१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित

नारी स्रष्टा समाज, विराटनगरले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मान गरेको छ।

समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगद १५ हजारसहित मोहनलता विशिष्ट स्रष्टा सम्मानबाट साहित्यकार तुलसीहरि कोइराला, ११ हजार नगदसहित कविराज स्रष्टा सम्मानबाट साहित्यकार भीष्म उप्रेती र हेमलता स्रष्टा सम्मानबाट साहित्यकार विनोद नेपाल सम्मानित भएका छन्।

त्यसैगरी समाजले स्रष्टाहरू मोहनलता सम्मानबाट साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेका छन्। सम्मानित लेकालीलाई सो सम्मान नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले प्रदान गरेका थिए।

साहित्यकारहरू: रमेश क्षितिज, मन्जिला अनिल, विन्दु अधिकारी ढकाल, रीता खत्री, निर्मला मुरारी, मीना श्रेष्ठ र लक्ष्मी श्रेष्ठ (अमेरिका) पनि सम्मानित भएका छन्।

कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले सर्जकहरूलाई सम्मान गर्दै नारी स्रष्टा समाजले पुरुष सर्जकहरूलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताए।

कार्यक्रममा साहित्यकार महेश प्रसाईं तथा डा. शैलेन्दुप्रकाश नेपालले सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए।

विराटनगरमा स्थापित स्रष्टा समाजको कार्यक्रम विराटनगरमा हुँदै आएकोमा यस वर्ष विविध कारण काठमाडौंमा नै गर्नुपरेको समाजका अध्यक्ष ममता मृदुलले बताइन्।

सम्मानित स्रष्टा कोइरालाले साहित्यकार लता गिरीको चौरासीऔं जन्म दिवसको अवसरमा सम्मानित हुँदा लेखनमा अझ हौसला मिलेको बताए।

त्यसैगरी अर्का सम्मानित स्रष्टा उप्रेतीले सम्मानले लेखनमा आफूलाई जवाफदेही बन्न प्रेरणा मिलेको बताए।

सर्जक विनोद नेपालले नेपालमा साहित्यिक संस्था चलाउन निकै गाह्रो भएको र सबै समर्पित भए मात्रै संस्था उठाउन सजिलो हुने बताउँदै समाजलाई नै नगदराशि समर्पण गरेका थिए।

कार्यक्रममा सम्मानित सर्जकहरूले कृतज्ञता ज्ञापन गर्दै लेखकीय अनुभव सुनाएका थिए।

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रज्ञाप्रतिष्ठानको आख्यान विभाग प्रमुख वरिष्ठ आख्यानकार माया ठकुरी, नाट्यकर्मी अशेष मल्ल, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थिति रहेको थियो।  

प्रकाशित: २ मंसिर २०७९ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App