१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अविश्रान्त सांस्कृतिक साधक सत्यमोहन जोशी

तीन पटकका मदन पुरस्कार विजेता, लेखक तथा संस्कृतिविद् सत्यमोहन जोशीको भौतिक देह अब हामीमाँझ छैन। ललितपुरको बखुम्बहालमा १९७६ साल वैशाख ३० गते जन्मिएका जोशीले १०३ वर्षको दीर्घ अनि सार्थक जीवन जिएर देहत्याग गरे। भौतिक शरीर नरहे पनि उनको निरन्तरको साधना अनि जीवन्त जिज्ञासाले सदा सदा सर्वत्र खोजी भइरहने पात्र बने सत्यमोहन। जोशीको सानैदेखिको जिज्ञासु स्वभाव जीवनभर रहिरह्यो। त्यही जिज्ञासाले नै उनको जीवनलाई जीवन्त बनायो।

३६ वर्षको उमेरमा ‘हाम्रो लोक संस्कृति’ नामक खोजमूलक पुस्तकबाट २०१३ सालमा पहिलोपटक मदन पुरस्कार पाएका जोशीले त्यसपछिका १५ वर्षमा अरू दुईपटक मदन पुरस्कार पाए। २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ र २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ बाट पनि उनले मदन पुरस्कार पाए। तीनपटक मदन पुरस्कारबाहेक उनले दक्षिणबाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपजस्ता प्रतिष्ठित राष्ट्रिय पुरस्कार पनि पाए।

१०३ वर्षको दीर्घ अनि सार्थक जीवन एवम् जीवनभर साधनामा सक्रिय सत्यमोहन जोशीको स्वास्थ्यको रहस्य बुझ्ने चासो सबैलाई हुने गर्छ। चाहेर पनि सबै मान्छे स्वस्थ हुँदैनन् अनि धेरैले ज्ञान भएर पनि स्वस्थ हुने कर्म गर्दैनन्। जोशीले आफ्नो स्वास्थ्य अनि खानपानका सम्बन्धमा पटकपटक राखेका कुराहरू यहाँ सान्दर्भिक हुन्छन्।

जोशीको स्वस्थ अनि दीर्घजीवनको रहस्य

सत्यमोहन जोशीले आफ्नो लामो आयुको कारण खानपान र जीवनशैलीसँगै संस्कृतिप्रतिको लगाव र जिज्ञासु स्वभावलाई पनि मान्ने गर्थे। सामान्य जीवनशैली बिताउन मन पराउने जोशीले आफ्नो जिन्दगीको अधिकांश समय खोज र अनुसन्धान मै बिताए। सत्यमोहनले सधैं भन्ने गर्थे, ‘दीर्घ र स्वस्थ जीवन बाँच्नका लागि आशावादी भएर सधैं कर्ममा लागिरहनुपर्छ। चिन्ताको भारी बोक्नु हुँदैन। चिन्तन गर्ने तर चिन्ता नगर्ने। चिन्ताले रोग ल्याउँछ। मनमा असन्तोष हुन्छ। चिन्ता कति र कसरी लिने थाहा हुनुपर्छ।’ हुन पनि उनको दीर्घ अनि स्वस्थ जीवनको सबैभन्दा ठूलो सूत्र नै यही थियो, निरन्तरको कर्म, सकारात्मक चिन्तन अनि निराश नहुने बानी।

सत्यमोहनलाई निरर्थक लामो आयु मात्रै हुनु बेकार लाग्थ्यो। उनले मान्छेको चेतनाले काम गर्ने बेलासम्म मात्र बाँच्न पाए हुन्थ्यो भन्थे। भनेअनुसार नै सबै चिज हुन्छ भन्ने त हुँदैन। यद्यपि जिन्दगी एउटा अवसर हो, यसरी नै बाँच्छु भन्न सकिन्न तर जिन्दगीको आदर्श भने कहिल्यै छोड्नु हुँदैन भन्ने विचार उनले धेरै मञ्चहरूमा राखेका छन्।

दौरा, सुरुवाल, पटुकी र टोपी सत्यमोहनको बाह्य परिचय नै बनेको थियो। हरेक दिन मर्निङ वाक गर्दैनथे। न उनले नियमित फलफूल सेवन नै गर्थे। उनको अनुहारको चमक कहिल्यै घटेन। युवाजस्तै सधैं स्फूर्ति देखिन्थे।

