१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

अब त फूल निख्रिन लाग्यो

कविता

डा. हिमलाल श्रेष्ठ

फुलेर झपक्क

पारिजातको बोट

हेरिरहेछु,

चकमन्न रात

भुईभरि छरिएका

सुन्तले डाँठ भएका

सेता ससाना फूलहरू

मौसम भनिरहेछ

अब त फूल निख्रिन लाग्यो।

शरद यामको

त्यो सांस्कृतिक महिना

पाइलापाइला गर्दै

जब जून

भरिलो जवानीले निथ्रुक्क हुन्छ

म चियाइरहन्छु

उनको सौन्दर्यको अन्तरकुन्तर  

दिनदिनै

अब त जूनको शीतलता निख्रिन लाग्यो

अब त फूल निख्रिन लाग्यो।

शान्त थियो

त्यो तलाउ

प्राकृत वज्र बज्रियो अकस्मात

छालहरूको उछाल

हेर्दै बित्यो पलपल

छालसँगै

डुंगाझैं

पौडी खेल्थे सारसहरू

अब त तलाउको छाल निख्रिन लाग्यो

अब त फूल निख्रिन लाग्यो।

छुनुमुनु गर्थ्यो

जनजनको मनमनमा बस्यो

लक्का जवान ऊ

हुटहुटी थियो

मिठामिठा सपना थियो

बोक्नु बोक्यो

समयले नेटो काट्दै गयो

अब त जवानी निख्रिन लाग्यो

अब त फूल निख्रिन लाग्यो।

प्रकाशित: ३१ आश्विन २०७९ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App