१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

कंकालको बगैंचामा फर्सीको मेला

नियात्रा

सन् २०२२ को अक्टुबर ८ तरीखको बिहान छ अहिले। मेरी छोरी मनुशीलाले अचानक भनेकी छिन्, ‘बाबा,आज फर्सीको मेला हेर्न जाने। दाह्रीसाह्री काटेर तयार हुनु है।’

छोरीको उर्दी अनुसार दाह्री काटेर र राखेको लुगा लगाएर तयार भएको छु। गाडीमा म, मेरी श्रीमती सुशीला, छोरी मनुशीला, नातिनी माइरा तथा जुवाइ जय चढेका छौं। गाडीको स्टेयरिङ जुवाइको हातमा छ। दिउँसो १२.३० बजेको छ। अक्टुबर भए पनि टेक्ससको गर्मी मापाको छ। मापाको भए पनि प्रविधिले हाम्रो साथ दिएको छ। हामी चिसै छौं। हाम्रो यात्रा सान मार्कोसबाट ड्रिपिङ स्प्रिङको फाउन्डर्स पार्कतिर सोझिएको छ। यात्राको उद्देश्य खालि रमाइलो मेला भर्नु छ। फर्सीको मेलामा भेला हुनु छ। कंकालको बगैंचा हेर्नु छ र रमाइलो गरेर फिर्नु छ।

बाटो चिल्लो र सललल छ। बाटाको छेउछाउमा हरिया वन छन्। वनका बिचबाट ससाना खोलाहरूले सङ्लो पानी बगाइरहेका छन्। हरिण पनि यताउता गरेर बाटो काट्दै छन्। हरिणले दिउँसै बाटो काट्ने सामान्य कुरा हो। जंगली हरिणले पनि यहाँ मान्छेले बन्दुक तेस्र्याउँदैनन् भन्ने बुझेझैं गरिरहेका छन्। जंगलका बिचबिचमा कतैकतै सुन्दर घरहरू देखिन्छन्। मैले अनायासै सोधेको छु, ‘आम्मामा, यस्तो जंगलका बिचमा पनि घर!’

मेरी छोरीको उत्तर छ-हामी जस्ताले त यो जंगलमा घर किन्न सक्दैनौ नि बाबा! यी त मिलिनियर/ बिलिनियरका घर हुन्।

लगभग एक घन्टाको तुफानी रफ्तारपछि मेला लाग्ने ठाउँ फाउन्डर्स पार्क पुग्दा हजारौं गाडी पार्क गरिएको देखिंदै छ। त्यत्रो ठूलो पार्किङ लटले नपुगेर सडकका किनारमा, चौरमा तथा धेरै परसम्म हजारौं गाडी पार्क गरिएका छन्। अलिपर सडकको एउटा किनारामा हाम्रो गाडी पार्क गरेका छौं। हामी मेलातिर उन्मुख हुँदैछौं।

गाडीबाट ओर्लनेबित्तिकै गर्मीको निम्छरो उखरमाउलोले हामीलाई सताएको छ। किनभने यतिबेला हामीलाई पुग्दो गर्मी त छ तर प्रचण्ड छैन। रुखहरूका पातहरू यामका कारणले पहेंलिन थालेका देखिन्छन्। बाटो निक्खर कालो पिच छ। आकाश छयाङ्ङ छ।

अब गेटको मुखमा आइपुगेका छौं। भित्र पस्ने तरखरमा छौं। भित्र पस्ने लाइन निकै लामो छ। लामबद्ध भएर मान्छेहरू टिकट काटिरहेका छन्। ठेलमठेल भने छैन। ठेलमठेल गर्ने चलन छैन। सामान्यतया पालो पनि मिचिंदैन। अब म यहाँहरूलाई मेलाभित्रको हालखबर सुनाउँछु।

गेटैमा टिकट काउन्टर देखिएको छ। टिकट काट्न दुई काउन्टर छन्। काउन्टरलाई रंगीन त्रिपालले ओताइएको छ। मान्छे बराम छन्। मेलामा आएका हुद्दाले टिकट काट्दा कति फाइदा हुँदो हो। मेलाभित्र पस्न प्रतिव्यक्ति १० डलर दस्तुर छ। तर, बालबालिका तथा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सित्तैंमा प्रवेश भएकाले जेष्ठ नागरिकका नाताले सुविधा पाएको छु। यो जेष्ठ नागरिकको सुविधा जिन्दगीमा पहिलोपल्ट पाएको हुँ। नत्र त मलाई नेपालको बसमा जेष्ठ नागरिक सिटमा बस्नभन्दा अन्यत्र बस्न मजा लाग्थ्यो।