मलाई याद छ, नेपाल प्रज्ञा प्रतिष्ठानका अधिकांश साहित्यिक कार्यक्रममा प्रमुख अतिथिका रूप उनी आमन्त्रित हुन्थे। कार्यक्रम सकिएपछि अरू सबै घरतर्फ जानका लागि सवारी साधनको खोजीमा लाग्थे। सत्यमोहन भने आफ्ना विश्वासिला पाइला अगाडि बढाउँथे। ९० वर्ष हाराहारीको उमेरसम्म त काठमाडौंमा हुने यस्ता कार्यक्रममा जाँदाआउँदा कुनै बस चढेनन् होला। उनको स्वस्थ जीवनको एउटा रहस्य यो पनि हो। उनी भन्थे, ‘एउटा चरीको आदर्शलाई आत्मसात गर्दै आत्मसन्तोषले रमाउन चाहन्छु। जुरेली चराजस्तै भोलि के होला भन्ने नसोचीकन ढुक्कले जिउन चाहन्छु।’

उनकी पत्नी राधादेवी जोशीका अनुसार सत्यमोहनको जीवन अत्यन्त सामान्य थियो। सादा जीवन उच्च विचार। साधारण खानपान हुन्थ्यो उनको। खानामा मासु भने प्रायः टुट्दैनथ्यो। सुत्ने बेला थोरै ‘ऐला’ पिउँथे। सत्यमोहनले पनि रक्सीलाई नराम्रो मात्र भन्न नहुने विचार राख्थे। मात्रा मिलायो भने रक्सी पनि औषधी बन्छ भन्थे।

सत्यमोहनले चिन्ताविहीन जिन्दगी बाँचे, जिन्दगीलाई सधैं चलायमान बनाए अनि कर्मले जिन्दगीलाई डोर्‍याए। यही नै उनको दीर्घ र स्वस्थ एवम् सार्थक जीवनको कारक बन्यो।

जोशीले पाएका तीन मदन पुरस्कार

सत्यमोहन जोशी तीनपटक मदन पुरस्कार पाउने पहिलो व्यक्ति हुन्। उनले पहिलोपटक मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोकसंस्कृति’ हो। पश्चिम नेपालमा संकलन गरेका झ्याउरे, दोहोरी र लोकगीत समेटिएको छ यसमा। यसैले उनलाई २०१३ सालको मदन पुरस्कार दिलायो। त्यसपछि उनले २०१७ सालमा फेरि मदन पुरस्कार पाए, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि। त्यसमा नेपालको प्राचीनकालदेखि पुस्तक लेखुन्जेलसम्मका मुद्राको संकलन, अन्वेषण र अध्ययन गरेर सचित्र वर्णन गरिएको छ।

तेस्रो पटक २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनीसहित ५ जनाले संयुक्तरूपमा मदन पुरस्कार पाए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बखत उनको समूह (भाषाशास्त्री चुडामणि बन्धु, भूगोलवेत्ता जंगबहादुर सिंह, गायक प्रदीप रिमाल, सरकारी कर्मचारी बिहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशी) नेपाली भाषाको उद्गमथलो जुम्लाको सिञ्जा उपत्यका पुगेका थिए। उनीहरूले त्यहाँ २ महिना बसेर ५ खण्डको ग्रन्थ ‘कर्णाली लोकसंस्कृति’ लेखेका थिए।  

आफूले ग्रहण गरेको पहिलो मदन पुरस्कारका सन्दर्भमा सत्यमोहन जोशीले आफ्नो आत्मवृत्तान्त ‘सत्यमोहन’ मा भनेका कुरा यहाँ उद्धृत गर्नु उपयुक्त देखिएको छ:

‘मैले तीन पटक मदन पुरस्कार ग्रहण गरेँ। नेपाली लेखनक्षेत्रको यो शिखर विभूषण कालान्तरमा एकपटकभन्दा बढी कसैलाई नदिने घोषणा यस पुरस्कारको गुठीले गरिसकेको छ। यस हिसाबले अब मेरा कृतिहरूले मलाई दिलाएको तीनपटक मदन पुरस्कार विजेता अलङ्कार सदाका निम्ति अद्वितीय बनिसकेको छ।

