१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कूटनीतिका धरोहर यदुनाथ खनाल

जब देशका प्रशासक अनि कूटनीतिज्ञले राज्यको प्रशासनिक संयन्त्र सञ्चालन एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित दृष्टि राख्दैनन्, त्यतिबेला सधैं यदुनाथ खनालको विद्वता, सन्तुलित कूटनीति अनि परिपक्व व्यक्तित्व स्मरणमा आउँछ। त्रिचन्द्र कलेजका प्राध्यापक, प्रधानमन्त्री एवम् गृह तथा परराष्ट्र मन्त्रालयका सचिव, लोकसेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्यलगायतका शैक्षिक–प्रशासनिक कार्यभार सम्हालेका खनाल भारत, अमेरिका र चीन तीनै देशका राजदूत भएर सन्तुलित कूटनीति प्रवाह गर्ने कूटनीतिज्ञ हुन्।  

कुनै पनि मानिसको व्यक्तित्व स्वयम्ले भोगेको र अन्तर्विकास गर्दै गएको जीवन र त्यसका क्रियाप्रतिक्रियासँग सम्बन्धित हुन्छ। साथै व्यक्तित्व निर्माणमा उसको पारिवारिक पृष्ठभूमि, सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश, शिक्षादीक्षा, व्यक्तिस्वयम्को चिन्तन–दर्शन तथा दृष्टिकोणले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ।  

‘गहुँगोरो वर्ण, थोरै बाटुलो तर लाम्चिलो अनुहार, अलि ठूलो–चौडा निधार, पूरै फुलेको तथा तालु खुइलिएको कपाल, सुलुक्क परेर केही उठेको नाक, पुष्ट गाला, ठूलाठूला झोलिएका आँखा, मध्य उचाइ, समग्रमा आकर्षक अनि शान्तसौम्य रूपाकृति’ यो यदुनाथको वृद्धावस्थाको उत्तराद्र्ध समयावधिमा झ्वाट्ट हेर्दा देखिने बाह्य स्वरूप हो। विस्तारै सारगर्भित कुरा गर्ने अनि असल साथीहरूको समीपमा रहेर काम गर्न रुचाउने खनालले फुर्सदिलो समय अध्ययन तथा चिन्तनमननमै बिताउने गर्थे। नैतिक, बौद्धिक तथा आदर्शवान् व्यक्तित्वका रूपमा परिचित खनालले नेपाललाई विदेशमा चिनाउन अनि नेपालको वैदेशिक सम्बन्ध सुधार्नमा महत्वपूर्ण कार्य गरे।

देशी तथा विदेशी विभिन्न परिवेशमा लामो समयसम्म उत्तरदायित्वपूर्ण जीवन बिताएका यदुनाथ खनालको आन्तरिक व्यक्तित्व प्राध्यापक, लेखक, प्रशासक, कूटनीतिक तथा सामाजिक क्षेत्रका परिधिमा विस्तारित रहेको छ।

प्राध्यापक व्यक्तित्व  

पटकपटक राज्यको विशिष्ट ओहोदामा पुगेर ठूलाठूला जिम्मेवारी सम्हालेका यदुनाथ खनाल त्रिचन्द्र कलेजमा अस्थायी प्राध्यापक भएर सरकारी सेवामा प्रवेश गरेका हुन्। यसप्रकार यदुनाथको प्राध्यापक व्यक्तित्व पेशागत रूपमा सार्वजनिक पहिलो व्यक्तित्व बनेर रहेको छ। १९९१ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्नका लागि निरन्तररूपमा छात्रवृत्ति पाउँदै आएका यदुनाथ खनालले १९९९ सालमा अङ्ग्रेजी साहित्यमा एमए जाँच दिएर स्वदेश फर्केपछि त्रिचन्द्र कलेजमा प्राध्यापन प्रारम्भ गरेका हुन्। एक वर्षपछि आइएस्सीका छात्रहरूको सङ्ख्या बाह्रबाट चौबीस बनाउने योजनाअन्तर्गत विज्ञानका केही नयाँ प्रोफेसरहरू स्थायी नियुक्त भए, तर आफूलाई स्थायी पनि नबनाएको र तलब पनि नबढाएकामा यदुनाथलाई चित्त बुझेन र उनले राजीनामा दिए। यसरी जागिर छोडेर बसेकै बेला मृगेन्द्र शमशेरले आफ्नो दरबारमा त्रिचन्द्र कलेजका जत्ति नै तलब दिएर यदुनाथलाई पढाउन बोलाए। यसैबीच बिदामा बसेका भारतीय प्रोफेसरहरू नफर्केकाले एक भारतीय प्रोफेसर लुम्बाको खाली पदमा यदुनाथले त्रिचन्द्र कलेजमा स्थायी नियुक्ति पाए। यदुनाथ ‘खनाल’ वंशावलीमा पढ्न फाप्दैन भन्ने अन्धविश्वासी समाजमा हुर्केका थिए। यसका विपरीत पाँचछ दिनको पैदलबाटो हिँडेर काठमाडौँ आई संस्कृत पढ्न थालेका यदुनाथले पछि विज्ञान र  अङ्ग्रेजी पढेर त्रिचन्द्र कलेजका स्थायी प्रोफेसर भएका थिए।

