१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लाका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर

.

जुम्लालाई साक्षर जिल्ला घोषणा गर्दै आयोजित कार्यक्रमको तस्बिर। तस्बिर: गोल्डेन/नागरिक

कर्णाली प्रदेशको जुम्ला जिल्ला औपचारिक रुपमा ‘साक्षर जिल्ला’ घोषणा भएको छ। बुधबार आयोजित समारोहमा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले जिल्लालाई साक्षर घोषणा गरेका हुन्।

घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख तथा साक्षर घोषणा अभियानका संयोजक गौरीनन्द आचार्यले गरेका थिए। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शाहीले साक्षरता दिगो बनाइराख्न सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताए।

उनले अभियान सफल बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालय मर्ज गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा पनि जोड दिए।

जिल्लाका ८ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिसकेपछि औपचारिक कार्यक्रममार्फत जिल्लालाई साक्षर घोषणा गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लका अनुसार साक्षरता दर १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये १२ सूचकहरुमध्ये कम्तीमा ५० प्रतिशत सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको हो।

जुम्लाको हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिंजा गाउँपालिकामा ९५.५ प्रतिशत, पातारासी गाउँपालिकामा ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिकामा ९५.७७ प्रतिशत, गुठिचौर गाउँपालिकामा ९५.७३ प्रतिशत, र तिला गाउँपालिकामा ९५.४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांकले देखाएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले साक्षरता नै सभ्य नागरिकताको पहिचान भएको र अब पूर्ण साक्षरता अभियानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले साक्षर जिल्ला बन्नु जिल्लाका लागि गर्वको कुरा भएको बताए। शुभकामना मन्तव्य राख्नेहरूमा नेकपा माओवादी केन्द्रका संयोजक नवराज न्यौपाने र नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर महत रहेका थिए।

प्रकाशित: १२ मंसिर २०८१ १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App