१९ मंसिर २०७९ सोमबार
कला

मिश्रित स्वादका मिठा कथा

पुस्तक

विक्रमभक्त जोशी, पेसाले इन्जिनियर, बैङ्करसमेत भइसकेका अनि अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर। यति भइसकेपछि बिक्रमभक्त जोशी नामको व्यक्ति प्रविधि, व्यापार र साहित्यसँग भलीभाँती परिचित नहुने कुरै भएन। उनमा प्राविधिक र व्यावसायिकताले भरिएको मस्तिष्क मात्रै होइन, भावना र संवेदनाले भरिएको हृदय पनि छ भन्ने प्रमाण हो उनको ‘चोभार ब्लुज’ कथासङ्ग्रह। उनको मस्तिष्कले पेशागत धर्म निर्वाह गरेजस्तै हृदयले कोमल र संवेदनासहितको सिर्जना पनि गरेको छ। त्यही सिर्जनाको पूञ्ज हो ‘चोभार ब्लुज’। ‘चोभार ब्लुज’ भित्र जोशीको मस्तिष्कले सोचेर कोमल हृदयले लेखेका कथाहरू छन्।

पाठकले ‘कर्नाली ब्लुज’ पढेका छन्। ‘अस्ट्रेलिया ब्लुज’ पनि पढेका छन्। कोहीकोहीले ‘काठमाडौं ब्लुज’ पनि पढेका होलान्। ब्लुजप्रति यति धेरै मोह किन? किन अर्काको देखासिकी? विशुद्ध मौलिक नेपाली नाम राख्न किन चुके कथाकार जोशी? पाठकको मनमा उठ्ने प्रश्न हुन् यी।

‘ब्लुज’ अङ्ग्रेजी शब्द हो, विशेषगरी सङ्गीतसँग सम्बन्धित। अङ्ग्रेजी साहित्य पढेका जोशीमा त्यही अङ्ग्रेजी साहित्यकै प्रभाव पो हो कि? त्यसो भए कथाहरूमा पनि त्यस्तो प्रभाव होला? पाठकको अनुमान केही सही र केही गलत सावित हुन्छन् ‘चोभार ब्लुज’ आद्योपान्त पढिसकेपछि। थोरै अङ्ग्रेजी हावापानी र परिवेशको अनि धेरैचाहिँ हाम्रै काठमाडौं उपत्यकाको रहनसहन, रीतिरिवाज र जीवनशैलीका मौलिक कथा छन् ‘चोभार ब्लुज’ भित्र।

कथाकारको दाबीअनुसार ‘चोभार ब्लुज’ भित्रका कथाहरू निकथा हुन्। कथाकारको यो दाबी उनकै कथामा प्रमाणित भएर आएका छन्। किनभने उनका कथाहरू निबन्धजस्ता पनि छन्। नियात्राजस्ता पनि छन्। निबन्ध र नियात्रा नभएको अवस्थामा नियमित कथाजस्ता चाहिँ पक्कै छन्। कथाहरूमा निबन्धको स्वाद पनि छन्। नियात्राको स्वाद पनि छन्। कथामा कथाको स्वाद त यसै पनि हुने नै भयो। समग्रमा जोशीका अधिकांश कथा कथा, निबन्ध र नियात्राको फ्युजन भएका छन्। त्यसैले कथाकारको दाबी सही लाग्छ।

नेपाली साहित्यमा निकथा एउटा नयाँ प्रयोग पनि हो। अहिलेसम्म नेपाली साहित्यमा कथा लेखिएका छन्। निबन्ध लेखिएका छन्। नियात्रा लेखिएका छन्। निबन्धकथा लेखिएका छन्। एकताका दिनेश सत्यालले केही निबन्धकथा लेखेका थिए, जुन गोरखापत्र र मधुपर्कमा छापिएका थिए। निबन्ध, नियात्रा र कथा तीनवटैलाई फ्युजन बनाएर निकथा लेख्नेचाहिँ सम्भवतः जोशी नै पहिला कथाकार हुन्। भलै कथाकार जोशीको यो नितान्त नौलो प्रयोग कत्तिको जायज अथवा कत्तिको सफल छ भन्ने कुरा नेपाली साहित्यका दिग्गज समीक्षक अथवा समालोचकहरूले खुट्याउने नै छन्। कथा, निबन्ध र नियात्रा केही पनि हुन नसकेर पो निकथा भएका हुन् कि? अथवा निकथा भनिएको हो कि? शङ्का जायज पनि छ।

