७ वैशाख २०८१ शुक्रबार
कला

नयाँ मोड

आज फेरि विगत सम्झन बाध्य भएँ। किरणको माया पाएर आफूले पाए/भोगेको दुःख सबै बिर्सेकी केही महिना मात्र भएको थियो। लाग्थ्यो– जीवन हाँसो नै हाँसो, खुसी नै खुसी हो। यसका लागि म को हुँ, मेरो कर्तव्य के हो? भन्ने थाहा पाउनु आवश्यक हुन्छ। जसका लागि आफ्नो भावना, आफ्नो बोली अनि आफ्नो विचारको पनि उत्तिकै भूमिका हुन्छ। यी सबै पक्षमा किरणको ठूलो देन थियो।

जब किरणसँग मित्रता गहिरिँदै गयो, उसले भनेको थियो– आशा तिमी साह्रै राम्री छौ। मान्छे मात्र हैन, तिम्रो विचारधारा पनि राम्रो छ। अनि सोधेको पनि थियो कि तर पनि तिमी किन सधैँ निराश देखिन्छौ?

जब म मात्र ४ वर्षकी थिएँ, आमा मलाई छाडेर वैकुण्ठको यात्रामा जानुभयो। बाबाले आफ्नै अफिसकी साथीसँग विवाह गर्नुभयो। केही दिन त समस्या भएन तर क्रमशः सानी आमाले मलाई देखिसक्नुभएन। चार वर्षको उमेर भनेको खाने, खेल्ने, रमाइलो गर्ने न हो तर सम्पूर्ण बालबालिकाका लागि लागु हुने यो नियम मेरा लागि लागु भएन। त्यति बेलैदेखि मैले घर/आँगनमा कुचो लगाउने, भाँडा धुनेजस्ता काम गर्नुपथ्र्यो। त्यति गर्दा पनि मैले माया भने कतैबाट पाउन सकिनँ।  

समय बित्दै गइरहेको थियो। सँगैका साथीसँगी स्कुल जान थाले। मेरा लागि भने खान/लाउनसमेत समस्या भयो। राम्रोसँग दिएनन्। स्कुल त निकै टाढाको कुरा। बाबा मलाई कान्छी आमाले गरेको व्यवहार देखेर चिन्तित हुनुहुन्थ्यो। बाबाले उहाँलाई सम्झाउन खोज्नुहुन्थ्यो। तर उल्टै बाबामाथि जाइलाग्नुहुन्थ्यो। यसरी मेरै कारण घरमा निहुँ झगडा हुन्थ्यो। रातदिन अशान्ति हुन थाल्यो घरमा।

उता छिमेकीहरूले पनि बाबालाई सम्झाउन थाले– मानिसले घरमा पालेको जनावरलाई त माया गरेर पाल्छन्। तिमीलाई नपुग्दो के छ? किन छोरीलाई त्यस्तो गरेको? लुगा पनि राम्रा छैनन्, खानपिन पनि गतिलो छैन। ऊसँगैका हाम्रा बच्चा स्कुल गइसके, तिमीले त्यहाँ पनि पठाएका छैनौ। के आशा तिम्री छोरी हैन? के कमी छ तिमीसँग? हेर, कम्तीमा भगवान्सँग त डराऊ, आमा नभएकी टुहुरीलाई यति धेरै दुःख नदेऊ।

एकातिर मेरो पीडा अर्कोतिर गाउँ/छिमेक र इष्टमित्रसमेतले घरको अशान्ति थाहा पाइसकेका। बाबालाई झन् पीडा भएको महसुस गर्थें। बाबाले कान्छीआमालाई ‘आशालाई हेरविचार गर, स्कुल पठाऊ, आजकाल अलिक दुब्ली पनि भएकी छे, हाम्रा अगाडि आउन पनि डराउँछे, मैले पनि उसलाई झल्याकझुलुक मात्र देख्छु, के भन्नुभएको थियो अर्थात् वाक्य टुङ्गिएकै थिएन। बाबाको सात्तो खाइहाल्नुभयो उहाँले। त्यसपछि खुट्टा ड्याङड्याङ बजार्दै मलाई आशे ! आशे ! भन्दै चिच्याइ चिच्याइ बोलाउनुभयो। अनि सुरु भयो सदाका झैँ उही गाली पुराण– कुन जन्मको बदला मसँग लिइराछस्? तलाई मैले खान कहिले रोकेकी छु? लाउन कहिले रोकेकी छु। म आफै दुई जिउकी छु, तलाई बोकेर ख्वाउँदै कसरी हिडौं?त्यतिमात्र हैन, बाबालाई आमाले माया गरेको बरु म आफै ठीक छैन भन्न र नत्र ठीक नहुने भनेर धम्क्याउनु पनि भयो। म डरले थरथर काम्न थालें। अनि बाबासामु गएर भनें– बाबा, आमाले मलाई माया गर्नुहुन्छ, गल्ती मेरै हो। अबदेखि गल्ती गर्दिनँ।