श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरको २०१० सालमा बनारस रहँदै निधन भएको थियो। उनको स्मृतिमा त्यसको दुई वर्षपछि यो पुरस्कार स्थापना गरियो। यसरी स्थापित पहिलोपटककै अर्थात् २०१३ सालको मदन पुरस्कार मेरो पुस्तक ‘हाम्रो लोक संस्कृति’ले प्राप्त गरेको थियो।

२०१४ सालमा पहिलो मदन पुरस्कार वितरण समारोह आयोजित श्रीदरबार टोलको दृश्य म अहिले पनि झलझली सम्झन्छु। त्यस दिन म निर्धारित समयमै ललितपुरस्थित लेफ्टिनेन्ट जर्नेल मदनशमशेरको दरबारमा उपस्थित भएको थिएँ।

त्यतिबेला बाहिर जुत्ता फुकालेपछि हामी सबैलाई मदनशमशेरको सोझो बैठक कोठामा प्रवेश गराइएको थियो। त्यो बैठक रातो बङ्गलामा थियो, जहाँ अहिले रातो बङ्गला स्कुलको कमलमणि थिएटरसहितको भवन ठडिएको छ।

पुरस्कार लिने बेलामा मलाई एकातिर पण्डितराज सोमनाथ सिग्द्यालले पाखुरा समातेका थिए भने अर्कोतिर कवि शिरोमणि लेखनाथ पौड्यालले। सोमनाथ कोट लगाउँथेनन्। पटुका बाँधेका र एकातिरको बर्को यसो मास्तिर लगेका हुन्थे। कवि शिरोमणिको पहिरन त उही कालो लामो कोट नै थियो।

पुरस्कार लिनका निम्ति त्यसरी मलाई रानी जगदम्बाका अगाडि लगियो। त्यसपछि मेरा पाखुरा समातेका दुवै व्यक्तित्वले रानीका अघिल्तिर बिन्ती चढाउँदै मेरो परिचय गराए, यस वर्षको सबैभन्दा पहिलो मदन पुरस्कार पाउने सत्यमोहन जोशी भनेका यिनै हुन्।’

हुलाक टिकट र सिक्कामा छापिएका व्यक्ति

सत्यमोहन जोशीको ठूलो योगदान नेपाली मुद्राको संकलन, अन्वेषण र अध्ययन गरेर सचित्र वर्णन गर्ने कार्यमा रहेको छ। यही अन्वेषणात्मक ग्रन्थ ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

नेपाली एक हजार रूपैयाँको नोटमा किन हात्तीकै चित्र राखिएको होला भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ। हजार रूपैयाँको नोटमा हात्तीको चित्र राख्ने कुराका प्रस्तावक सत्यमोहन जोशी नै थिए। हजारको नोट सबैभन्दा ठूलो नेपाली रूपैयाँ हो। त्यसैले त्यसमा ठूलो प्राणी हात्तीको चित्र राख्दा बढी सान्दर्भिक हुन्छ भन्ने तर्क जोशीको थियो। त्यसैगरी १, २, ५, १०, २०, ५०, १००, ५०० दरका नोटमा राखिने चित्र तथा डिजाइनमा समेत संस्कृतिविद् जोशीले महत्त्वपूर्ण सुझाव दिएको बुझिन्छ।

जोशीले गरेको नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदानको कदर स्वरूप उनको तस्बिर अंकित चाँदीको सिक्का समेत निकालियो। नेपालको मुद्रा सिक्का र कागजी नोटको डिजाइन एवम् कला, संस्कृति, भाषा तथा ऐतिहासिक तथ्यका बारेमा नेपाल राष्ट्र बैंकका विभिन्न उल्लेख्य समितिमा रहेर उनले धेरै गभर्नरहरूलाई सल्लाह, सुझाव दिएको बुझिन्छ। मुलुकका हरेक दरका नोटहरूमा भएका मन्दिर, राष्ट्रिय तथा महत्त्वपूर्ण जनावरलगायतको प्रामाणिकता, अन्तर्राष्ट्रिय स्तरमा भएका जनावरमध्ये नेपाली जनावरको पहिचानदेखि भाषा मिलाउने लगायतका काम गरेर नेपाली मुद्राको इतिहासमा जोशीले ठूलो योगदान पुर्‍याएको पाइन्छ।

