२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भवानी र शान्तिलाई ‘साहित्यपोस्ट उत्तम कृति तथा काव्य पुरस्कार’

साहित्यिक पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७८ को ‘साहित्यपोस्ट उत्तम कृति तथा उत्तम काव्य पुरस्कार’ वितरण गरेको छ।

होटल अक्मा, धुम्बाराही, काठमाडौंमा एक समारोहका बीच ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का संस्थापक उत्तमप्रसाद पन्त र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का संस्थापक उत्तम भौकाजीको उपस्थितिमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो।

‘घामभन्दा पहिले’ नियात्रा कृतिका लागि भवानी खतिवडालाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘जिल खाइरहेकी एक्काइसौं शताब्दी’ कविता कृतिका लागि शान्ति प्रियवन्दनालाई साहित्यपोस्ट उत्तम काव्य पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारका संस्थापक उत्तमद्वय, कार्यक्रमका सभापति अश्विनी कोइराला र निर्णायक मण्डलका संयोजक केदार वाशिष्ठले स्रष्टाद्वयलाई प्रमाणपत्रका साथमा ५०/५० हजार रूपैयाँ नगद राशि प्रदान गरिएको थियो।

कार्यक्रममा साहित्यपोस्ट उत्तम कृति पुरस्कारको प्रारम्भिक सूचीमा परेका ११ पुस्तकका स्रष्टा तथा साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको प्रारम्भिक सूचीमा परेका ९ कृतिका स्रष्टालाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै पुरस्कार संस्थापक उत्तमद्वयले साहित्यपोस्टको सर्वोत्तम कार्यमा जोडिएर साहित्य क्षेत्रका नवप्रवेशीलाई आफ्नो नामको पुरस्कार दिन पाउँदा आनन्द महसुस भएको बताए। साहित्यपोस्ट उत्तम कृति पुरस्कारका संस्थापक उत्तमप्रसाद पन्तले ५० हजार राशिको पुरस्कारलाई आगामी वर्षदेखि १ लाख बनाइने जनाए।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारका भीडमा नवप्रवेशीका लागि कुनै पुरस्कार नभएको अवस्थामा साहित्यपोस्टले खाली ठाउँ पूरा गरेको बताए।

उनले भने, ‘नेपाली साहित्यमा प्रजातान्त्रिक विचारका सर्जकले प्रगतिशील र प्रगतिशील विचारका सर्जकले प्रजातान्त्रिकलाई स्वीकारेका छैनन। हामी विचार र वादभन्दा माथि उठी नवप्रवेशीका अब्बल कृतिलाई पुरस्कृत गर्नछौं।’

साहित्यपोष्ट उत्तम कृति पुरस्कारबाट सम्मानित भवानी खतिवडाले पुरस्कार राशि सामाजिक काममा उपयोग गर्ने बताइन्, ‘म अझै इमानदार र गम्भीर भएर लेखिरहने छु। पाएको पुरस्कार राशि नुन-भुटुनमा खर्च गर्दिनँ। साहित्य र सामाजिक कार्यमा लगाउने छु।’

पाठक, समालोचक,अग्रज, पुरस्कार संस्थापक र साहित्यपोष्ट परिवारलाई धन्यवाद दिंदै उनले सबैबाट पाएको हौसला लेखनको मसीमा मिसाउँदै देश लेख्ने प्रयत्न गरिरहने बताइन्।

त्यसैगरी शान्ति प्रियवन्दनाले पुरस्कारले आफूलाई अझ परिस्कृत र लगनका साथ साहित्य सिर्जना गर्न हौस्याएको बताइन्।

कार्यक्रममा निर्णायक समूहका संयोजक केदार वाशिष्ठले निर्णय प्रक्रियाबारे बताएका थिए। वाशिष्ठले अघिल्लो वर्ष ‘नेपाल विद्या’का लागि साहित्यपोस्ट उत्तम कृति पुरस्कार पाएका थिए।

दुवै पुरस्कार आफ्नो पहिलो पुस्तक प्रकाशन गर्दै नेपाली साहित्य क्षेत्रमा पाइला चालेका नवप्रवेशीहरूमध्ये उत्कृष्ट कृतिका सर्जकलाई प्रदान गरिन्छ। २०७७ सालबाट नयाँ लेखकहरूलाई प्रोत्साहन गर्न सुरु गरिएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ मा ०७८ मा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ थपिएको साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले बताए। उत्तम कृति पुरस्कार गैरकाव्य कृतिलाई र उत्तम काव्य पुरस्कार काव्यकृतिलाई प्रदान गरिन्छ।

कार्यक्रममा नगेन्द्रराज शर्मा, प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, रामप्रसाद पन्त, गीता रेग्मी, मधु पाठक, विनोद नेपाल, ममता मृदुल, रामकुमार पण्डित क्षेत्री, उत्तम भेटवाल, विजयध्वज थापा, वैरागी जेठा, सत्या अधिकारी, श्रीराम राई लगायतका साहित्यकारहरूको उपस्थित रहेका थिए।

साहित्य पोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रम अच्यूत कोइराला र कृष्ण ढुङ्गेलले सञ्चालन गरेका थिए।  

प्रकाशित: ८ भाद्र २०७९ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App