११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

व्रत

लघुकथा

अम्बिका धिताल

हरिबोल काका एक वर्षदेखि बिरामी हुनुहुन्थ्यो। धेरै अस्पताल चहार्दा पनि रोग पत्ता लागेको थिएन।

काकी निकै चिन्तित हुनुभयो। उहाँले भन्नुभयो,‘अब हजुरलाई छिट्टै ठिक हुन्छ। यो वर्ष साउनमा पाँचओटा सोमबार परेको रहेछ। निराहार व्रत बस्दा मागेको फल प्राप्त हुन्छ भन्ने विश्वास छ।’

हरिबोल काकाले भन्नुभयो,‘नचाहिने कुरा नगर। केही वर्ष अगाडिसम्म साउनको सोमबारको केही कुरा हुँदैनथ्यो। अहिले कताको हावा चलेर यी सब कुरा आयो।’

काकीले प्रतिक्रिया जनाउनुभयो, ‘हजुर केही कुरामा पनि विश्वास गर्नु हुन्न। के हुँदो रहेछ, यसपालि त मान्नुस् है!’

काकी बोल्नुभयो, ‘कसले उचाल्यो तिमीलाई? घरको सारा कामको जिम्मा तिमीलाई परेदेखि तिमी कमजोर भएकी छौ। त्यसमा पनि ग्यास्ट्रिकको समस्या छ। व्रत बस्ने कुरै नगर।’

यति भन्दाभन्दै पनि काकी सोमबारको व्रत बस्नुभयो। हरियो र पहेंलो लुगामा सजिएर उहाँ शिव मन्दिर धाउनुभयो।

काकाले ‘जानै मन भए ठिकै छ जाऊ तर खाली पेटमा होइन खाना खाएर जाऊ। चाहेको पूरा हुन मन शुद्ध हुनुपर्छ। फेरि पहिलेकै कथा दोहोरिएला ढिपी नगर’ भनिरहनुभएको थियो।

‘अब यो एक दिन त हो नि’ भन्दै काकी मन्दिर जानुभयो। मन्दिरमा लामो लाइन थियो। चार घण्टासम्म लाइनमा बस्नुभएको काकी अकस्मात लड्नुभयो तर कहिल्यै नउठ्ने गरी।

प्रकाशित: १ भाद्र २०७९ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App