भन्न त भनें तर रातभर सुत्न सकिनँ। मैले केही गल्ती नगर्दा पनि गल्ती गरें भन्नुपरेको थियो कान्छीआमाको डरले। आमाले अँगालोमा बेरेर ‘आइजो निदरी आइजो, छुनुमुनु छुनुमुनु आइजो, आइजो निदरी छुनुमुनु आइजो’ भनेको सम्झेपछि सायद आनन्द आएर होला, बल्ल निदाएछु, त्यो पनि मात्र बिहानीपख।

‘आशु उठ, आशु उठ’ बाबाको स्वरले निद्रा खुल्यो। बाबा ठूलोबाबाको घर धरान जाँदै हुनुहुन्थ्यो। मलाई पनि लैजाने हुनुभएकाले निकै खुसी भएँ।ठूलोबाबा, ठूलीआमा अनि हजुरआमा हुनुहुन्थ्यो। हजुरआमा मलाई देखेर एकदमै खुसी हुनुभयो। मलाई काखमा राख्नुभयो। च्वाप्प म्वाइँ खानुभयो। त्यो पनि धेरैपटक।

हामी सबै खुसी थियौँ। बाबाको माया पनि धेरै नै पाएको थिएँ, त्यो एक दुई दिन। त्यसैले पनि होला, फर्‍याङफुरुङ भएर यताउता दौडिरहन्थें। कान्छीआमालाई सम्झेर बेलाबेला मलिन हुनेबाहेक अरूबेला खुसी नै थिएँ। मेरो मलिन अनुहारको रहस्य अरूले नबुझे पनि बाबाले पनि थाहा पाइहाल्नुहुन्थ्यो। अनि च्याप्प समाएर बोकिहाल्नुहुन्थ्यो।

बाबाले एकदिन सोध्नुभयो– छोरी तिमी यहाँ खुसी छौ? मैले भनें– बाबा म एकदमै खुसी छु। अनि बाबाले भन्नुभयो– अब म जानुपर्छ। तिम्री कान्छीआमा एक्लै छिन्। म जान्छु। समयसमयमा तिमीलाई भेट्न आइरहन्छु ल।  

सोच्दै नसोचेको वज्र प्रहार भयो। एक्कासि छानाबाट खसेजस्तो भएँ। बाबा म हजुरलाई छाडेर बस्दिनँ, म पनि सँगै जान्छु भन्दै रुन थालें। बाबाको हात समाएर बिन्ती गर्न थालें। बाबा पनि रुन थाल्नुभयो। हेर आशु, तिमी त मेरी ज्ञानी छोरी हौ। मलाई अफिसको कामले चारवर्ष अमेरिका जानुपर्ने भयो। तिमीलाई काठमाडौंमा हेर्ने कोही छैन। यहाँ ठूलोबा, आमा, काका, काकी अनि हजुरआमा सबै छन्। तिमी स्कुल जान पाउँछौ। मैले भनेको मान। धेरै सोचेर तिमीलाई यता ल्याएको हो मैले। मेरो पनि बाल्यकाल यहीं बितेको हो। यहाँ रमाइलो छ। सबै छन्। सबैले माया गर्छन्।रामा्रेसँग पढ्नू। ठूलोबा, काका र हजुरआमाले भनेको मान्नू भन्नुभयो।

मचाहिँ नाइँ नाइँ, म बस्दिनँ, बाबासँगै जान्छु भनेर रोइरहें। मेरो अवस्था देखेर बाबा हजुरआमाको कोठामा छिर्नुभयो। म पनि दौडी दौडी पछि लागें। ढोका ढ्याम्म लाग्यो। त्यसपछि म चिच्याएँ। यत्तिकैमा ठूली आमाको स्वर मेरो कानमा ठोक्कियो– बच्चा जिम्मा लिने काम गाह्रो हुन्छ, हामी सक्दैनौं यो महँगाइमा। आफ्नो बच्चालाई त कसरी हुर्काउनु जस्तो भा’छ, अर्काको बच्चाको कसरी जिम्मा लिनु?