नेपाली पुरातत्त्वको विकास गर्ने ऐतिहासिक व्यक्ति भएकाले पनि सम्मानस्वरूप उनको नाममा चाँदीको सिक्का निष्कासन गरिएको पाइन्छ। २०७६ भदौमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सत्यमोहन जोशीको नामाङ्कित सिक्का सार्वजनिक गरेका थिए। सय वर्ष पुगेपछि सम्पदाको रूपमा लिइने भएकाले सत्यमोहन जीवित सम्पदा/जीवित इतिहास हुन् भन्दै उनले त्यतिबेलै सम्मान व्यक्त गरेका थिए। जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित २५ सय, एक हजार र एक सय दरका सिक्का निष्कासन गरेको थियो।

सरकारले २०७७ साल माघ २० गते वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित १० रूपैयाँको हुलाक टिकट प्रकाशित गरेको थियो। अधिकांश क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूको नाममा निधनपश्चात् मात्रै हुलाक टिकट कदर स्वरूप प्रकाशित गर्नेगरेको पाइन्छ। तर, जीवितै हुँदा हुलाक टिकट प्रकाशित हुने जोशी पहिलो व्यक्ति हुन्। सरकारले नीतिगत व्यवस्था नै परिवर्तन गरेर जोशीको तस्बिर अंकित टिकट निकालेको थियो।

सत्यमोहन जोशीका व्यवहारगत विशेषता

सत्यमोहन सधैं कर्ममा विश्वास गर्ने अनि सार्थक जीवन जिउने गतिशील सांस्कृतिक धरोहर हुन्। स्पष्ट बोल्ने, सबैलाई उत्प्रेरणा प्रदान गर्ने, साथीसँगी भनेपनि हुरुक्क हुने, घमन्ड अनि ठुल्याइँ कहिल्यै नदेखाउने अर्थात् सादा जीवन जिएर अमूल्य काम गर्ने व्यक्ति हुन्।

जोशीका प्रतिनिधि पाँच व्यवहारगत विशेषतालाई बुँदागत रूपमा यसप्रकार प्रस्तुत गर्न सकिन्छ:

सरल, स्पष्ट र उत्प्रेरक व्यवहार

सत्यमोहन जोशी सादा जीवन उच्च विचारका प्रयोक्ता थिए। उनको बोली, वचन र व्यवहार अत्यन्त सरल थियो। काठमाडौं उपत्यकामा जन्मेहुर्केका भए उनको जीवनशैली, खानपान, पहिरन, सोच सबै सादा देखिन्थ्यो। उनमा ज्ञान, अनुभव र सफलताको घमन्ड कहिल्यै पलाएन। उनको बोली पनि प्रस्ट थियो। आफूले राख्ने विचारमा स्पष्ट थिए। कुरा लुकाएर, पचाएर, घुमाएर कहिल्यै बोलेनन्। त्यसैगरी सत्यमोहन सबैलाई उत्प्रेरणा थप्ने व्यक्ति थिए। सबैलाई मायालु व्यवहार गर्ने गर्थे। आफूसँग भएको ज्ञान लिन आउने विद्यार्थीहरूलाई पनि सधैं उत्प्रेरणा थप्थे। उनमा म ठूलो मान्छे हुँ भन्ने घमन्डसमेत कहिल्यै पलाएन। समकक्षी साथीहरूलाई सधैं मायालु व्यवहार गर्थे। यो उनको व्यावहारिक विशेषता थियो।

चिन्तनशील एवम् अध्ययनशील राष्ट्रभक्त सांस्कृतिक व्यवहार

चिन्तन र अध्ययन गर्नु सत्यमोहन जोशीको नियमित कर्मभित्र पर्थे। उनको यही चिन्तनशील एवम् अध्ययनशील व्यवहारकै कारण नेपाली लोक संस्कृति, कर्णाली लोक संस्कृति, नेपाली नोट र सिक्का, नेपाल–चीन सम्बन्ध, नेपाली पुरातत्त्वको उद्भव लगायतका क्षेत्रमा नेपाली समाजले अनगिन्ती कृति र विचार पाएको हो। सत्यमोहनको चिन्तन सधैं नेपाली संस्कृति, देशको कला एवम् गीतसङ्गीतमै केन्द्रित हुन्थ्यो। देश उनको मुटुभित्र थियो। त्यही भएर त उनले चर्चाको पछि नलागीकन कला, संस्कार–संस्कृति, मुद्रा, पुरातत्त्व जस्ता विषयको अनुसन्धानमा लागे। जोशी नेपालका राष्ट्रभक्तसांस्कृतिक धरोहर हुन्।

