२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

खै किन हो घाम अचेल सुस्तरी ठण्डा बन्दै गएको छ?

मुक्तक

नानुमैया दाहाल

१) मुक्तक

सरोजहाङले भूमिपुत्र दर्जा लिन मानोस्,

राम नेपालले छान्दा यही भूमि उत्तम छानोस्।

अब नवीन शीराबाट कोल्टे फेरोस् देशले,

लखन चौधरीले पनि यो देश साझा ठानोस्।

  २) मुक्तक 

छिमेकीको इशारामा हाम्रो कानून अपहरणमा परेछ,

तिमीले रोपेको नजीर फक्रिन नपाउँदै ओइलाई झरेछ।

न्यायले पनि बोकेर बदनामीका आला घाउहरू खल्तीमा,

हरियो नोटमा झुन्डिएर अदालतमै आत्महत्या गरेछ।

 ३) मुक्तक

हनुमानको बखान सुनिंदैछ राम हराएपछि,

पसीनाको मूल्य तोकिंदैछ यहाँ काम हराएपछि।

बग्रेल्ती लेखिंदैछ दिन र रातका कथाहरू पनि,

अपत्यारिलो गरी क्षितिजबाटै घाम हराएपछि।

 ४) मुक्तक

खै किन हो घाम अचेल सुस्तरी ठण्डा बन्दै गएको छ?

मौन बसेको छ दिन,रातको चकचकी बढेको छ।

नसोध्नुस् तपाईं घडी, पला, तिथि र पक्ष अहिले,

बैंस सम्हाल्न नसक्दा समय सख्त घाइते भएको छ।

 ५) मुक्तक

पहिरोले खाइसक्यो रानीवन हरियाली छाउँदैन कि क्या हो?

उसले शरद् फूलेको कथा कहिल्यै पढ्न पाउँदैन कि क्या हो?

पौरख रोपेर माहुरीहरूले घारमा जति नै मह जम्मा पारे पनि,

तिनको श्रमको मूल्यांकन हुने दिन कहिल्यै आउँदैन कि क्या हो?

प्रकाशित: २४ कार्तिक २०७९ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App