यदुनाथले त्रिचन्द्र कलेजमा प्राध्यापकका रूपमा नियुक्ति पाएपछिको शैक्षणिक अनुभव एवम् आवश्यकताका आधारमा नै नेपाली समालोचनाको पहिलो सैद्धान्तिक कृति ‘समालोचनाको सिद्धान्त’ (२००३) प्रकाशनमा ल्याएका थिए। ‘समालोचनाको सिद्धान्त’ पूर्वीय तथा पाश्चात्य दुवै समीक्षा प्रणालीको गहन अध्ययन गरेर सन्तुलित रूपमा नेपाली समालोचनाको सिद्धान्त स्थापना गरिएको पहिलो आधिकारिक कृति हो। यो संस्कृत र अङ्ग्रेजीका समानविद्वान् लेखकद्वारा दुवैतिरका समालोचनाका सिद्धान्तको सार झिकेर तथा नेपाली साहित्यको गहन अध्ययन गरेर तयार पारिएको महत्वपूर्ण सैद्धान्तिक कृति हो।

२०१२ साल माघ १३ गते टङ्कप्रसाद आचार्य राजा महेन्द्रबाट प्रधानमन्त्री नियुक्त भएपछि त्रिचन्द्र कलेजमा पढाइरहेका यदुनाथलाई प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा लगियो। यसपछि केही वर्षसम्म प्रशासनिक अनुभव बटुली यदुनाथले विश्वेश्वरप्रसाद कोइरालाको सरकार गठन भएपछि पुनः त्रिचन्द्र कलेजका प्रोफेसरकै रूपमा कार्य गर्न थाले। त्यस्तै २०२८ सालमा हार्वर्ड विश्वविद्यालयमा फेलो भई फर्केपछि केही समय त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन केन्द्रमा आगन्तुक प्राध्यापकका रूपमा रहेर प्राध्यापन गरे।

यदुनाथ खनालले पढाएका सयौँ चेलाहरू नेपालका विभिन्न उच्च पदमा पुगिसकेका परिप्रेक्ष्यमा उनी गुरु प्राध्यापक सिद्ध भएका छन्। उनका असङ्ख्य चेलाहरूमध्ये प्रधानमन्त्री हुनेमा सूर्यबहादुर थापा र कीर्तिनिधि विष्ट, राष्ट्रिय सभाका अध्यक्ष हुनेमा बेनीबहादुर कार्की, मन्त्री हुनेहरूमा राजेश्वर देवकोटा, ऋषिकेश शाह, डा. यादवकान्त पन्त, डा. हर्षबहादुर गुरुङ, डा. देवेन्द्रराज पाण्डे, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. मोहम्मद मोहसिन, प्रा. ऐश्वर्यलाल प्रधानाङ्ग, डा. मथुराप्रसाद श्रेष्ठ, डा. केशरजङ्ग रायमाझी, अच्युतराज रेग्मी, फत्तेसिंह थारु, नारायणदत्त भट्ट, भुवनलाल प्रधान आदि रहेका छन्। मुख्य सचिव वा सोसरह र सचिवस्तरका प्रशासकीय उच्च ओहोदामा पुग्ने व्यक्तिहरूमा हंसमान सिंह, लोकदर्शन बज्राचार्य, ईश्वरीमान श्रेष्ठ, रेणुलाल सिंह, मनमोहनलाल सिंह, कर्णध्वज अधिकारी, जसकान्त अधिकारी, गोरक्षबहादुर न्हुच्छे प्रधान, लोकबहादुर श्रेष्ठ, डा. ठाकुरनाथ पन्त, वीरेन्द्र खुँजेली, जितबहादुर मानन्धर, रामबहादुर केसी, कृष्णबहादुर मानन्धर, कृष्णबहादुर देउजा, नन्दलाल जोशी, फणीन्द्रराज हमाल, रञ्जनराज खनाल, शारदाप्रसाद उपाध्याय, मङ्गलकृष्ण श्रेष्ठ, सूर्यनाथ सुवेदी, डा. शशिनारायण शाह, जीवनलाल अमात्य, विष्णुगोपाल रिमाल, जितेन्द्रलाल मास्के आदि रहेका छन्। परराष्ट्र सचिव हुनेहरूमा नरप्रताप शमशेर थापा, विश्व प्रधान, यादवकान्त सिलवाल र केदारभक्त श्रेष्ठ पर्दछन् भने नेपाल राष्ट्र बैंकका गभर्नर पदमा पुग्ने प्रा. खनालका विद्यार्थीहरूमा हिमालय शमशेर राणा र कल्याणविक्रम अधिकारी रहेका छन्। प्रा. खनालका विद्यार्थीहरूमध्ये सुन्दरप्रसाद शाह, विष्णुप्रताप शाह र अच्युतनारायण राजभण्डारी प्रमुख निर्वाचन आयुक्त भए।

