हरिप्रसाद भण्डारी
‘जसले सुमेरु पर्वतको परिक्रमा गरेर आउँछ,उसैको पहिले प्रमोसन हुन्छ।’ कानुनमा लेखियो।
छिटो प्रमोसन हुने इच्छाले कुमारहरू हुम्ला, जुम्ला, मुगु, मुस्ताङ लगायतका ठाउँको बाटो हुँदै सुमेरु पर्वतको परिक्रमा गर्न निस्के।
यता गणेशहरूले सिंहदरबारलाई नै सुमेरु पर्वत ठाने र हात मल्दै यसैको वरिपरि घुम्न थाले।
सिंहदरबारलाई सुमेरु पर्वत मान्नेहरूको उन्नति भयो। राम्रो ठाउँ पाए, राम्रो लगाए र मीठोमसिनो खाएर गणेशकोजस्तै ठूलो भुँडी बनाए। शहरमा आफू बस्ने मन्दिरको समेत बन्दोबस्त मिलाए अनि उनीहरू नै सबैका पूजित पनि बने।
सुमेरु पर्वतको परिक्रमा गर्न गएका कुमारहरू उतै हराए। हाड-छाला घोटेर काम गरे। भोकमा पोसिलो खाना खान नपाएर दुब्ला, पातला र सिकुटे बने।
कुमार र कानुनको कतै भेट भयो भने कुमारहरूको कारुणिक अनुहार हेर्दै कानुन ङिच्च दाँत देखाएर हाँस्छ।
(‘काला सर्पको खोजी’ लघुकथासंग्रहबाट)
प्रकाशित: २३ भाद्र २०७९ ०२:५८ बिहीबार