कर्तव्यनिष्ठ जीवन, सकारात्मक अनि फराकिलो सोच

सत्यमोहन जीवनभर व्यस्त भए। उनलाई सधैं अध्ययन, अनुसन्धान, शोधखोजजस्ता विषयले तानिरह्यो। शोधखोज कर्म फुर्सदिलो कर्म होइन। उनी यस्तै कर्ममा जीवनभर लागे। उनले धेरै मञ्चहरूमा आफ्नो दीर्घ एवम् स्वस्थ जीवनको मुख्य माध्यम यही सक्रियता हो भनेका छन्। उनले आफ्नो जिम्मेवारीमा आइपरेका काम निश्चित समयमा पूरा गर्थे। हरेक काम कर्तव्यनिष्ठ भएर समयमा नै पूरा गर्नुपर्छ, आजको समाजको अस्तव्यस्तताको प्रमुख कारण कर्तव्यनिष्ठताको कमी हो भन्थे। आफ्नो १०३ वर्षे लामो जीवनको उत्तरार्धमा समेत यसैगरी अध्ययन, चिन्तनमनन र लेखनमा लागिरहेका थिए। उनी कुनै जातीय, क्षेत्रीय, राजनीतिक, धार्मिक, भाषिकजस्ता साँघुरो घेरामा कहिल्यै पनि बसेनन्। सधैं सकारात्मक सोचका साथ काम गरिरहे।

आफ्नो संस्कार-संस्कृतिका अनुशासित पालक

सत्यमोहनको पहिरन, खानपान अनि बोलीमा सरलता मात्र होइन, स्वपन झल्कन्थ्यो। उनले लेखेका पुस्तक, व्यक्त गरेका विचार अनि शोधखोज गरेका हरेक सामग्रीमा नेपालीपन पाइन्थ्यो। उनले प्रायः नेवारी संस्कार झल्काउने पहिरन लगाउँथे। उनले लगाउने टोपी, दौरासुरुवाल अनि इस्टकोटबाटै उनको संस्कारगत अनुशासन झल्कन्थ्यो। दर्शन, कला, संस्कृतिलगायतका अनेकौँ सन्दर्भमा उनले राष्ट्रवादी कोणबाट हेर्न र व्याख्या गर्न रूचाउँथे। नेपाली संस्कार–संस्कृतिलाई चीनहुँदै विश्वसामु परिचित गराउनमा उनको उल्लेख्य योगदान रहेको छ।

उच्च आत्मबल

सत्यमोहनको उच्च आत्मबल सबैका लागि प्रेरणादायी विषय बनेको छ। उनले आफ्नो लामो जीवनमा दुःखसुखका अनेकौं कालखण्ड बिताए। राणाकालदेखि प्रजातान्त्रिक संक्रमणकाल, पञ्चायतकाल, बहुदलीय प्रजातन्त्रकाल, गणतान्त्रिक लोकतन्त्रकाल जस्ता धेरै राज्यव्यवस्थाहरूको अनुभव लिए। धेरै राजा अनि दर्जनौं प्रधानमन्त्रीको शासनकाल भोगे। दुईवटा महाभूकम्प देखे। चरम बुढ्यौलीको एक्लो जीवन काटे। बाहिरबाट हेर्दा सम्मानित सत्यमोहन भए पनि उनको जीवनमा पनि अभाव, अशक्तता, बेसाहराजस्ता कुरा पनि पक्कै थिए। तर यस्ता सबै कुरालाई उनले जित्ने प्रमुख अस्त्र थियो-उच्च आत्मबल। उनको कुरा सुन्दा, उनका पुस्तक पढ्दा, उनको जीवन देख्दा कलासाहित्यका सबै पारखीलाई सत्यमोहन जाशी उच्च आत्मबल भएका अथक साधक हुन् भन्ने सधैं लाग्थ्यो।

दीर्घ जीवन बाँचेर भौतिक रूपमा संसारबाट बिदा लिए पनि सत्यमोहनका साहित्य तथा संस्कृतिका क्षेत्रमा गरेका खोज-अनुसन्धान हामीसामु जीवन्त छन्। त्यसैगरी उनले समाजका लागि पुर्‍याएको योगदान, उनको जीवनशैली, जीवन दर्शन र उनको युग हामीले सधैँ सम्झिरहने छौं। सत्यमोहन जोशी मानसपटलमा सदैव अमर रहने छन्।

प्रकाशित: ५ कार्तिक २०७९ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App