किशन पौडेल
हेर्दाहेर्दै सोमप्रसादले शहरमा घडेरी किन्यो र दुईतले आधुनिक घर पनि बनायो। उसको वेशभूषा, तडकभडक र फुर्ती देखेर म तिनछक्क परेको थिएँ। बूढीको शान/सोख त झन् बेग्लै थियो।
केही वर्ष अगाडि हामी सँगै डेरामा बस्थ्यौं। उसको र मेरो जागिर उस्तै थियो। कान्छीको भट्टीमा लोकल पिएर नै सन्तुष्टि लिएका थियौं। ऊ हेर्दाहेर्दै सम्पन्नताको शिखर उक्ल्यो। कहिले भन्सार कहिले मालपोत धेरै ठाउँ चाहर्दै बढुवा हुँदै सुब्बा नि भइसक्यो।
म जहाँको त्यही छु। न बढुवा हुन्छ न सरुवा हुन्छ। महिना बित्छ, तलब आउँछ र सकिन्छ। सुको बचत हुने होइन। घर-अफिस बस् जिन्दगी सकसपूर्ण चल्दै छ।
त्यो सीमित आम्दानीले कसरी यत्रो सम्पन्नताको शिखरमा पुग्यो होला! मलाई अचम्म लाग्छ र उसको त्यो सानदार जिन्दगी देखेर कहिलेकाहीं मलाई औडाहा हुन्छ।
एकदिन उसले मलाई गतिलो रेस्टुरेन्टमा डिनरको अफर गर्यो।
विदेशी हुस्कीले ज्यान तताउँदै उसको नजिकै गएर मैले सुटुक्क सोधें,‘होइन मित्र, यो परिवर्तनको रहस्य मलाई पनि सुटुक्क भन न। मेरो पनि हालत केही बलियो हुन्थ्यो कि!’
उसले म छेवैमा आएर गर्वसाथ भन्यो,‘मेरा तीन अभिन्न मित्रको सहयोगले नै यो सबै उपलब्धि भएको हो मित्र।’
मैले उत्सुकतापूर्वक मित्रहरूको नाम सोधें।
ऊ भन्दै थियो, ‘चाकरी, चाप्लुसी र भ्रष्टाचार।’
प्रकाशित: १ भाद्र २०७९ ०६:२५ बुधबार