सित्तैंमा मेलाभित्र प्रवेश पाएपछि १० डलर भए पनि जोगिएको छ तर मेरा मनमा मने हुँडलो चलेको छ। आफ्नै तिघ्रा छामेको छु। जोसलाई अन्दाज गरेको छु। कानलाई बूढो भएको सुन्न इच्छा छैन। मनलाई बूढो भएको अनुभूत गर्न मन छैन। अझै जवानीका जिजीविषा सकिएका छैनन्। तर, काउन्टरले मलाई १० डलरको प्रवेशलाई सित्तैंमा दिएर बूढो बनाइदिएको छ। व्यवस्थाले बूढो बनाइदिएको छ। सरकारको दस्तावेजले बूढो बनाइदिएको छ। यतिबेला म दुविधामा छु, तन्नेरी मन बोकेर सुन्दर संसारमा आनन्दित होऊँ कि चाउरिएको बुढो भएर पाएको सुविधामा पुलकित हुँ! र पनि त समय बितेछ। समयलाई उल्टो फर्काउन पनि नसकिने। लागिरहेको छ, यी यामले पहेंलिन बाध्य रुखझैं म पनि पहेंलिने यात्रामा छु। तर फेरि सम्झेको छु, मान्छे जुन अवस्थामा हुन्छ, त्यसैमा बाँच्न÷रमाउन सकेन भने उसको जिन्दगी कहिल्यै रमणीय हुन्न। किनभने किरन्टोकी मान्छे सधैं गरिब मानसिकतामा बाँच्छ। मान्छे नामका हुँडार धोक्रा कहिल्यै भरिंदैनन्।

नातिनीलाई स्टोलरमा राखेर हामी मेलाभित्र प्रवेश गरेका छौं। खासमा यो भेला ह्यालोविन विशेष हो। सायद महिना दिन चल्छ होला यो मेला। शनिबार तथा आइतबार विशेष भिड हुने र अरू बार सामान्य हुने कुरा त्यो मेलाका भुक्तभोगी बताउँछन्। नेपालमा दशैंका अवसरमा महिना दिनसम्म मेला लाग्ने गरेको कुरा भोगेको सम्झना यो मेलाले गराइदिएको छ। मेलामा पस्तापस्तै राता, गुलाबी, हरिया, सेता फर्सीका रासैरास छन्। किनभने फर्सीको मेला हो योे। फर्सीलाई सजाएर राखिएको छ। फर्सीकै प्रदर्शनी छ। फर्सीकै बिक्री छ। आम्मामा कति धेरै फर्सी! उहिले नेपालमा जमीनदारी प्रथा भएको बेला बट्टीदारले जमीनदारका खलामा आआफ्ना भागका धान थुपारेको ढेरी जस्तो देखिएको छ फर्सीका यी रासहरू। फर्सीका रास देखेर मेरी अर्धांगिनीले भनेकी छिन्, ‘आम्मामा, यतिका धेरै फर्सी कहाँबाट आए?’

आज अमेरिकाको आदिवासी नृत्य देखाइने दिन हो भन्ने थाहा पाएर आएका हौं यो फर्सीको मेला भर्न। त्यसैले फर्सीको रासलाई छिचोल्दै हामी फटाफट नृत्यस्थलतिर लागेका छौं। अमेरिकी आदिवासीहरू खुला चौरमा आफ्नै संगीतमा नाचिरहेका छन्। अमेरिकाका आदिवासी नर्तक नर्तकीले कम तथा विशेष प्रकारको रंगीचंगी लुगा लगाएका देखिन्छन्। टाउकोमा मयूर तथा चराचुरुंगीको प्वाँख सिउरिएको मुकुट लगाइएका छन्। नाकमा मुद्रा तथा पहिरनमा विशुद्ध आदिवासी देखिने गरी नाचिरहेका छन्। तिनीहरू सँग मान्छेहरू फोटो खिचिरहेका छन्। मैले पनि एकजना सुन्दरी आदिवासी नर्तकीसँग सेल्फी फोटो खिचेर मोबाइलमा कैद गर्न भ्याएको छु।