‘चोभार ब्लुज’ भित्र १९ वटा कथा सङ्गृहीत् छन्। कथाको विषयमा विविधता छ। कथाहरू न उत्कृष्ट न त निकृष्ट, औसत खालकै छन्। सामाजिक यथार्थदेखि मनोविज्ञान, जीवनदर्शन र स्वैरकल्पनासम्म जोशीका कथामा भेटिन्छन्। संवेदना पक्ष पनि निकै प्रबल भएर आएको छ भने जीवनदर्शन पनि छ। राजनीतिक विषयवस्तुका कथा नहुँदानहुँदै पनि प्रतीकात्मक रूपमै भए पनि राजनीति घुसेको कथा हो ‘मोरिक्वल’। मानवेत्तर पात्रलाई मानवीकृत गरी लेखिएको यस कथामा नेपाली राजनीतिसँग मिल्दा चरित्रहरू छन्। अन्याय, अत्याचार र शोषणविरुद्धको विद्रोही छ कथामा। साम्यवाद र क्रान्तिको चेतले भरिएको छ यो कथा। समान अधिकारको आवाज बुलन्द भएको छ। फुटाऊ र राज गर भन्ने राजनीतिक सिद्धान्त यो कथामा पनि आएको छ। समग्रमा भन्नुपर्दा सचेत पाठकहरूले यो कथा पढ्दै गर्दा जर्ज अर्वेलको उपन्यास ‘एनिमल फार्म’ लाई सम्झने छन्।

‘चोभर ब्लुज’ भित्रका कुनै कथा निबन्धबाट सुरु भएर कथामा टुङ्गिएका छन्। कुनै कथा कथाबाट सुरु भएर निबन्धमा टुङ्गिएका छन्। अनि कुनै कथाचाहिँ नियात्राबाट सुरु भएर कथामा टुङ्गिएका छन् भने कुनै कथा कथाबाट सुरु भएर नियात्रामा टुङ्गिएका छन्। साहित्यका सिद्धान्तवादीहरूले भन्लान्, यस्तो पनि कथा हुन्छ र भनेर। हुँदोरहेछ। आखिर यो पनि एउटा प्रयोग नै हो, तर निरर्थक लाग्दैन यो प्रयोग। पाठकले नौलो स्वाद पाउने छन्। कथा पढ्दै गर्दा नेपाली साहित्यमा नवप्रवेशी कथाकारको लेखाइको अनुभूति पटक्कै हुने छैन पाठकलाई। लेखनमा परिपक्वता छ र कथाहरू परिष्कृत छन्।

सङ्ग्रहको पहिलो कथा ‘उत्सर्ग’ सामाजिक यथार्थवादी कथा हो। यसमा संवेदना पक्ष निकै प्रबल छ। कथाको प्रस्तुति पनि नवीन छ। ‘पर्खाल’ मा शारीरिकरूपमा अशक्त तर मानसिकरूपमा स्वस्थ एउटा मान्छेको भावना, कामना, चाहना र संवेदनाको सुन्दर प्रस्तुति छ। कथामा थोरै स्वैरकल्पना पनि छ। ‘यात्राका निरन्तर प्रश्नहरू’ नियात्राकथा हो। यात्रावर्णनदेखि लोग्नेको छोरा पाउने इच्छा पूरा गर्ने प्रयास गर्दागर्दै सुत्केरी व्यथाले मरेकी नारीको कारुणिक कथा पनि छ। ‘अनि म विरही भएँ’ मा कथाकारको यायावरीसँगै एउटा जोगीको प्रेमकथा पनि छ। ‘नीलो कमिज खैरो पाइन्ट’ कल्पनातीत कथा हो। कथामा गाडी एउटा बिम्बको रूपमा आएको छ। गाडी भनेको जिन्दगी हो। गाडी दुर्घटनामा पर्नु भनेको जिन्दगी नै दुर्घटनामा पर्नु हो। उनको कल्पनाशीलताको दरो प्रमाणका रूपमा आएका स्वैरकाल्पनिक कथा हुन् ‘लकडाउन फेन्टासी’ र ‘फ्लानर फेन्टासी’। यी दुवै कथामा स्वैरकल्पनाको प्रयोग भए पनि यथार्थको बोध गराउन सफल छन्।

प्राकृतिक प्रकोपको विपद्बाट प्रताडित गरिबको नियति र त्यही गरिबले जिजीविषाका लागि देख्ने गरेको सपना र कल्पनाको सुन्दर प्रस्तुति रहेको कारुणिक कथा हो ‘सुनको पोको’। ‘ख्याक, मान्छे र कुकुर’ चाहिँ नेपाली समाजमा प्रचलित एउटा मिथकमा आधारित कथा हो। कथा रोचक छ। रैथाने समाज र संस्कृतिलाई पृष्ठभूमि बनाएर लेखिएको यो कथाले सहरी जीवनको उहापोहलाई पर्गेलेको छ। ‘सम्झी बस्छु कता–कता’ युवावयको कौतुहलपूर्ण प्रेमकथा हो। कथामा प्रेम र कर्तव्यको अन्तरद्वन्द्वमा अलमलिएर अन्ततः प्रेम बिछोडमा परिणत भएको छ। तर कथान्त्यमा बिछोडिएको प्रेम पुनः जोडिने प्रयासमा रहेको सङ्केत देखिन्छ।