प्रा. खनालका प्राध्यापक हुने विद्यार्थीहरूमा डा. बलराम जोशी, खड्गभक्त सिंह, डा. तुलसीराम बैद्य, डा. प्रयागराज शर्मा, डा. मोहनप्रसाद लोहनी, डा. ध्रुवमान अमात्य, डा. शिवप्रसाद धौमडेल, सुरेन्द्रसिंह केसी, शिवगोपाल रिसाल, डा. मधुसूदन शर्मा, कृष्णबहादुर मानन्धर, डा. उत्तमलाल राजभण्डारी, डा. भवानीशङ्कर राजवंशी, डा. प्रचण्ड प्रधान आदि रहेका छन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्य हुनेमा डा. रत्नशमशेर राणा, डा. चन्द्रबहादुर श्रेष्ठ र उपेन्द्रमान  मल्ल पर्दछन्।

विद्वान् लेखक र साहित्यकारहरू डा. ईश्वर बराल, महेशचन्द्र रेग्मी, कमलमणि दीक्षित, सत्यमोहन जोशी, जनकलाल शर्मा, जगदीशशमशेर राणा, माधवलाल कर्माचार्य, डोरबहादुर विष्ट, नीरविक्रम प्यासी, चित्तरञ्जन नेपाली आदिले पनि प्रा. खनालसँगै पढेका हुन्। त्यस्तै प्रा. खनालका दर्जनौँ विद्यार्थीहरू वरिष्ट राजनीतिज्ञ, उच्च सैनिक तथा प्रहरी अधिकृतलगायतका थुप्रै पदहरूमा पुगिसकेका छन् (स्रोत ः मदनकुमार भट्टराई, ‘बहुआयमिक व्यक्तित्व यदुनाथ खनाल’, गरिमा, वर्ष २३, अङ्क १०, २०६२, असोज)। तिनीहरू सबैको नाम उल्लेख गर्न असम्भव रहेकाले यहाँ उपर्युल्लिखित व्यक्तिहरूको नाममात्र उल्लेख गरिएको छ।

उपर्युक्त तथ्यका आधारमा यदुनाथ खनालको प्राध्यापक व्यक्तित्वको अध्ययन गरिनु समुचित ठहर्छ।

लेखक व्यक्तित्व

यदुनाथ खनाल नेपाली, संस्कृत र अङ्ग्रेजी भाषामा गहिरो ज्ञान भएका र तीनै भाषामा कलम चलाउन सक्ने लेखक हुन्। उनको लेखनको धार संस्कृत र नेपाली भाषाका सिर्जनामा साहित्यसापेक्ष बनेर देखापरेको छ भने अङ्ग्रेजी भाषामा लेखिएका लेखहरूमा साहित्यनिरपेक्ष बनेर प्रस्तुत भएको छ। यसप्रकार यदुनाथ खनालको लेखनलाई साहित्यसापेक्ष र साहित्यनिरपेक्ष गरी दुई भागमा विभाजन गर्न सकिन्छ।  

अ) साहित्यसापेक्ष लेखन

यदुनाथ खनाल साहित्य फाँटमा निबन्ध, समालोचना र कविताका क्षेत्रमा परिचित व्यक्तित्व हुन्। साहित्यका क्षेत्रमा उनका नेपाली र संस्कृतमा समालोचनाको सिद्धान्त (२००३), सूक्तिसञ्चय (२०३२), साहित्यिक चर्चा (२०३४) र नेपाली भामिनीविलास (२०५५) गरी चार पुस्तकाकार कृति प्रकाशित छन् भने केही आत्मपरक निबन्धहरू एवम् समीक्षात्मक लेखहरू विभिन्न पत्रपत्रिका एवम् पुस्तकहरूमा फुटकर रूपमा छरिएर रहेका छन्।

अठार वर्षको उमेरमा हिँडिरहेका बेला यदुनाथले रानीपोखरी शीर्षकको निबन्ध लेखी सर्वप्रथम आफूलाई साहित्यिक फाँटमा सार्वजनिक गरेका हुन्। दरबार हाईस्कुलमा कक्षा आठमा पढ्दाको अवधि (१९८८) मा लेखेको ‘रानीपोखरी’ विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ट भएको निबन्ध हो। त्यसपछि यदुनाथ खनालको निबन्धलेखन कछुवागतिमा अगाडि बढेको पाइन्छ। यदुनाथका निबन्धहरूको सँगालो स्वरूपको पुस्तकाकार कृति हालसम्म प्रकाशनमा आएको छैन, यद्यपि रानीपोखरी, पृथ्वी, समुद्र र आकाश, बाटो बिलायो, नारी जीवन, ऐतिहासिक दृष्टिकोण, कठोरता, स्वावलम्बन एक अनुभवलगायतका फुटकर निबन्धहरू प्राप्त छन् र यिनै निबन्धहरूले यदुनाथलाई थोरै तर सशक्त निबन्ध लेख्ने निबन्धकारका रूपमा स्थापित गरेका छन्।  

