अचेल व्यस्तता निकै बढेको छ है ?

त्यति साह्रो त होइन । महोत्सवहरूमा निम्ता आइरहेका छन् । अलिअलि रेकर्डिङमा पनि व्यस्त छु । सँगसँगै दोस्रो सोलो एल्बम ल्याउने तयारीमा पनि जुटिरहेकी छु ।
गायन तपाईंको सानैदेखिको लक्ष्य हो ?
हो । सानैदेखि गाउन भनेपछि हुरुक्कै हुन्थें । मेरो ममीको चाहना पनि मलाई गायिका बनाउने नै थियो । त्यसैले मलाई सधैँ गाउनलाई प्रेरित गर्नुहुन्थ्यो । ममी आफैँ पनि राम्रो गाउनुहुन्छ । उहाँलाई पनि गायिका बन्ने ठूलो रहर थियो । तर, बन्न सक्नुभएन । मैले ममी र मेरो दुवैको धोको पूरा गरिरहेकी छु ।
तपार्इंका प्रायः हिट गीत 'डान्सिङ नम्बर' छन् । जसकारण धेरैले तपाईंलाई त्यस्तै गायिकाका रूपमा लिन्छन् । तपाईंलाई के लाग्छ ?
ठीक भन्नुभयो । धेरैले मलाई 'डान्सिङ नम्बर' गाउने गायिकाका रूपमा चिन्छन् । तर, मेरो पहिचान यो मात्र होइन । अहिलेसम्म मैले आफूले चाहेजस्तो गीत गाउन पाएकी छैन । अझै मलाई दर्शकले म कस्तो गायिका हुँ भनेर चिन्न बाँकी नै छ । मैले चारवर्ष क्लासिकल संगीत सिकेकी हुँ । अझै पनि सिकिरहेकी छु । मलाई सेन्टिमेन्टल र स्याड सङ बढी मन पर्छन् ।
तपाईंको खास रुचि पाश्र्वगायन नै हो ?
अब फिल्मकै गीत धेरै गाइरहेको छु, त्यसैले हो नै भन्नुप¥यो । तर, आधुनिक गीत गाउन मन लाग्छ । म स्रोतालाई ध्यानमा राखेर गीत गाउन रुचाउँछु ।
अचेल तपाईंहरू बजारले खोजे जस्तै गीत दिन रुचाउनुहुन्छ । तपाईहरूले बजार डो¥याउनुपर्नेमा बजारले पो तपाईहरूलाई डो¥याइरहे जस्तो छ नि ?
त्यस्तो होइन । समयअनुसार चल्न सक्नुपर्छ । बलिउडमा हेर्नुस् न, हनी सिंहका गीत दर्शक÷स्रोताले रुचाइरहेका छन् । यहाँ त स्रोताले जस्तो खोज्छन्, हामीले त्यस्तै दिनुपर्ने रहेछ । गलत म्यासेज दिने छाडा गीत पनि बजारमा आइरहेका छन् । जसले छाडा म्यासेजमात्र दिइरहेका छन् । यस्तो सुन्दा र देख्दा चित्त बुझ्दैन । हामीले त समाजलाई बनाउने होे, बिगार्ने होइन । यो कुराको ख्याल गर्न जरुरी छ ।
फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापासँग तपाईंको 'टिमअप' निकै मिलेको छ । तपार्इंले उनकै फिल्ममा गाएका गीतमात्र प्रायःहिट छन् नि ?
हो । मैले ०६४ सालमै फिल्म 'आकाश गंगा'बाट पाश्र्व गायनमा डेब्यू गर्ने मौका पाएकी थिएँ । त्यो फिल्मका दुइटा गीतमा मेरो स्वर थियो । तर, म रेखा थापा अभिनीत फिल्म 'रावण'को 'हात्ती घोडा होइन, माया चाहियो' बोलको गीतबाट मात्रै नोटिस्ड भए । त्यसपछि रेखा थापाकै फिल्म 'हमेशा'को शीर्ष गीत पनि चल्यो । 'हिम्मतवाली'को 'काली तिम्रो नजरैले' पनि चर्चित नै भयो । समग्रमा भन्नुपर्दा मलाई रेखा थापासँग काम गर्दा फाप्यो ।
लगातार रेखा थापाको फिल्ममा गाइरहनुभएको छ । कारण के होला ?
फिल्म 'रावण'का क्रममा त रेखाजीसँग मेरो पछिमात्र भेट भएको हो । संगीतकार कमलकृष्ण पौडेलले मेरो स्वर सुन्नुभएको रहेछ । उहाँले नै मलाई 'हात्ती घोडा'मा गाउने अवसर दिनुभएको थियो । पछि रेखाजीले सुनेर मनपराउनुभएछ । मसँगको भेटमा उहाँले मलाई 'तिम्रो स्वर मसँग म्याच हुँदोरहेछ' भन्नुभयो । त्यसपछि उहाँका प्रायः फिल्ममा स्वर दिने मौका पाइरहेकी छु ।
पहिलोपल्ट स्टुडियोमा पुगेर गीत रेकर्डिङ गराउँदाको क्षणलाई अहिले सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?
