सुनिता निरौला पौडेल
-बुबा,हजुरले आज औषधिसमेत खान बिर्सनुभएको। ढिलो भइसक्यो। ल लिनुहोस औषधि।
घरमा सबै काम हरिप्रसाद बाकी बुहारीले नै गर्दथिन्। छोरा विदेश गएका थिए। सासू,नन्द,आमाजु र देवर सबैलाई भाउजूले रिझाउन सकेकी थिइन्। उनको चार बर्से छोरा थियो। सबैको प्यारो भएर अलिक पुल्पुलिएका थियो।
समय क्रममा उनको ससुरा बा थलिनुभो। अब त झन् उनी व्यस्त भइन् घरमा। आफन्त र छरछिमेकी सबै बिरामी बालाई हेर्न आउन थाले।
अचानक एकदिन बाको मृत्यु भो। बाले बुहारी नानीलाई छोरीभन्दा कम गर्नुभएको थिएन। घरमा अरू आफन्त आउँदा भन्नुहुन्थ्यो, ‘मेरो बुहारी हैन छोरी हुन् उनी।’
घरमा रुवावासी चल्यो। आमा र बुहारी नानी धेरै रोए।
‘मेरो बुबा खसे पनि ससुरा बाले आफ्नो बुबाको जस्तो माया दिनुभएको थियो। मैले भगवान् नदेखे पनि भगवानको रूपमा ससुरा बा पाएकी थिएँ। त्यो पनि भगवानले चुँडेर लानुभो’ भनेर रुँदै थिइन् बुहारी।
त्यत्तिकैमा चार बर्से छोरा आयो, आमाको काखमा बसेर सोध्यो,‘किन रुनुभाको आमा?’
‘हेर छोरा, तिम्रो हजुरबुबाले यो संसार छोडेर कहिल्यै नफर्किने गरी जानुभो। अब तिमीले कसलाई हजुरबाबा भन्ने’ भन्दै आमा रुन थालिन्। छेउमा बसेका हजुरआमा, भाइ र बहिनी सबैको आँखाबाट आँसु खस्न थाल्यो।
सारीको सप्कोले आमाको आँसु पुछ्दै छोराले भन्यो, ‘आमा,अबदेखि कहिले नरुनु है। हजुरबुबालाई हामीले उहाँको फोटो हेरेर बिर्सिनुपर्छ।’
प्रकाशित: २२ भाद्र २०७९ ०३:०१ बुधबार