नेपाली समालोचनालाई शास्त्रीय तथा प्रायोगिक आधार प्रदान गरी आधुनिकताको परिपक्व अवस्थामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने यदुनाथ खनाल नेपाली समालोचनाको इतिहासमै पहिलो सैद्धान्तिक समालोचकका रूपमा स्थापित छन्। समालोचनाका क्षेत्रमा उनका समालोचनाको सिद्धान्त (२००३) र साहित्यिक चर्चा (२०३४) गरी दुई पुस्तकाकार कृति प्रकाशित छन्। समालोचनाको सिद्धान्त पूर्वीय र पाश्चात्य सौन्दर्य चिन्तनका आधारमा समालोचनाको सिद्धान्त निरूपण गरी नेपालीमा तयार पारिएको नेपाली समालोचनाको पहिलो सैद्धान्तिक कृति हो भने साहित्यिक चर्चा समालोचनाको सिद्धान्तको प्रकाशनपश्चात् विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा प्रकाशित प्रायोगिक समीक्षाहरूको सँगालो हो।

कविताका क्षेत्रमा यदुनाथ खनालका दुई पुस्तकाकार कृतिहरू सूक्तिसञ्चय (२०३२) र नेपाली भामिनीविलास (२०५५) प्रकाशित छन्। सूक्तिसञ्चय केही मौलिक र केही विविध अन्य भाषाहरूबाट संस्कृतमा अनुवाद गरिएका कविताहरूको सङ्ग्रह हो भने नेपाली भामिनीविलास पण्डितराज जगन्नाथको संस्कृत भामिनीविलासको उही छन्द र उत्तिनै श्लोकमा नेपालीमा गरिएको अनुवादात्मक कृति हो। नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, बङ्गाली, फ्रेन्च आदि भाषाका जानकार यदुनाथले आफ्नो अनुवाद क्षमता संस्कृत महाकाव्यकार माघको प्रभातवर्णन महाकाव्यको एघारौँ सर्गको नेपालीमा अनुवाद गरेरसमेत देखाएका छन्।

निबन्धबाट साहित्यिक फाँटमा प्रवेश गरेका यदुनाथ खनालले साहित्यिक क्षेत्रमा निबन्धकार, समालोचक, कवि तथा अनुवादकका रूपमा राम्रो परिचय बनाएका छन्। उपर्युक्त सबै विधामा परिपक्व कलम चलाए तापनि उनले सर्वाधिक उँचो स्थान समालोचनामा प्राप्त गरेका छन्।

आ) साहित्यनिरपेक्ष लेखन

यदुनाथ खनालले आफू विभिन्न प्रशासनिक एवम् कूटनीतिक पदहरूमा रहेका बेला यिनै क्षेत्रसँग सम्बन्धित नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न लेखहरू लेखेका छन्। यदुनाथका अङ्ग्रेजी भाषामा लेखिएका साहित्यनिरपेक्ष कृतिहरूमा ‘नेपालस् रिलेसन्स् विद इन्डिया एण्ड चायना’, ‘रिफ्लेक्सन्स् अन नेपाल–इन्डिया रिलेसन्स्’, ‘स्ट्रे थट्स’, ‘नेपाल: ट्रान्जिसन फ्रम आइसोलेसनिज्म्’, ‘एस्सेन इन नेपालस् फरेन अफयर्स्’, ‘नेपालस् नन्–आइसोलेसनिष्ट फरेन पोलिसी’ रहेका छन्।

यदुनाथको एउटा महत्वपूर्ण विशेषता हो— आफू जुनसुकै पदमा जहाँसुकै रहे पनि सोका बारेमा आफ्नो स्पष्ट धारणा लेखमार्फत् प्रकट गर्नु। यदुनाथका यस प्रवृत्तिका अनेकौँ लेखहरू रहेका छन्। तीमध्ये केही प्रमुख लेखहरू हुन्— ‘म कसरी राजदूत भएँ’ (भारतका लागि राजदूत नियुक्त भएपछिको संस्मरण), ‘नेपालका लागि, एक विश्वविद्यालय’ (ओरेगन विश्वविद्यालयबाट फर्केपछि), ‘नेपालमा प्राज्ञिक स्वतन्त्रताको समस्या’ (त्रिविको स्थापना हुनुअघि), ‘संयुक्तराज्य अमेरिका र एरिया ः एक सानो राज्यको दृष्टिकोण’ (हार्वड विश्वविद्यालयमा फलो हुँदा), ‘अमेरिकी परराष्ट्र नीतिमा नयाँ दिशा नेपाललाई त्यसका सम्भावित निहितार्थहरू’ (अमेरिकाको राजदूत पदबाट मुक्र भई फर्केपछि), ‘लोकसेवा आयोगका बारेमा केही मादृच्छिक विचारहरू’ (लोकसेवा आयोगको सदस्यमा बहाल रहँदा) आदि। यदुनाथ खनाल अङ्ग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै विद्वान्हरूमा अग्रपङ्क्तिमा पर्दछन्। उपर्युक्त पुस्तकाकार कृतिहरू एवम् फुटकर लेखहरूले यदुनाथको सफल गैरसाहित्यिक लेखनतर्फको छविलाई प्रष्ट्याएका छन्।