त्यसपछि हजुरआमाको बोली सुनियो– के भनेकी ठूली बुहारी तिमीले? हामी सबै छँदै छौं, हुर्किहाल्छे नि सबै दाजु/दिदीसँग। आशा पनि त्यति सानी छैन। जाऊ बरु आशालाई माया गर। तिमीहरू दुई दाजुभाइ छौ भने माइलो छोरो नभए पनि छोरी आएर बस्छे, उसको पनि त घर हो नि।

ढोकाको छिद्रबाट चियाउँदा बाबा भने हात जोडेर ठूलोबाबालाई बिन्ती गरिरहनुभएको थियो– जति खर्च लाग्छ, त्यसको डबल/चौबर पठाउँछु। मेरी छोरीलाई माया दिनुस्। उसकी आमा बितेदेखि त्यसले माया पाएकी छैन।  

ठूलाबाबा सुनिरहनुभएको थियो। त्यत्तिकैमा ठूलीआमाले थप्नुभयो– के भनेको बाबु, मान्छेको जिम्मा लिन साह्रै गाह्रो हुन्छ। एक दुईदिन भए केही कुरा थिएन। यो त सधैंका लागि हो। सकिन्न बाबु सकिन्न। त्यसपछि सानीआमा पनि ठूलीआमासँग होमा हो मिलाउन थाल्नुभयो। एकछिन सबै स्तब्ध भए।

केहीबेरको स्तब्धता तोड्दै हजुरआमाले बाबातिर हेरेर भन्नुभयो– तिमी जाऊ, नातिनी मसँग बस्छे।

बाबा भोलि काठमाडौँ जाने। उतैबाट युएस जाने। म रातभर बाबाकै काखमा सुतें। भोलिपल्ट बाबा जाने तयारी भैरहेको थियो। सबैले मलाई माया गरिरहेका थिए। बाबाले ठूलोबाबालाई के भन्नुभएछ कुन्नि, ठूली आमा पनि मलाई मेरा बाबाका अगाडि माया गरिरहनुभएको थियो– आशा भोलिदेखि स्कुल जान्छे। मेरी प्यारी छोरी पढेर ठूली मान्छे बन्छे। अनि हामी सबैलाई माया गर्छे। ल जाऊ अहिले दिदीहरूसँग खेल।

म पनि ठूलीआमाको कुरा सुनेर रमाउँदै खेल्न गएँ। बेलुका खाना खाने बेलामा काकी र ठूलीआमाले थोरै मात्र खान दिनुभयो, त्यो पनि आँखा तरीतरी। मलाई कुरैपिच्छे गाली गरिरहनुभएको थियो। सुत्ने बेलामा पलङमा दिदीहरूसँग के गएको मात्रै थिएँ, ए ए आशा ! तिमी तल सुत कार्पेटमा तन्ना बिछ्याएर भन्नुभयो। मलाई निद्रा लागिरहेको थियो। अनि बाबाको सम्झना पनि आइरहेको थियो। बाबाले मलाई सुताउँदा प्रायः ‘आइजो निदरी आइजो, आइजो छुनुमुनु छुनुमुनु आइजो...’ भन्नुहुन्थ्यो। व्यवहारमा नपाए पनि त्यही सम्झना गर्दै सुतें।  

बिहान उठ्दा हजुरआमाको काखमा पाएँ आफूलाई। म अचम्म मानेर हजुरआमाको मुखमा हेरें। मेरो हेराइ देखेर हजुरआमाले भन्नुभयो– अबदेखि मेरी नातिनी सधैं मसँग सुत्छे। म पनि अब एक्लै हुन्नँ।

मलाई हजुरआमाको भने पूरापुर साथ थियो। अर्थात् हजुरआमाकी साथी आशा अनि आशाकी साथी हजुरआमा। तर के गर्नु, हजुरआमाको पनि के नै चल्थ्यो र?