त्यो दिन चाहिँ साँच्चीकै अविस्मरणीय हो । जीवनमा डर, नर्भस, खुशी सबै एकैपल्ट महसुस गरेकी थिएँ । ०६० सालतिर पूर्वाञ्चलस्तरीय गायन प्रतियोगिता 'रेयुकाई आइडल'मा प्रथम भएपछि मैले एउटा गीत रेकर्ड गराउने अवसर पाएकी थिएँ । 'एक फेर फेरि तिम्रो हुन मन लाग्यो' बोलको त्यो गीत मैले विराटनगरको रिफ साउन्ड डिजिटल स्टुडियोमा पुगेर रेकर्ड गराएकी थिएँ । ६० सालमा रेयुकाई आइडलमा प्रथम भए । मलाई फुटबल खेलाडी पहिलोपल्ट मैदान पुगेजस्तै महसुस भएको थियो । ममी र मेरो सपना पूरा हुँदै छ भन्ने लागेको थियो ।
छोरा जन्मिएको १८ दिनको सुत्केरी अवस्थामा तपाईंले पाँच तलामाथि रहेको स्टुडियोमा पुगेर फिल्म 'च्याम्पियन'को गीत रेकर्ड गराउनुभएको थियो । त्यो कस्तो बाध्यता थियो ?
त्यो बाध्यता थिएन । अस्वस्थ भएको भए त कोही पनि स्टुडियो जाँदैन नि । त्यो गीतका लागि मलाई संगीतकार र निर्माताले १५ दिनभन्दा बढी पर्खिसक्नुभएको थियो । मैले चाहेको भए अझै पनि पर्खिनुहुन्थ्यो । तर, मेरो मनले मानेन । मैले गर्छु भनेरै गरेको हुँ । पछि राम्रै भयो । मलाई स्वास्थ्यले पनि साथ दिएको हो । छोरा जन्मिनुअघि म पाँच महिनाको गर्भवती अवस्थामा पनि वीरगञ्जको एउटा कार्यक्रममा पुगेकी थिएँ । त्यहाँ पनि मलाई कुनै जबरजस्ती बोलाइएको थिएन । मैले आफैँ जाने निर्णय गरेकी थिए । त्यहाँ मैले नाचीनाची गीत गाएकी थिएँ । खासमा भन्नुपर्दा म संगीतबिना त एकछिन बस्न सक्दिनँ । खुट्टा भाँचियो भने बैसाखी टेकेर भए पनि गीत गाउँछु । तर, गाउन चाहिँ छोड्दिनँ ।
दुई वर्षअघि तपार्इंले 'कलाकारको सम्मान माग्दै' केश मुण्डन पनि गर्नुभएको थियो । यस्ता फरक खालका गतिविधि तपाईं चर्चाका लागि गर्नुहुन्छ भन्नेहरू पनि छन् नि ?
मैले कुनै पनि गतिविधि चर्चाका लागि गर्दिनँ । तर, चर्चा भइदिन्छ । हो, यहाँ चर्चा जसलाई पनि कमाउनु छ । मलाई पनि कमाउन मन नलाग्ने होइन । म जति चर्चा कमाउनसकूँ, त्यो मेरो गायनकै माध्यमबाट सकूँ भन्ने लाग्छ । जतिबेला मैले केश मुण्डन गरेकी थिएँ, त्यतिबेला थोरबहुत चर्चा मैले गीत गाएरै कमाएकी पनि थिएँ ।
थोरबहुत चर्चा मैले गीत गाएरै कमाएकी छु । र, मलाई गीतबाट कमाएको चर्चामात्र चर्चाजस्तो लाग्छ । केश मुण्डन गर्नुको खास कारण चाहिँ गायिका कोइलीदेवीको निधन थियो । उहाँ काठमाडौँस्थित अनामनगरमा बस्नुहुन्थ्यो । उहाँको निधन भइन्जेलसम्म पनि कोही उहाँको बासस्थानमा पुगेको थिएन । त्यो दुःखदायी निधनले मेरो मुटु पोलेको थियो । जिन्दगी नै संगीतमा बिताउँदा पनि यहाँ कसैले वास्ता गर्दैन रैछ भन्ने लाग्यो । कलाकारलाई राज्यले देशका गहना भन्छ । तर, खोइ त गहनाको मूल्य ? यही कुरा मैले फेसबुकमा लेखेकी थिएँ त्यतिबेला । धेरै संगीतकर्मीले मलाई समर्थन पनि गर्नुभएको थियो त्यतिबेला । त्यो सब मैले चर्चा कमाउन गरेकी थिइनँ, संगीत क्षेत्रको समृद्धिकै लागि थियो ।
महिलाको सौन्दर्य उसको केशले पनि बोकेको हुन्छ । यसरी मुण्डन गर्दा श्रीमान्ले आपत्ति जनाउनुभएन ?