प्रशासक व्यक्तित्व

यदुनाथ खनालका अन्य व्यक्तित्वहरू जस्तै प्रशासक व्यक्तित्व पनि अत्यधिक महत्वपूर्ण रहेको छ। २०१२ साल माघ १३ गते टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री सचिवालयका प्रमुख स्वकीय सचिवका रूपमा प्रशासनिक कार्यको प्रारम्भ गरेका यदुनाथ खनालले गृह तथा परराष्ट्र मन्त्रालयका सचिव, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य, लोकसेवा आयोगका अध्यक्षजस्ता उच्च प्रशासनिक पदमा बसेर सफलतापूर्वक कार्यभार सम्पादन गरेका छन्।

प्रधानमन्त्रीका स्वकीय सचिवमा नियुक्ति नै यदुनाथ खनालको प्रशासक व्यक्तित्वको प्रारम्भ बिन्दु हो। एकैचोटि प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा प्रशासनिक कार्य थाल्नु सर्वसहज कार्य तथा सानो उपलब्धी होइन। यस अवधिपूर्व नै यदुनाथले त्रिचन्द्र कलेजका प्राध्यापक एवम् बौद्धिक व्यक्तित्वका रूपमा आफ्नो परिचय बनाइसकेका थिए अनि २०१२ साल वैशाख ५ गतेदेखि ११ गतेसम्म बाङ्दुङमा सम्पन्न पहिलो ऐतिहासिक अफ्रो–एसियाली सम्मेलनमा सदस्यसचिवको कार्यभार सम्हालिसकेका थिए। यस्ता महत्वपूर्ण कार्यभार सम्हालिसकेका यदुनाथ राजा, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरूका नजरमा विश्वासिला पात्र बनेकै कारण उनी एकैचोटि प्रशासकको उच्च तहमा नियुक्त भएका हुन्। आफूले प्रधानमन्त्रालयका अलावा गृह र राज्य व्यवस्था मन्त्रालयको समेत कार्यभार सम्हालेका टङ्कप्रसाद आचार्यले केही महिनापछि यदुनाथलाई गृहसचिवमा सरुवा गरे। यदुनाथलाई यो सरुवा त्यति ठूलो परिवर्तन थिएन, प्रधानमन्त्री स्वयम् नै गृहमन्त्री पनि थिए। यसैबेला प्रशासनिक क्षेत्रको संस्थागत रूपमै सुधार गर्ने उद्देश्यले प्रशासकीय पुनर्गठन योजना आयोग (२०१३) बन्यो। यस आयोगले पहिलोपटक नेपालको राष्ट्रिय आवश्यकतानुसारको प्रशासनयन्त्र सिर्जना गर्न प्रयास गरेको पाइन्छ। यस आयोगमा समेत रहेर यदुनाथले काम गरे। यसै आयोगले निजामती सेवा ऐन (२०१३) तयार पारेको थियो।

प्रशासनभन्दा शिक्षा क्षेत्र बढी पवित्र एवम् सन्तुष्टिमूलक मानेका यदुनाथले प्रशासनमा काम गर्दै जाँदा त्यहाँ हुने रकमीतन्त्र र अनावश्यक गोपनीयता मन नपरेपछि पुनः शिक्षा क्षेत्रमा नै फर्कने बाटो खोजिरहेका थिए। अनि संयोग पनि त्यस्तै पर्‍यो। २०१० सालमै राष्ट्रिय शिक्षा योजना आयोगको गठन भइसकेको र त्यस आयोगमा यदुनाथ त्रिचन्द्र कलेजका प्राध्यापकका हैसियतले सदस्य बनेका थिए। यसै क्रममा नेपालमा शिक्षा विकासका लागि अमेरिकी सरकारले सहयोग गर्ने भएको थियो र त्यसबारे दुई देशका सरकारहरूबीच सम्झौता पनि भयो। यसरी नेपालमा विश्वविद्यालय खोल्ने परियोजना अन्तर्गत अमेरिकी सरकारको सहयोगमा ओरेगन विश्वविद्यालयमा तालिम लिन यदुनाथ जाने भए (स्रोत ः जयराज आचार्य, ‘यदुनाथ खनाल जीवन र विचार’)। ओरेगनबाट शैक्षिक तालिम लिई फर्कंदा यहाँ डा. केआई सिंह प्रधानमन्त्री थिए भने शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए। डा. सिंहको नेतृत्वको सरकार एकसय दस दिनमा विघटन भएपछि यदुनाथ राजा महेन्द्रबाट योजनामण्डलका सदस्यमा मनोनित भए।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व–कालमा पनि अनेक ढङ्गबाट प्रशासनिक काम गरेका एवम् पटकपटक विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका जिम्मेवार सदस्यका रूपमा भाग लिएका यदुनाथ खनाल २०१७ साल पुस १ गतेको शाही घोषणापश्चात् परराष्ट्रसचिव नियुक्त भए।

