४ वैशाख २०८१ मंगलबार
कला

रम्भाको पसल

लघुकथा

लक्ष्मण अर्याल

चिया पाइन्छ साउनी?’ ढोका उघार्नासाथ सखारैमा रम्भाले जगनेलाई सुनी।

दिनारम्भको पहिलो ग्राहक हो जगने। रम्भा पहिलो ग्राहकलाई कहिल्यै उपेक्षा गर्दिन। किनकि पहिलो ग्राहक दिनभरिको व्यापारको छुक हो भन्ने उसलाई लाग्छ। रम्भाले चियाको कालो किट्ली बसाली। आगाको ताताले किट्ली कटकट गर्न थाल्यो। चिया बेचेर घर चल्दैन भन्ने रम्भालाई राम्रै थाहा छ। यसैले बेलुकी आधारातसम्म तीन पाने बेच्छे रम्भा। बाँच्नका लागि अरू थोक पनि बेच्छे भन्ने हल्ला चलेको छ तर केके बेच्छे त्यो कि उसैले जानोस् कि किन्नेले।

‘बूढी माइत गै होइन?’ रम्भाको पोइले जगनेतर्फ प्रश्न हुत्यायो।

जगने चियाको पर्खाइमा ढुंगाझैं थपक्क कुर्चीमा बसिरहृयो।

जाडामा अर्की बूढी ल्याउनू नि?’ रम्भाको पोइ नै बोल्यो फेरि।

यो पल्ट रम्भा बोली,‘हो त नि, गर्मी लागेपछि छाडे भैहाल्छ नि?’

रम्भाले पनि एक जाडाको जुनेली रात घरको लोग्ने लखेटेर अर्को लोग्ने भित्र्याएकी थिई तर त्यो लोग्नेलाई उसले गर्मी लागेपछि पनि छाडिन। यो त्यही लोग्ने हो रम्भाको।

चिया पिइसकेर बाटो लाग्यो जगने।

रम्भा चिच्याई,‘ओ भाइ, चियाको पैसा।’

सुर्के थैलीमा पैसा घुसारेर रम्भाले जगनेलाई सम्झाई, ‘आउँदै गर्नू है भाइ, नआत्तिनू। यो पसल भोकाएका मान्छेहरूकै लागि हो।’

प्रकाशित: २५ श्रावण २०७९ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App