यो नृत्यले नेपालका कैयौं आदिवासी तथा मौलिक नृत्यलाई सम्झाइदिएको छ मलाई। झापा मोरङका झाँगड तथा सतार नृत्य, चितवनको थारु नृत्य तथा डोटीमा प्रचलनमा रहेको हुड्का नाचको याद आएको छ मलाई। मुगुको रारा तालमा देखिएको आदिवासी नृत्य,देउडा नृत्य, आमाहरूले गाउने संगिनी नृत्य तथा पिताजीहरूले गाउने बालन नृत्यको सम्झना गराइदिएको छ। प्रवासमा बसेर आएको यस्तो सम्झनाले नेपालको लोकनृत्यको आकलन गरेको छु। यस्ता आदिवासी नृत्य त नेपालमा कतिकति। कति धनी छ नेपाल लोकनृत्यमा! गौरव महसुस गरेको छु। कल्पना गरिरहेको छु, मानव विकासको ऐतिहासिक तथा सांस्कृतिक बाटो सायद एउटै रहेछ संसारभरि।

मेलाको विशेषतामध्ये एउटा विशेषता अमेरिकाको आदिवासी सभ्यता र संस्कृतिलाई देखाउनु रहेछ। आदिवासीले प्रयोग गर्ने पुरानो गाडाले मेरो ध्यान आकर्षित गरेको छ। सायद अमेरिकामा ती गाडा घोडाले तान्थे कि जस्तो लागेको छ। गाडाको पैयामा हाल चढाएको छ। फलेकले बनाइएको छ गाडा। गाडाको पैया काठको छ। १४ वटा ससाना पट्ठुी काठले पैयाको धुरीमा गएर गोलाकार बनाएका छन् पैयालाई। अमेरिकी आदिवासीले त्यो बेला प्रयोग गर्ने चर्पीको नमुना प्रदर्शन गरिएको छ। काठले बार लाएको तथा काठकै अड्काउने छेस्किनी भएको त्यो पाइखानाले कुनै बेलाको अमेरिकाको इतिहास बताइरहेको छ।

यसैगरी बन्चरोले तीर हान्ने खेला पनि छ। पर्खालमा गोलाकारभित्र केन्द्र बनाइएको छ। त्यसमा बञ्चरोले परबाट झटारो हानेर प्वाल पार्ने खेल छ। नेपालमा छेलो हान्ने खेलको सम्झना यसले मलाई गराइरहेको छ। आदिवासीले प्रयोग गर्ने धनुकाणको बिम्बमा रंगीन धनुकाण प्रदर्शनीमा छ।

हेर्दै जाँदा एउटा सानो कान्जीहाउस याने कि ढाट गोठरूपी कान्जीहाउसमा २० जति बख्रा, १ गाई, १ बछेटो, १ घोडाको बछेटो, ऊँटको बच्चा, कँगारुलाई थुनेर प्रदर्शनीमा राखिएको देख्दैछु। मान्छेहरू गोठको गेटमै दाना किनेर भित्र पसेरै जनावरलाई खुवाइरहेका छन्। ती मस्त अघाएका छन्। त्यसैले खान मन गरिरहेका छैनन्। उग्राएका छन्। गाई त मजाले उग्राइरहेको छ।

म घोत्लिरहेको छु, वास्तवमा मान्छेको पहिचान भनेको तिनको प्रारम्भिक सभ्यता, संस्कृति, संगीत, नृत्य आदि रहेछन्। जुन देशले त्यस्ता खाले वस्तुको संरक्षण गर्न सक्यो, त्यो देश त्यति विकसित हुने रहेछ। राजनीतिक शक्ति त समय क्रममा हराउँदै जाने र विपरीत नयाँ शक्ति आउने चक्र हुँदो रहेछ। पुराना सभ्यता तथा इतिहासको संरक्षण,प्रवर्द्धन तथा प्रदर्शन भनेको ज्यादै किमती कुरा हो।

म सोचिरहेको छु, नेपालमा ऐतिहासिक वस्तुको नाश गर्ने गरिएको देख्दा दिक्क लागिरहेको छ। एकले अर्काको ऐतिहासिक महत्त्वका विषयहरूमाथि आक्रमण गर्ने परिपाटीले नेपाल शनैशनै कुरूप यात्रामा निस्केको छ भन्ने लागिरहेको छ। नत्र त यस्ता आदिवासी सभ्यता र संस्कृति तथा इतिहास त नेपालमा कति छन् कति। नेपाली भएका नाताले नेपालको यो गौरवशाली आदिवासी सभ्यता, संस्कृति तथा परम्पराको इतिहासमा विदेशमा बसेर गौरव महसुस गर्न पाएको छु। भलै माल पाएर के गर्नु चाल पाए पो भनेझैं भएको छ देश।