श्रीमान्ले मलाई कहिल्यै हस्तक्षेप गर्नुहुन्न । सधैँ सुझावमात्र दिनुहुन्छ । त्यतिबेला पनि मेरो भावनालाई उहाँले कदर गर्नुभएको थियो ।
तपाईंको विवाह प्रेम हो कि मागी ?
मेरो श्रीमान् महेन्द्र दुलाल पनि संगीतमै हुनुहुन्छ । हाम्रो जोडी पनि संगीतले नै जुराएको हो । विराटनगरमा रहेको स्वर संगम संगीत विद्यालयमा संगीत सिक्न जाने क्रममा नै हाम्रो भेट भएको थियो । संगीत सिक्दासिक्दै हाम्रो लभ प¥यो । अनि, तीन वर्षको प्रेमपछि बिहे गरेका थियौँ ।
दुवैजना एउटै पेशामा भएकाले काम गर्न निकै सजिलो भएको होला नि ?
हो । दुवैजना एउटै पेशामा हुँदा कसैलाई अप्ठेरो, कसैलाई सजिलो हुन्छ । मैले कतिपय साथीलाई गाह्रो भएको पनि सुनेकी छु । मलाई चाहिँ सजिलो भएको छ । कहिलेकाहीँ गीत रेकर्डिङ गराउन जाँदा ढिलो भइदिन्छ, कन्सर्टबाट फर्किंदा ढिलो भइदिन्छ । किन ढिलो भयो ? त्यसको स्पष्टीकरण श्रीमान्लाई दिइरहनुपर्दैन । उहाँले बुझ्नुहुन्छ । श्रीमान्बाट मलाई पूर्ण समर्थन छ । उहाँको समर्थन नभएको भए म यहाँसम्म आइपुग्दिनथिएँ । त्यही भएर म आफूलाई 'लकी' ठान्छु ।
तपाईंले बलिउड फिल्ममा पनि गीत रेकर्ड गराउनुभएको छ क्यारे ?
हो । डेढ वर्षअघि अजर दिलसाद खानको फिल्म 'तेरा इश्क मे' को दुइटा गीतमा गाउने अवसर पाएँ । फिल्म अझै प्रदर्शन भइसकेको छैन् । फिल्म 'स्ट्रिट डान्सर'मा पनि एउटा गीत गाएकी छु । त्यो पनि रिलिजको क्रममा छ ।
बलिउडमा गाउने अवसर चाहिँ कसरी जुर्यो ?
म कलाकार कमल कृष्णमार्फत एउटा भोजपुरी फिल्मको गीत रेकर्डिङका लागि कुमार सानुको रेकर्डिङ स्टुडियो मुम्बईमा पुगेकी थिएँ । त्यही मेरो भेट निर्देशक अजर दिलसाद खानसँग भयो । उहाँलाई मेरो स्वर मन प¥यो । बलिउडका चर्चित गायिकालाई ती गीत गाउन दिन लाग्नुभएको रैछ । पछि मलाई दिनुभयो । खुशी लाग्यो ।
तपाईंले आधा दर्जनभन्दा बढी भाषामा गीत गाउनुभएको छ । कत्तिको गाह्रो हुन्छ ?
अरूको भाषालाई आफ्नो बनाएर गाउन गाह्रो त भइहाल्छ नि । त्यसैले सिक्न त जरुरी छ । तर, संगीतको कुनै भाषा हुँदैन । त्यसैले भाषामा भिज्न सकियो भने जुनसुकै भाषामा पनि गीत गाउन सकिन्छ । मलाई नेवारी भाषामा गीत गाउन मन छ ।
यहाँ थुप्रै संगीतकर्मी पलायन भएका छन् । गीत गाएर बाँच्न सकिन्छ त ?
मलाई त सकिन्छ जस्तो लाग्छ । निरन्तर लागिरहने र आफूलाई समयअनुसार अपडेट गर्न सक्ने हो भने बाँच्न सकिन्छ । आफूलाई समयअनुसार भर्सटायल बनाउन सकिएन भने टिक्न गाह्रो हुन्छ ।
यहाँ गीत हिट भएका फिल्म पनि फ्लप हुन्छन् । यसले तपार्इंहरूलाई कत्तिको दुःखी बनाउँछ ?
दुःख त लागिहाल्छ नि । फिल्म चल्यो भने गीत झन् चल्छ नि । गीत निर्माणमा भएजस्तो मेहनत फिल्म निर्माणमा नहुँदा यस्तो भएको हो कि जस्तो पनि लाग्छ । फिल्म बनाउँदा कथावस्तुमा बढी ध्यान दिइनुपर्छ जस्तो लाग्छ ।
संगीतमा लागेर के पाइयो जस्तो लाग्छ ?
धेरै कुरा पाएँ । सबैभन्दा पहिलो कुरा त आत्मसन्तुष्टि नै हो । त्यसपछि नाम पाएँ, माया गर्ने स्रोता पाएँ ।
प्रकाशित: १४ चैत्र २०७२ ०४:५३ आइतबार