हजुरआमासँगको दोस्ती बाक्लिँदै गएको थियो। हजुरआमा मलाई एकदमै माया गर्ने तर तर ठूलीआमा भने खेदो खन्ने। मलाई अरूले माया गरेर दिएका सामानसमेत खोस्नुहुन्थ्यो। म दिन बाध्य थिएँ। रुँदै दिन्थें। त्यस्तो बेलामा बाबाले मलाई किन यसरी यहाँ छाडेको होला भनेर भक्कानिन्थें अनि आफ्नो जन्मप्रति नै धिक्कार्थें।  

हुन त घरभरि सबै थिए तर भिडमा पनि म एक्लै थिएँ। हुन पनि को होस्, टुहुरीका लागि। मलाई पिजा एकदमै मन पथ्र्याे। कसैले पिजा ल्यायो भने ठूलीआमाले सबैलाई दिनुहुन्थ्यो तर मेरो भाग भने सबै आफै खानुहुन्थ्यो। अनि मलाई भने बासी सुक्खा रोटी दिनुहुन्थ्यो। त्यो पनि यस्ता वचनसँगै– ल खा, कुन जन्मको पापले गर्दा तँलाई पाल्नुपर्‍यो। तेरा बाउआमा अमेरिकामा रमाइलो गरिरा’छन्, मलाई चाहिँ नचाहिँदो दुःख। यसरी राख्दा पनि उल्टै सासूको सधैं कचकच, दुःख दिई भनेर।  

म रोइरहेकी थिएँ। सबैले पिजा खाएको देखेर मलाई पनि एकदम खान मन लागेको थियो। तर के गर्नु? अभागी कर्म भनेर आफैलाई धिक्कार्थें।

दोष अरूलाई दिनुभन्दा पनि आज म आफैलाई धिक्कार्छु– हे भगवान्, किन मेरो जन्म भयो?, किन म टुहुरी भएँ? किन म आफ्नै बाबाका लागि घाँडो भएँ? मेरो बाबाले खर्च पठाएअनुसार म खुसी भए/नभएको, मेरो स्याहारसुसार भए/नभएको, मेरो पढाइ भए/नभएको उहाँले कसरी थाहा पाउने? यो थाहा पाउनु उहाँको कर्तव्य हैन? बच्चा जन्माएपछि जिम्मेवारी लिनुपर्दैन? प्रश्नका बाढी छन् तर के गर्नु, उत्तर कतैबाट भेटिँदैन।

हरेकपटकको रोदनपछि निष्कर्षमा पुग्छु– सायद भगवान्ले यही कारण भनेका हुनुपर्छ– ‘म सबै ठाउँमा पुग्न सक्दिनँ, त्यसैले आमा बनाएँ।’ आज मेरी पनि आमा जीवितै भएको भए? के बाल्यकालमै मेरो दिमागमा यस्ता यावत् प्रश्नले ठाउँ पाउँथे र? भन्ने बेलामा ठूलीआमा, सानीआमा, दादा, दिदी, काका, मामा उफ् कति हो कति साइनो। तर आफ्नै आमाको जति माया हुने भए आज मेरो दुर्गति किन हुन्थ्यो? वातैपिच्छे गाली किन खानुपथ्र्यो? किन पाइला पाइलामा अपहेलित हुनुपथ्र्यो? हिजोकै मात्र कुरा गरौं न, दिदीको पेन्सिल बक्स हरायो। तर ठूलीआमाले मलाई दोष लगाउनुभयो। मैले केही गल्ती नगर्दा नगर्दै पनि चोरेको स्वीकार्नुपर्‍यो। नत्र बसिटिक्न दिए पो। अब त यस्तो लाग्न थालिसक्यो कि मेरी ठूलीआमाले जे भन्नुहुन्छ, म त्यही हुँ।

कसैका अगाडि उभिन सक्दिनथें। मनका भाव पोख्न सक्दिनथें। कतै ठूलीआमाले पो हेरिरहेकी छिन् कि जस्तो लागिरहने। बेलाबेलामा अचम्म मान्थें– मानिस यतिसम्म बनावटी कुरा कसरी गर्न सक्छन् होला? ठूलाबुबा र ठूलीआमा दुवैजना बाबासँग मेरो कुरा गर्दा एकदमै राम्रो गर्ने, मेरो प्रशंसा गर्ने। अनि फकाइफुल्याइ पैसामात्र मागिरहने। कहिले त बाबासँग नै रिस उठ्थ्यो, यस्तासँग किन कुरा गरेको भनेर।

तर म भने बाबासँग कुरै गर्न पाउन्नथें। गएदेखि एकचोटि पनि मसँग कुरा भएको थिएन। बाबाको फोन आएपछि घरका सबैसँग कुरा हुन्थ्यो तर मलाई भने कसैले पनि फोन नै नदिने। उनीहरू नै बाबालाई मेरो स्वास्थ्य ठीक भएकोदेखि भलादमी छेसमेत भन्न भ्याउँथे। अनि बाबाले कुरा गर्न खोज्दा पढाइमा व्यस्त छे भनेर टारिदिन्थे। फोटो खिच्नकै लागि भए पनि एकछिन दिदीको राम्रो लुगा लगाइदिन्थे। फोटो खिचिसकेपछि एक मिनेट पनि लगाउन दिँदैनथे। उक्त फोटो बाबालाई पठाएपछि मेरो काम सकिन्थ्यो। अनि बाबा पनि खुसी। वास्तवमा मैले लगाउने लुगा च्यातिएको खुइलिएको र पुराना मात्र हुन्थे। यी सबै दृश्य मेरा लागि नाटक/चटकजस्तै लाग्थे। तर यो बुझ्ने कसले?