मेलामा पुगेपछि हामी अलगअलग घुम्दै छौं। म एक्लै घुम्दै छु। म देखिरहेको छु नेपालका मेलामा जस्तै विविध खाद्य सामग्रीका फुड स्टल, लत्ताकपडा, कस्मेटिक, वाइन, वियर, ह्याट, चिया-कफीको खुला दोकान छन्। बर्गर, ग्रिल चिकेन तथा फ्रेन्चफ्राइको दोकान मेरा सामुन्नेमा छ। यसकै पल्लोपट्टि अनुहार रंगाउने पसल छ। यो ह्यालोविन याम हो। त्यसैले बालबालिकाहरू तथा किशोरकिशोरीहरू फेस पेन्टिङ गराइरहेका छन्।

म अगाडि बढिरहेको छु र देखिरहेको छु, गहनाको दोकान, नङ रङ्गाउने दोकान, फर्सी रङ्गाउने दोकान, आगोमा भुटेको मकै लाइभ हेर्ने र किनेर खाने दोकान, टेक्सासको हिल काउन्टीको लोकल स्वादमा बनाइएको वाइनको दोकान, वार्म वेलकम लेखिएको कोल्ड वियरको दोकान लहरै हार मिलाएर बेचिरहेछन्। मान्छे आइरहेका छन्। खाइरहेका छन्। गइरहेका छन्। घुमिरहेका छन्।

यो मेलामा नेपालकै मेला भरेको अनुभूति भइरहेको छ मलाई। नेपालको पहाडको मेलामा सेल रोटी खाएको तथा मधेसका मेलामा जिलेबी खाएको सम्झना आएको छ। नेपालमा जस्तो खुला ठाउँमा ससानो टेन्ट गाडेर दोकान चलाइएका छन्। कफी तथा हिना मेहन्दीको दोकानमा भने भारतीय नै विक्रेता छन्। अचम्म छ यी भारतीयहरू! जहाँ पनि पुगिहाल्छन् र केही पैसा बनाइहाल्छन्।

चौरमा गहुँका छ्वाली, काठ आदिका टेबुलकुर्सी बनाइएका छन् र राखिएका छन्। जहाँ मान्छेहरू आफ्नो समूहमा बसेर आनन्द लिइरहेका छन्। जतिसुकै भिडभाड भए पनि धकेलाधकेलचाहिं नहुँदो रहेछ अमेरिकामा।

म केटाकेटी खेल्न बनाइएको ठाउँमा आइपुगेको छु। प्लास्टिकका ठूलाठूला ब्लकलाई जोडेर ससाना नानीबाबुहरू कोही घर बनाइरहेका छन्। कोही बस त कोही रेल बनाइरहेका छन्। मेरी नातिनी त्यो ब्लक भएको ठाउँमा पुगेपछि अन्त कतै जान मानेकी छैनन्। नातिनीलाई मैले भनेको छु, ‘हिंड, अर्को कुरा हेर्न।’

नातिनीको तत्काल जवाफ आएको छ, ‘नोनोनोनोनो।’

सो खेल्ने ठाउँमा मोटो खालको रबरको गलैंचा राखिएको देखेर म छक्क परेको छु। अमेरिकामा बालबालिकाको विशेष हेरचाह गर्ने कानुन छ भन्छन्। बालबालिकाको विशेष सुरक्षा आवश्यक पर्छ अमेरिकामा। मेलामा बालबालिकाका खेल सामग्रीलाई विशेष महत्त्व दिएको देखिएको छ। किनभने बेलुनमाथि उफ्रिएर केटाकेटी खेलिरहेका छन्। ठूलो बेलुनलाई घोडा बनाएर खेलेका छन्। रुखमा बाँधेर जाली जस्तो डोरीले बनाइएको झोलुङ्गो मेलाभरि यत्रतत्र छ। त्यहाँ केटाकेटी झुलिरहेका छन्। मच्चिरहेका छन्। बालबालिकाका लागि घोडाको सवार गर्ने ठाउँमा आइपुगेका छौं। गजब मजा आएको छ, अघिअघि घाँस पछिपछि घोडा। सवार घोडा हिंड्नेबित्तिकै घाँस पनि हिंड्छ अनि सवार चलेको छ। मलाई थाहा छ, घोडा चढ्ने टेक्ससको निकै सम्पन्न परम्परा हो।

