राजन बस्नेत
एअरपोर्टभित्र–
कर्मचारी १ः सरले केके हात पार्नुभो त आज?
कर्मचारी २ः आज खासै हात लागेन। कुबेतबाट आकी एउटीले सुनको सिक्री ल्याकी रैछे आमालाई भनेर। त्यही मात्र फुस्काइयो। बुढी मक्ख पर्ने भई घरमा।
कर्मचारी १ः मेरो त झन् बिजोग भो सर! दुई बोतल ब्ल्याक लेभल र एउटा पुरानो ल्यापटप मात्र हात लाग्यो दिनभरिमा तर केही छैन अर्को दिन आइहाल्छ। ल्यापटप छोरालाई भइहाल्यो। एउटा ब्ल्याकलेभल हाकिम साबलाई भेट चढाउँछु र अर्को आफैं ढलाउँछु।
उनीहरूका कुरा सुनिरहेकी कर्मचारी ३ः बधाई छ सरहरूलाई। जे पाउनुभएको छ, ‘प्योर माल’ पाउनुभएको छ, शुद्ध पसीनाको कमाइ। आफ्नो पसीना नभएर के भो त कसैको त हो नि। पसीनाको कमाइका सामान उपभोग गर्न पाउनुको मजा नै छुट्टै छ। देशमा फट्याइँ गरेर कमाएको पैसाबाट आएको सामानभन्दा यी सामान धेरै ठीक सरहरू। फेरि पनि बधाई।
बधाईका कारण
-यिनीहरू नै हुन् जसले कसैको कलेजो,मुटु र किड्नी बिग्रेको खÞबर सुन्नेबित्तिकै भाग काटेर पैसा उठाउन सुरु गर्छन् मुगलानमा।
-यिनीहरू नै हुन् जसले कर्णालीमा अस्पताल बनाउन पनि पैसा पठाउँछन, चितवनमा रंगशाला बनाउन पनि पैसा जुटाउँछन।
-यिनीहरू नै हुन् जसले काटिएका हातखुट्टा जोडिदिन अभियान चलाउँछन्, कलाकारलाई बाँच्ने वातावरण बनाइदिन विश्वभर संस्कृति चिनाउँछन्।
-यिनीहरू नै हुन् जसले तपाईका नेता,तपाईका हाकिम र तपाईका प्रशासकहरू बस्ने कुर्सीको खुट्टा रेमिटयान्सले अड्याउँछन।
यिनीहरूकै कारण धेरैको परिवार चलेको छ। धेरैको धडकन चलेको छ र धेरैको शासन चलेको छ।चुलो बलेको छ,आस बँचेको छ र देश बाँचेको छ।
यिनीहरूले कमाएको सामानबाट तपाईका परिवार खुसी हुन पाउनु अहोभाग्य हो। तपाईहरूलाई फेरि पनि बधाई!
प्रकाशित: ८ भाद्र २०७९ ०८:४१ बुधबार