एकदिनको कुरा हो। ठूलीआमाको कानको झुम्का कोठाबाट हराएछ। घरमा नोकर्नीझैँ सबै काम गर्ने मै थिएँ। त्यो दिन पनि भान्सा कोठामा खाना पकाउँदै थिएँ। ठूलीआमा आएर एक्कासि मेरो कपाल समातेर घिसार्दै बैठक कोठामा लानुभयो। सबैका अगाडि उभ्याएर हप्काउन थाल्नुभयो– सानोतिनो त चोर्थी चोर्थी, केही भन्दिनथें, अब त यसलाई कसरी घरमा राख्ने? सबैले भन्नुपर्‍यो, पुलिसको जिम्मा लगाउने कि के गर्ने? अहिलेसम्म त म चुप लागेकी थिएँ कि घरको इज्जत जान्छ भनेर। अब त अति भयो।  

सबैजना एकअर्कालाई हेरिरहेका थिए म पनि चोरजस्तै कामेर उभिएकी थिएँ। मैले चोरेकी थिइनँ तर पनि मलाई चोरेकै हो जस्तो लाग्थ्यो। किनकि यस्तो बानी नै परिसकेको थियो। हातभरि निला डाम, मुखभरि कोतरेको, यताउति घिसार्दा मेरा लुगा पनि च्यातिएका थिए। ठूलीआमा बोलिरहनुभएको थियो। अरू सबै चूपचाप। म भने गल्ती नै नगरे पनि अबदेखि यस्तो गर्दिनँ भनेर दुवै हात जोडी याचना गरिरहेकी थिएँ। जबकि म आफैलाई थाहा थिएन कि मैले के गरेकी थिएँ र आइन्दा गर्दिनँ भनेर कसम खाइरहेकी थिएँ। खाली झुटो लाञ्छना र पिटाइबाट बच्न मैले नगरेको गल्ती पनि स्वीकारिरहेकी थिएँ।  

त्यत्तिकैमा दिदी कलेजबाट साथीको घरको पार्टी अटेन्ड गरेर फर्किनुभयो। घरको त्यस्तो अवस्था देखेर छक्क पर्दै के भएको भनेर सोध्नुभयो। यो बहिनीको अवस्था किन यस्तो भनेर जिज्ञासा राख्नुभयो। सबै अवस्था बुझेपछि भन्नुभयो– ए साँच्ची, आमा हजुरको झुम्का मैले लगाएर गएकी थिएँ। जाने बेलामा हजुरलाई दिन खोजेको, हजुर बाथरुममा हुनुहुँदोरहेछ, मलाई कलेज जान ढिलो भैसकेको थियो, त्यसैले म दौडिहालें।

सबै स्तब्ध।  

म भने दौडिँदै छिमेकी साथीकोमा गएँ, जसले सधैँ मेरो घाउमा औषधि लगाइदिन्थी। मलाई तातो दुध पिउन दिन्थी। मलाई दुःख पर्दा सधैँ माया गर्थी। ऊ मेरा लागि सधैँ सबैथोक थिई। हामी दुवैजना कक्षा १० मा पढ्थ्यौं। मेरो यस्तो अवस्था देखेर आँखाभरि आँसु पारेर सोधी– के भयो आज फेरि? मैले बिहानदेखिका सबै घटना बताएँ। अनि भनें– कृतिका मलाई बाँच्न एकदमै गाह्रो भयो? म कसरी अगाडि बढूँ?