केटाकेटीलाई नै लक्षित गरी एउटा ठूलो पिंजडामा राता निला, काला, पहेंला, छिर्केबिर्के, चराहरूलाई राखिएको छ। गेटमा चारो किनेर एउटा सानो चोइटोमा केटाकेटीहरू चोबिरहेका छन् र काठको चोइटामा चारो देखेपछि ती चरा आएर औंलामै बस्ने र चारो खाने गरेको देखेर निकै रमाइलो लागेको छ। मान्छे पिंजडाभित्र नै पसेर त्यो चारो दिइरहेका छन्।

बालबालिकाका लागि रेल सेवा चलेको छ। गहुँको छ्वाली तथा घाँस सुकाएर बनाएको कुन्यूमा बालबालिकहरू उफ्रीउफ्री खेलिरहेका छन्। मलाई भने आफ्नै बाल्यकालको सम्झना आएको छ। धान तथा परालका कुन्यूमा उफ्रीउफ्री खेलेको सम्झना ताजा भएको छ। धानपरालले पाछेर हातखुट्टामा कोतरेको/टट्याएको अहिलेजस्तो लाग्छ मलाई। तर, अब त ती दिन एकादेशको कथा भइसकेको छ।

त्यसो त अमेरिकामा घाँस पराल राख्ने विशेष प्रविधि छ। गलैंचालाई गोलो पारेर गुँडुल्क्याएको जस्तो गरी सुकेका घाँस पराललाई वृत्त आकारमा ठूलाठूला बिटा बनाइएको हुन्छ। मेलाकै चौरमा एउटा निकै ठूलो कपडाको कालो पाटी राखिदिएको छ। जहाँ रंगीन चक पनि छन् र बालबालिका त्यो पाटीमा कोरेर खेलिरहको छन्। पशुपतिमा जस्तो १०८ शिवलिंग घुम्ने जस्तै यहाँ गहुको छ्वालीका बिटाले सोको आकार बनाइएको छ। जसको तात्पर्यचाहिं भूत खोज्ने हो।

मलाई असाध्य रमाइलो लागिरहेको छ। म फेरि बालबालिका खेल्ने क्षेत्रमै घुमिरहेको छु। म देखिरहेको छु, लगभग १ हजार स्क्वायर फिटको जमिनलाई छ्वालीका बिटाले घेरेर अखाडा जस्तो बनाइएको छ। बिचमा टनका टन छोडाएका मकै थुपारिएको छ। सो मकैमा केटाकेटीहरू मजाले खेलिरहेका छन्। मलाई मेरो बाल्यकालमा आफ्नै चुरे जंगलमा बालुवामा यसैगरी बसेर साथीसाथीका बिचमा बालुवा हानाहान गरेर खेलेको याद ताजा भएर आएको छ। आखिर बालक न हुन् जहाँका भए पनि। सुविधा पो फरक हुने भयो त तर जिजीविषा त एकै हो नि बालबालिकाको पनि।

नानीबाबु ब्लक खेल्ने ठाउँकै छेउमा एउटी आमा आफ्नो टी सर्टबाट स्तन पूरै बाहिर निकालेर आफ्नो बच्चालाई स्तनपान गराउँदै छिन्। यो बेला मलाई उनको स्तन देखेर यौन उन्माद आएको छैन। म आमाको ममतालाई हृदयमा राखेर गम्दैछु। धन्य छन् संसारभरिका आमा! त्यहाँ अश्लीलता छैन। नेपालमा धेरै आमाले यसरी आफ्नो स्तन सार्वजनिक ठाउँमा बाहिर देखाएर आफ्ना सन्तानलाई स्तनपान गराएको मनग्गे देखेको कुराको सम्झना आइरहेको छ। यतिबेला मेरा दिमागमा दुई घटनाको याद आइरहेको छ।

कुरा नेपालको हो। म मेरी बैनीलाई भेट्न उनको घर गएको थिएँ। उनी जागिरे थिइन्। अलि मोटी हुँदै गएको अनुभूत भएको थियो मलाई। भ्याङ्ले म्याक्सी लगाएकी थिइन्। अनि मैले म्याक्सी माथिबाट उनको पेट नै हल्का छामेर भनेको थिएँ, ‘मोटायौ नानी, मोटाउनु राम्रो होइन।’

