४ वैशाख २०८१ मंगलबार
कला

कमेडियन क्षितिजमाथि १० दिन म्याद थप गरी अनुसन्धान गर्दै प्रहरी

कमेडी भिडियोमार्फत नेवार समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा पक्राउ परेका स्टान्डअप कमेडियन अपूर्वक्षितिज सिंहको मुद्दामा जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि १० दिन म्याद थपेकाे  छ।

नेवार समुदायलाई व्यंग्य गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो। सामाजिक रिति स्थितिमा खतरा पारेकाे कसुरमा आइतबार जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी दिनेश मैनालीले जानकारी दिए।

नेवार समुदायको कला र संस्कृतिमाथि व्यंग्य गरिएको भन्दै शनिबार अभियन्ताहरूले उनीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयले उजुरी दिएका थिए। कमेडीको भिडियोले नेवार समुदायको कला र संस्कृतिमाथि आघात पुऱ्याएको भन्दै अभियन्ताहरूले उजुरी दर्ता गरेका हुन्।  

'कमेडी क्याफे' नामक युट्युब च्यानलमा राखिएको भिडियोमा उनले 'नेवारको परम्परा' शीर्षकको स्ट्यान्डअप कमेडीमा नेवारी खाने कुरा, नेवारी भाषिक उच्चारण, बेल विवाहको प्रसंग लागायतका विषयमा व्यंग्य गरेका थिए। उक्त भिडियो अहिले युट्युबबाट हटाइएको छ।

सो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। भिडियो हटाएलगत्तै उनले फेसबुकमार्फत माफी मागेका थिए।

'मैले युट्युबमा अपलोड गरेको नेवारको परम्परा शीर्षकको भिडियोले धेरैको चित्त दुखेको रहेछ,' उनले भनेका छन्, 'धेरै म्यासेज र कमेन्टहरू आए। मैले भिडियो डिलिट गरे र माफी मागेर पोस्ट पनि हाले। मैले चार वर्षदेखि कमेडी गर्दै आएको छु। यसलाई मैले धेरै ठाउँमा प्रस्तुत गरिसकेको थिएँ। त्यसबेला कसैको चित्त नदुखेको र मलाई यसबारे ज्ञान नभएको हुँदा भिडियो अपलोड भएको थियो। त्यसका लागि सबैप्रति माफी माग्न चाहन्छु।'

'गल्तीहरू हुने भएकाले र आफूले माफी मागिसकेकाले यो विषयलाई टुंग्याइदिन उनले आग्रह गरेका छन्। यो विषयलाई यही टुंग्याइदिनुहोला, गल्तीहरू हुन्छन्। मैले नेवार समुदायको चित्त दुखाउन सो भिडियो अपलोड गरेको होइन। म बाट रिसर्च नपुगेको हो। फेरि सबैप्रति क्षमाप्रार्थी छु। हँसाउने कोसिस गर्ने क्रममा गल्ती भएको हो आगामी दिनमा यसलाई ध्यानपूर्वक हेर्नेछु,' उनले भनेका छन् ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद १० को उपदफा १ सय ६५ बमोजिम सामाजिक रीति स्थिति खलल गरेको भन्दै म्याद थप गरिएको हाे।

प्रकाशित: १३ भाद्र २०७९ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App