भन्दै थिएँ, एउटा केटामान्छे टुप्लुक्क अगाडि आइपुग्यो ‘हेलो आशा’ भन्दै। म झसङ्ग भएँ। आफ्नो च्यातिएको लुगाबाट देखिएका अङ्गहरू छोप्न प्रयास गरें।  

त्यत्तिकैमा कृतिकाले भनी– आशी, चिनिनस् मेरो दादा किरण। भर्खरै एरोनटिकल इन्जिनियर सिध्याएर आएको। अब हामी सबै सँगै हुन्छौं।

किरण, जसले हामी दुवैको कुरा सुनिरहेको थियो, भन्न थाल्यो– आशा कृतिका दुवै आऊ बाहिर बगैँचामा बसौं र सँगै चिया पिउँ। अनि हामी सबै सँगै चिया पिउन थाल्यौं। किरणले यति रमाइलो कुरा गर्‍यो कि हामी सबै पेट मिँचिमिँची हाँस्न थाल्यौं। समय बितेको पत्तै भएन। मलाई त्यो घर जानै मन थिएन। कति रमाइलो गरी समय बितेको। कति मिठामिठा कुरा गरेको। किरणले जम्मा दुई घण्टा बस्दा पनि यति धेरै खुसी बाँड्यो कि यही खुसीमा मेरो जीवन बितिरहेकोजस्तो महसुस भइरहेको थियो। त्यसैले होला क्षणिक खुसी खोज्नका लागि मानिसले कति धेरै त्याग र तपस्या गर्छन्। त्यसैले त होला मानिसले क्षणिक खुसीपछि धेरै ऊर्जा लिएर आफ्नो जीवनलाई सहज ढङ्गले अगाडि बढाएका। घर जानुपर्ने कुराले मलाई डर लागिरहेको थियो तर जस्तोसुकै दु.खमा पनि अगाडि बढ्छु भन्ने एउटा दृढ विश्वास बनिसकेको थियो किरणको ढाडसबाट।

म गएपछि किरणले बैनीलाई सोधेछ– कृतिका आशाको परिवार कति निर्दयी हगि। विचरीलाई कति धेरै दुःख। उसको त्यो अवस्था देखेर मलाई सहनै गाह्रो भयो। जिउभरि निलडाम, कपाल भुत्ल्याएको, लुगा च्यातिएको। उफ् भन्न पनि कति गाह्रो। कामेको अनि डराएको अनुहार। त्यतिखेर मलाई लागिरहेको थियो कि गएर सबैलाई पिटिदिऊँ।

कृतिकाले जवाफ दिएकी थिई– हैन दादा, त्यस्तो नभनिस्यो। नत्र त तिनीहरू र हामीमा के फरक भयो र? हजुरले त आज थाहा पाइस्यो, मैले त उसलाई त्यो अवस्थामा सधैं देख्छु। मलाई कस्तो भएको होला? आफ्नो मिल्ने साथीको त्यो अवस्था देख्दा। राम्री छ, तीक्ष्ण बुद्धि छ, यो सबै उसका लागि श्राप सावित भएको छ। यी सबै देखेर उसका सानीआमा र ठूलीआमाले उसलाई यो अवस्थामा पुर्‍याएका हुन्। जति दब्बु बनाए पनि कक्षामा ऊ नै तेज छे, जति फाटेको थोत्रो फुस्रो लुगा लगाए पनि स्कुलभरमै सबैभन्दा राम्री अनि मिलनसार सबैकी साथी, सबैकी प्यारी उही छे।

‘तिमी कता गएको आशा, मेरी प्यारी नातिनी, दिउँसभर तिमीलाई यो मनले आँखाले खोजिरहेथ्यो। म माफी चाहन्छु आशा, हजुरआमा भएर पनि तिमीलाई न्याय दिन सकिनँ।’ आशा खुसी थिई। उसले सबै दुःख बिर्सिएकी थिई। त्यसैले भनी– हजुरआमा विगतमा जे भयो भयो, सबै बिर्सिस्यो। म हजुरकी नातिनी, हजुर मेरी प्यारी हजुरआमा।  

दिन बित्दै गइरहेका थिए। कहिलेकाहीं कृतिका र किरणसँग भेट हुन्थ्यो। किरणले मलाई धेरै कुरा सिकाउँथ्यो जीवनलाई खुसीसाथ कसरी अगाडि बढाउने भन्नेबारे। ममा आएको परिवर्तन अनि खुसी मेरा ‘आमा’ हरूलाई पचाउन गाह्रो भइरहेको थियो तर मलाई भने यसप्रति कुनै मतलब नै थिएन। म सोच्दै गइरहेकी थिएँ– भोलि मलाई किरणले एक्लै कफी पिउने निम्तो दिएको थियो। म जान्छु, जसरी पनि जान्छु किनकि ममा आएको नयाँ मोडका लागि उसलाई एक थान धन्यवाद पनि त दिनु छ।

प्रकाशित: ८ आश्विन २०७९ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App