त्यो बेला त मलाई थाहा भएन तर पछि थाहा पाएँ, उनले गर्भधारण गरेको रहेछ। मेरो त्यो कृत्यले उनी लाजले भुतुक्क भइछन्। मलाई पनि त्यो कुरा सुनेपछि ग्लानि भएको थियो।

अर्को घटना, म अमेरिकामा सानी नातिनीलाई लिएर खेलमैदान गएको थिएँ। त्यहाँ आफ्ना बच्चा खेलाइरहेकामध्ये एउटीसँग निकै लामो भलाकुसारीपछि सोधेको थिएँ, ‘हाउ मेनी बेबी यु ह्याभ?’

उनले सहज तरीकाले जवाफ दिएकी थिइन्, ‘टू।’

अनि आफ्नो खेलिरहेको बच्चालाई देखाएर भनेकी थिइन्, ‘दिस सन एन्ड (आफ्नो पेटतिर इसारा गर्दै) डटर इज इन माई टमी। नाउ सी विकेम फोर मन्थ।’

यसो भनिरहँदा उसको अनुहारमा आभा झल्केको थियो। ठूलो उपलब्धि ठानेकी थिई उसले अनि आफ्नो भेस्टलाई उचाल्दै पेट देखाएर मलाई उसको पेट छाम्न अनुरोध गरेकी थिई र मनमनै गम्दै छु, आफैंले यसरी स्तनपान गराएका तथा यत्रोविधि माया गरेका सन्तानले तिनै आमालाई रुवाउँदा आमाको मनमा कस्तो भाव आउँदो हो! अहिले म त्यही कुरा सोच्दै छु। यद्यपि यो अनुभूति नेपाल र अमेरिकामा भने फरक छ जस्तो लाग्छ। दुवै देशको सामाजिक चिन्तन नै फरक छ। नेपालमा सन्तान जन्माउनु आफ्नो सुदूर भविष्य सुरक्षित गर्नु पनि हो तर अमेरिकामा भने जीवनको रमाइलो र उपलब्धिमूलक क्षण हो।

वास्तवमा म यतिबेला आमाको महिमाबारे सोच्दै छु। गर्भधारण जत्तिको अनुपम क्षण एउटी आमाको जीवनमा कहिल्यै आउँदो रहेनछ। कुनै महिला सबभन्दा गौरवान्वित तथा पूर्ण हुने क्षण भनेकै गर्भधारण हो। आफ्नो बच्चालाई स्तनपान गराउन सक्नु हो। सके यो कुरा संसारभरिका आमाका संस्कृतिमा समान रूपमा पाइन्छ!

हामीलाई एकदम भोक लागेको छ। हङ्ग्री जेएसको पिचाको साइनबोर्डतिर गएका छौं। पिचा किनेर खाएका छौं। पिचाले भोक त मारेको छ तर प्रचण्ड गर्मी भएकाले तिर्खा भने मारेको छैन। तिर्खा झन् जब्बर भएर आएको छ। मेलाकै एउटा कुनामा पेकोस पेटेसको कोल्ड ड्रिङ्क देख्दै छु। त्यहीं एउटा मग किन्नुपर्ने र कलात्मक काठका फाउन्टेनबाट जतिपल्ट भरेर खाए पनि हुने व्यवस्था छ। मैले आइस्ड टी विथ नो सुगर, लेमोनेड, रुट वियर तथा आइस्ड टी विथ सुगर थपीथपी खाएको छु। नत्र त प्यासले प्याकप्याक परेको नि।

म अगाडितिर बढिरहेको छु। एउटा कवलमा एकजना मान्छे एक्लै आनन्दले गितार बजाउँदै गीत गाइरहेको छ। ऊसँग न अन्य संगीतकर्मी छन् न नृत्यांग/नृत्यांगना। न उसलाई हेरेर बसिरहेका दर्शक तर ऊ आफ्ना तालमा गीत गाइरहेको छ। ऊ यति मस्त छ, मानौं त्यहाँ हजारौं मान्छेका बिचमा कन्सर्ट दिइरहेको छ ऊ।

