाई र शुभकामना! 

प्रकाशित: १० माघ २०८२ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App