पहिला तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका स्वकीय सचिव अनि गृहसचिव बनेका यदुनाथलाई प्रस्तावित विश्वविद्यालयका प्रथम उपकुलपति बनाउन भनी अमेरिकाको ओरेगन विश्वविद्यालयमा पढ्न पठाइएको थियो। तर परिस्थितिले कालान्तरमा उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति होइन, सेवा आयोगका सदस्य (२०२९) बनायो।

यदुनाथ खनाल बैसट्ठी वर्षको उमेरमा हिँडिरहेका बेला राजा वीरेन्द्रबाट लोकसेवा आयोगका अध्यक्ष पदमा नियुक्त (२०३२, मङ्सिर २२) भए। लोकसेवा आयोगका बारेमा उनले ‘लोकसेवा आयोगका केही यादृच्छिक विचारहरू’ शीर्षकको लेख लेखेर आफ्ना विचारहरू व्यक्त गरेका छन्।

यदुनाथ खनाललाई प्रशासनिक क्षेत्रमा निष्पक्ष र निरपेक्ष व्यक्तिका रूपमा लिने गरिन्छ। नेपालका थोरै प्रशासनविद्हरूमध्ये यदुनाथको नाम अग्रस्थानमा आउँछ। आफ्नो कर्तव्य र दायित्व पूरा गर्ने क्रममा यदुनाथले सार्वजनिक आलोचना कहीँ कसैबाट पनि सुन्नुपरेन। जीवनमा उच्च पदको जिम्मेवारी बहन गर्ने क्रममा कतिपय नियुक्ति त उनले रेडियोको समाचार सुनेपछि मात्र थाहा पाए। समग्रमा यदुनाथ नेपाली प्रशासन फाँटका अग्रज तथा आदर्श व्यक्तित्व हुन्।  

कूटनीतिक व्यक्तित्व

यदुनाथ खनाल नेपाललाई विदेशमा चिनाउन अनि लामो समयसम्म नेपालको वैदेशिक सम्बन्ध सुधार्नमा महत्वपूर्ण कार्य गरेका व्यक्ति हुन्। प्रधानमन्त्रीका स्वकीय सचिव, गृह तथा परराष्ट्र मन्त्रालयका सचिव, राजसभाका सदस्य, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य एवम् लोकसेवा आयोगको अध्यक्षसमेत भइसकेका यदुनाथ खनाल भारत, चीन र अमेरिका तीनै देशमा राजदूत हुने हालसम्मका एक्ला व्यक्ति हुन्। मूलतः २००७ सालको राजनीतिक परिवर्तनपश्चात् नेपाललाई बाहिरी संसारसँग परिचित गराएर एउटा स्वाधीन राष्ट्रको रूपमा स्थापित गराउन जेजति कूटनीतिक पहलहरू भए, त्यसमा यदुनाथ खनालको योगदान अविस्मरणीय रहेको पाइन्छ।

यदुनाथ खनालको कूटनीतिक जीवनको सुरुवात अफ्रो–एसिया देशहरूको बाङ्दुङ शिखर सम्मेलनबाट भएको हो। २०१२ सालको सुरुमा भएको त्यो सम्मेलन नेपालको परराष्ट्र नीतिको व्याख्या गर्ने प्रजातन्त्र आएपश्चात्को पहिलो सबैभन्दा महत्वपूर्ण सम्मेलन थियो। यस सम्मेलनमा नेपालका तर्फबाट व्यक्त भाषण यदुनाथले नै लेखेका हुन्। यसरी आधुनिक शब्दावलीमा नेपालको परराष्ट्रनीतिलाई व्याख्या गर्ने प्रथम पथिकृत् (बाटो खन्ने) विद्वान् उनै थिए (स्रोत ः जयराज आचार्य, ‘यदुनाथ खनाल जीवन र विचार’)। यो सम्मेलनलाई असंलग्न आन्दोलनको प्रणेता मानिन्छ। बाङ्दुङ सम्मेलनको तीसौँ वर्षगाँठ मनाउन बाङ्दुङमा सन् १९८५ मा भएको मन्त्रीस्तरीय सम्मेलनमा प्रा. खनालले परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरको सल्लाहकारका रूपमा पनि भाग लिएका थिए।