प्रदर्शनीमा अग्लो तर एकदम पुरानो वायुपंखा राखिएको छ। त्यो घुमिरहेको त छैन तर हेर्दा लाग्छ, त्यो वायुपंखाले पनि पुरानो जमानाको याद गराइरहेको होला। वायुपंखाकै छेउबाट बाहिर निस्किरहेका छौं। बाहिर निस्कँदा फेरि फर्सीकै संसारमा आइपुगेका छौं। जताततै फर्सी नै फर्सी छन्। फर्सी भएको चौरको बिचमा एउटा एकदम थोत्रे भ्यान राखिएको छ। भ्यानभित्र पनि फर्सी नै फर्सी छ। भ्यानभित्र केटाकेटी पसेर फोटो खिचिरहेका छन्। त्यसकै परतिर अर्को एकदम थोत्रे कार छ। कारलाई लगभग फर्सीले सिंगारिएको छ।

हामी चिहान प्रदर्शनी क्षेत्रमा प्रवेश गरेका छौं। कंकालको बगैंचामा आइपुगेका छौं। त्यहाँ एउटा भुत्याहा घरको बनाइएको छ। त्यो सानो चिटिक्क परेको भुत्याहा घरलाई माकुराको जालोले छपक्क छोपेको छ। चिहान क्षेत्र प्रवेश गेटमा नै लगभग २५ फिट अग्लो कृत्रिम मानव कंकाललाई उभ्याइएको छ। चिहानमा विविध खाले कंकाल तथा चिहान र चिहानमा लेखिने शिलालेखको प्रदर्शन गरिएको छ। कुनै कंकाल सुतिरहेका छन् कुनै ठडिएका र कुनै झुन्डिएका छन्। वास्तवमा मान्छेलाई रमाउन केही विशेष कुरा आवश्यक पर्दो रहेनछ जस्तो लाग्दैछ मलाई। कंकालसँग पनि मान्छे रमाइरहेको छ।

ठूलो पुतलीको चित्रसँग पनि मान्छे रमाइरहेकै छ। मकै, जुनेलो तथा खरको मुठालाई ठड्याएर भूत बनाइएको बुख्याचासँग पनि मान्छे रमाइरहेको छ। ह्यापी ह्यालोविन भनेर लेखिएको फर्सीको स्ट्यान्डमा पनि मान्छे रमाइरहेको छ। फोटो खिचिरहेका छन् मान्छे। र, मैले यसैबेला नेपालको संखुवासभाको मादीलाई सम्झेको छु। त्यहाँ मचानमा पाकेका फर्सीको रास राखिएको थियो। मैले सोधेको थिएँ, ‘के गर्नुहुन्छ यतिका फर्सी?’

जवाफ आएको थियो,‘के गर्नु यी गाँड, खाएर सकिन्न। स्याहार्नको हैरान। गाईवस्तुलाई खुवाउने हो। खाइनसके फालिदिने हो बारीमा। मल हुन्छ।’

तर यो मेलामा त त्यस्तै फर्सीसँग विविध पोजमा फोटो खिचिरहेको छ मान्छे। रंगीविरंगी बनाइएको छ फर्सीलाई। रंगीविरंगी पोसाकमा सजिएका छन् मान्छे। किनकि यो ह्यालोविनको याम हो।

हामी अब लगभग बाहिरिने तयारीमा छौं। लघुशंका तथा दीर्घशंका निवारण गर्न नै उचित ठानेर रेस्टरुम खोजेका छौं। त्यहाँ त स्थायीबाहेक पोर्टेवल रेस्ट रुमको व्यवस्था गरिएको रहेछ। त्यसमा चाहिने पेपर, पानी, ह्यान्ड सोप तथा स्यानिटाइजरकोे पर्याप्त व्यवस्था देखेर छक्क परेको छु। र यो बेला मेरा दिमागमा आफूले नेपालमा मेला भर्दा कान्ला तथा झाडीमा मलमूत्र विसर्जन गरेको दृश्य सम्झिएको छु।

ए, बिनाकाम म पनि केको तुलना गर्नपट्टि लागें कुन्नि! आआना परिवेश खाने हो मान्छेले। जन्म र मृत्युका यायावरीय यात्रामा मान्छे को कहाँ जन्मन्छ? कहाँ मर्छ? के राम्रो? के नराम्रो? सोचिरहनु व्यर्थको टन्टा!

घर फिर्ने बेला भएको छ। साँझ ६ बजे घरमुहाँ भएका छौं।

प्रकाशित: २१ कार्तिक २०७९ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App