१९ मंसिर २०७९ सोमबार
कला

सामान्य केस!

लघुकथा

बलात्कारको विषयमा छलफल भइरहेको थियो। यसै क्रममा छायाले भनिन्, ‘राधा,तिमी चिन्ता नगर। पैसा र पहुँच भएपछि सधैं आफ्नो रजाइँ हुन्छ। शक्तिको भरमा घामलाई जून र जूनलाई घाम बनाउन सकिन्छ।’

छायाको कुरा सुनेपछि राधाले मलिन अनुहार बनाउँदै छायाको अनुहारमा हेरिन् र लामो सास फेर्दै भनिन्, ‘हाम्रो बिहे भएको एक दशक भयो। उहाँ यौनको मामलामा निकै संयमित हुनुहुन्छ। आफ्नो घर सुन्दर भएको देख्न चाहनुहुन्छ तर कसरी यस्तो आरोप लाग्यो! मैले अनुमान गर्नै सकेकी छैन। मलाई लाग्छ, यो कसैको फसाउने नियत हो।’

‘तिमी चिन्ता नगर। हाम्रा लागि यो सामान्य केस हो। हामीसँग सबै कुरा छ। अप्ठ्यारो परेको बेला हामीले मान्छे किन्न सक्छौं। गुण्डा प्रयोग गरेर पनि समस्या समाधान गर्न सक्छौं।’

राधाको कानतिर मुख लगेर छायाले थपिन्, ‘जबसम्म समस्या समाधान हुँदैन तबसम्म तिम्रो बुढा मेरै घरमा बस्छन्। कसैले सुइँकोसम्म पाउँदैन।’

छलफल हुँदै थियो। एक हुल महिला नारा लगाउँदै आएको देखियो-

- बलात्कारीलाई फाँसी दे! फाँसी दे! फाँसी दे!

-दिदीबहिनी एक हौं! एक हौं,एक हौं।

जुलुसको दृश्य देखेपछि छायाले भनिन्, ‘यी आइमाईको काम छैन। खाली घोक्रो सुकाएर कराउँछन्।’

छाया काजु, किसमिस र भीरमौरीको मह बोकेर घर फर्किइन्।

घर सुनसान थियो। घरभित्रको बिभत्स दृश्य देखेपछि उनको वरिपरिको जमिन घुम्न थाल्यो। उनी चिच्याइन्, ‘छोरी!’

आमाको आवाज सुनेर छोरीले बिस्तारै आँखा खोली र सासै सासमा बोली, ‘ममी, अंकलले जबर्जस्ती गर्नुभयो। मैले आफूलाई जोगाउन सकिनँ।’

प्रकाशित: ३० भाद्र २०७९ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App