नेपालका दुई शक्तिशाली आवरण भारत र चीनबीच सीमायुद्ध चर्की दुई ढुङ्गाबीचको तरुल सरहको नेपाल झन् अफ्ठ्यारोमा परिरहेका बेला गम्भीर परिस्थितिलाई दृष्टिगत गरी यदुनाथ खनाल २०१९ सालको असोजमा भारतका लागि नेपाली राजदूत नियुक्त भए। दुवैपटक परराष्ट्र सचिव हुने अवधिको बीचमा रहेको उनको चारवर्षको नयाँ दिल्ली बसाइ नेपालको सन् १९६० को राजनैतिक परिवर्तनको उत्तराद्र्ध, सन् १९६२ को भारत, चीन सीमाविवाद, भारतमा पण्डित जवाहरलाल नेहरू, लालबहादुर शास्त्री र श्रीमती इन्दिरा गान्धीजस्ता तीन ठोस व्यक्तित्वको प्रधानमन्त्रीत्वकाल तथा नेपाल र भारतबीच प्रचुरमात्रामा भएको उच्चस्तरीय र मन्त्रीस्तरीय भ्रमणको आदानप्रदानका कारणले पनि निकै अर्थपूर्ण रह्यो (स्रोत ः दिलीप ढकाल, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’)। डा. तुलसी गिरी परराष्ट्रमन्त्री हुँदा नयाँदिल्ली पठाइएका यदुनाथ राजदूतका रूपमा आफ्नो विशिष्ट मूल्याङ्कन भारतमै भएको अनुभव गर्दथे। यदुनाथले ‘म कसरी राजदूत भए“’ शीर्षकको आत्मकथात्मक संस्मरण लेखी आफू भारतका लागि राजदूत हुँदाका अनुभूतिको सविस्तार वर्णन गरेका छन्।

संयुक्तराज्य अमेरिकाको उच्चतम् मानिने हार्वर्ड विश्वविद्यालयमा फेलो भई अमेरिकी परराष्ट्रनीतिको गहन अध्ययन गरी फर्केको एक वर्षपछि २०३० सालको सुरुमै राजा वीरेन्द्रबाट यदुनाथ संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त भए। यदुनाथ खनालको ओहदाको प्रमाणपत्र स्वीकार गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले भनेछन्, ‘तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति श्री ५ बाट यस देशको राजदूत नियुक्त हुनुभएकोमा संयुक्तराज्य अमेरिका नै सम्मानित भएको छ।’ (स्रोत: जयराज आचार्य, ‘यदुनाथ खनाल जीवन र विचार’)  

संयुक्तराज्य अमेरिकामा राजदूत भई रहँदाका अनुभूति एवम् अमेरिकी परराष्ट्र नीतिलाई यदुनाथले अमेरिकी परराष्ट्रनीतिमा नया“ दिशा : नेपाललाई त्यसका सम्भावित निहितार्थहरू शीर्षकको लेखमा वर्णन गरेका छन्। अमेरिकी राजदूतले  

क्यानडालाई पनि हेर्नुपर्ने प्रचलनअनुसार यदुनाथले त्यति बेला क्यानडाका लागि समेत राजदूतको काम गरे। उनले क्यानडाका राजदूतका रूपमा क्यानडाबारे राजदूतको रिपोर्ट शीर्षकको लेख समेत लेखेका छन्।

यदुनाथ २०३५ सालको वैशाखमा चीनका लागि नेपालका राजदूत पदमा नियुक्त भएर चारवर्ष (२०३९ जेठसम्म) त्यस पदमा रही काम गरे। यदुनाथ भारत, अमेरिका र चीन तीनै देशमा राजदूत नियुक्त हुँदा ती देशहरूका अवस्था तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ घुम्ती आउन लागेको थियो। उनी भारतका राजदूत नियुक्त भई जाँदा नेपालमा भर्खर पञ्चायती व्यवस्था लागू भएको थियो र नेपालले आफ्नो परराष्ट्रनीतिमा नयाँ पहल गर्न थालेको थियो भने भारतले त्यसलाई शङ्काको दृष्टिले हेरिरहेको थियो। उनी अमेरिकाका लागि राजदूत नियुक्त हुँदा राष्ट्रपति निक्सनले अमेरिकालाई भियतनामको लडाइँबाट झिक्ने र रूससित तनाव कम गर्ने रणनीतिका रूपमा चीनसँग सम्बन्ध बढाउने प्रयास गर्दै थिए। यदुनाथ चीनका राजदूत हुँदा भर्खरै माओ त्से तुङ, चु तेह, चाउ एनलाई जस्ता चीनका महान् नेताहरूको देहावसानले चीनमा एक प्रकारको रिक्तताको अनुभव भइरहेको थियो अनि चीन आन्तरिक र परराष्ट्रनीतिमा नयाँ युगभित्र प्रवेश गर्दै पनि थियो।