‘धीर्बाको विदेशयात्रा’ सामान्यखालको तर रमाइलो कथा हो। स्थानीय लवजले कथालाई रमाइलो र रोचक बनाएको छ। नेपाली मन जहाँ गए पनि नेपाली नै रहन्छ भन्ने सन्देश यो कथाले दिन्छ। ‘बिर्सिएको त्यो इमेल’ मा आमाका बारे लेखिएको एउटा मार्मिक इमेललाई कथाको आधार बनाइएको छ। कथा सामान्य भइकन पनि मार्मिक छ। एउटा सपनाको कथा, अनि त्यो सपनाको दुखद अवसानको कथा हो ‘जगल्टे घर फर्किन्छ’। सहरमा त्यसमा पनि राजधानी सहर काठमाडौंमा बसेर आधुनिक जीवन जिउने लालसाले सुकुम्बासी बन्न तयार मान्छेहरूले भोग्नुपर्ने जीवनको दुखद नियतिको वर्णन यो कथामा छ। ‘यो जात्रा त्यो जात्रा’ मा जीवन जात्राहरूको योग हो भन्ने सन्देश छ। सुखमा भोगिने जात्रा र दुखमा भोगिने जात्राको तुलनात्मक वर्णन छ। एउटाले आनन्द दिन्छ। अर्कोले पीडा र वेदना। कथामा स्थानीय नेवारी जीवन र संस्कृतिको मीठो झल्को छ।

सङ्ग्रहको शीर्षककथा ‘चोभार ब्लुज’ चाहिँ नितान्त प्रेमकथा हो। प्रेमको नाउँमा भोग्नुपरेको पीडा र उच्छवासको कथा हो। प्रस्तुतिमा नवीनता छ। यद्यपि कथानक सशक्त बन्न सकेको छैन। कताकति पाश्चात्य साहित्यको प्रभाव देखिन्छ कथामा र कथाको प्रस्तुतिमा पनि। प्रेमपीडाले आहत् प्रेमीको मनोदशालाई केलाउन भने कथाकार सफल छन्। ब्लुजको अर्थ दुख, पीडा, उदासी हो, जुन यो कथामा छ। ‘बोसन हाइट’ चाहिँ थोरै निबन्ध र धेरै नियात्राजस्तो लाग्ने कथा हो। यसमा बाख्री खोज्दै गरेको बूढाबाको व्यथा र वेदना छ। जुन व्यथा अहिलेका धेरै नेपाली ग्रामीण भेगका दुखी बाबुआमाले भोगिरहेका छन्।

‘अनिचिछत सम्बन्ध’ एउटा दुखान्त प्रेमकथा हो। प्रारब्धले दुई मित्रबीचको मित्रतालाई पनि भित्रभित्रै तिक्त बनाएको छ। एकले अर्काको प्रेमिकालाई श्रीमतीका रूपमा स्वीकार्नुपर्ने नियतिले अनिच्छित सम्बन्ध स्थापित भएको छ। अनिच्छित सम्बन्धले सम्बन्धसुखलाई दुख र विषादमा परिणत गरिदिएको छ। जिन्दगीमा यस्तो हुनु अस्वाभाविक होइन भन्ने जीवनदर्शन यो कथामा छ। सङ्ग्रहको अन्तिम कथा हो ‘बाली वैजनी’। नियात्राजस्तो लाग्ने यो कथामा इन्डोनेसियाको भूगोल, समाज, जीवन, जीवनशैली, धर्म, संस्कृति र भाषाको येथष्ट जानकारी छ। साथै आफ्नै प्रेमिका अर्कैकी श्रीमती भएर पुनः आफ्नै श्रीमती हुन आउँदा पनि बिनाप्रश्न, बिनाहिचकिचाहट चुपचाप स्वीकार्ने एउटा महान हृदय भएको पात्रको चोखो प्रेमकथा छ।

कथाकार जोशीको कथा लेख्ने शैली भिन्न छ। चलनचल्तीका कथाभन्दा भिन्न छन् उनका कथा। उनका कथामा समाज छ। संस्कृति छ। जीवनदर्शन छ। तर राजनीति अत्यन्तै कम छ। अझ छँदै छैन भन्दा पनि हुन्छ। धेरैजसो कथाको पृष्ठभूमि काठमाडौं उपत्यका नै रहेको छ। मिथकहरूको माध्यमबाट काठमाडौं उपत्यकाको सभ्यता, जीवन र जीवनशैलीको वर्णन गर्ने जोशीको शैली रोचक छ। कतै कथाजस्तो, कतै निबन्धजस्तो र कतै नियात्राजस्तो पारेर भूगोल, समाज, संस्कृति र जीवनशैलीका बारेमा धेरै कुरा भन्नु जोशीको कथाकारिताको विशेषता मान्न सकिन्छ। उनका कथामा विशेषतः काठमाडौं उपत्यकाभित्रको स्थानीयता झल्किएको पाइन्छ। आधुनिकताको अतिक्रमण र अर्थ-सामाजिक संक्रमणसँगै काठमाडौं काठमाडौं नरहेपछिको पीडा धेरै छन् कथामा। पुस्तक पठनीय छ। पठनको भरपुर आनन्द प्राप्त गर्न सकिन्छ।

प्रकाशित: २८ श्रावण २०७९ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App