यदुनाथ खनालले अनेकौँ पटक नेपालका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका छन् अनि अन्य देशहरूसँग नेपालको सम्बन्ध सुधार्ने हेतुले पटकपटक विभिन्न देशहरूको भ्रमण गर्नुका साथ विदेशभ्रमणमा रहेका बेला राजा, प्रधानमन्त्रीलगायतका नेपाली प्रतिनिधिमण्डलका प्रमुखहरूका कयौँ भाषणहरू लेख्ने कामसमेत गरेका छन्। यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिमा मौलिक र देशकाल परिस्थितिअनुरूप आवश्यक परे परिवर्तन र परिमार्जन गर्दै जानुपर्ने कुरामा जोड दिन्थे। उनले परराष्ट्र मन्त्रालयको संयन्त्रलाई समयानुसार ढाल्नुपर्ने कुरा बताउँथे। आफ्नो अधिकांश सार्वजनिक जीवन राष्ट्रकै निम्ति सुम्पेका यदुनाथ खनाल नेपाललाई परराष्ट्रजगत्सँग जोड्ने सेतु हुन्।

सामाजिक व्यक्तित्व

यदुनाथ खनालको सामाजिक व्यक्तित्व बाल्यावस्थादेखि पलाएको र लेखन एवम् प्राध्यापकीय, उच्च प्रशासनिक तथा कूटनीतिक पदहरूको बहालीसँग गाँसिएर आएको देखिन्छ। उनको सामाजिक व्यक्तित्वको स्पष्ट सार्वजनिक प्रस्फुटन काठमाडौँ नगरपालिकाका निर्वाचित सदस्यका रूपमा भएको हो भने यसको विकास अवस्था राजसभा सदस्यका रूपसम्म प्रकटिएको पाइन्छ। यदुनाथ खनाल व्यक्तिमात्र नभई संस्था नै भएकाले उनका हरेक क्रियाकलाप नेपाली समाजनिरपेक्ष हुनै सक्तैनथे।  

नेपाली समाजमा राणाविरोधी आन्दोलन चरमोत्कर्षमा पुगेका बेला पहिलो पटक सम्पन्न काठमाडौँ नगर निर्वाचनमा वडा नं. ११ बाट यदुनाथ खनाल निर्वाचित भएका हुन्। सबैभन्दा बढी एघारहजार मतदाता रहेको यस वडामा निर्वाचित खनाल दुई सरकारी जागिरदारहरू (यदुनाथ खनाल र शङ्करदेव पन्त) मध्येका एक उम्मेदवार थिए। यस चुनावमा निर्वाचित हुनेहरूमा यदुनाथ खनाललगायत भुवनलाल प्रधान, शङ्करदेव पन्त, शारदाप्रसाद उपाध्याय, पूर्णबहादुर एमए, भेषबहादुर शर्मा, शेषराज दली, पुष्करलाल मास्के, उदयलाल श्रेष्ठ, तेजप्रसाद शर्मा, विष्णुलाल डङ्गोल, हरिकृष्ण श्रेष्ठ, तेजप्रसाद शर्मा र रामजी शर्मा रहेका छन्।  

२०४० साल वैशाख ५ गते सोमबारका दिन यदुनाथ खनाल राजा वीरेन्द्रबाट राजसभा स्थायी समितिका सदस्यमा नियुक्त भएका हुन्। यदुनाथको दीर्घकालीन राष्ट्रसेवा एवम् बौद्धिक तथा शालीन व्यक्तित्वकै कारण यसप्रकारको व्यक्तित्वलाई समाज सेवामा प्रयोग गर्नका लागि उनलाई राजसभा सदस्यमा नियुक्त गरिएको पाइन्छ। उनी ख्यातीप्राप्त व्यक्तित्वका रूपमा राजा वीरेन्द्रबाट पटकपटक राष्ट्रिय विकास परिषद्का सदस्यमा मनोनित भएका छन्।  

यदुनाथ राष्ट्रका विभिन्न उच्च पदमा रहेका बेला देशमा धेरै राजमार्ग, विश्वविद्यालयलगायतका आवश्यक वस्तुहरूको भौतिक निर्माण कार्य सम्पन्न भएका छन्। सामाजिक सेवामा खनालको संलग्नता निकै रूचिपूर्ण थियो। २०२५ सालमा यदुनाथको आफ्नै गृह जिल्ला तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि सरकारी भवन बनाउने सिलसिलामा जनश्रमदान परिचालन गरिएको थियो। त्यस बखत खनालले पनि अरू सरह डोकोमा नाम्लो लगाएर चारपाँच खेप ढुङ्गा बोकेको जानकारी पाइन्छ ( स्रोत ः ऋषिराज उपाध्याय, ‘यदुनाथ खनालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (अप्रकाशित स्नातकोत्तर शोधपत्र, कीर्तिपुर ः त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०६३)। त्यतिबेला खनाल सचिव र राजदूत भइसकेका थिए। यसप्रकार यदुनाथको व्यक्तित्वको आलोक विभिन्न तवरले फिँजिएको छ। उनी सफल लेखक, प्राध्यापक, प्रशासक एवम् कूटनीतिज्ञ जस्तै अथक समाजसेवी पनि हुन्।

प्रकाशित: १ आश्विन २०७९ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App