२३ श्रावण २०७९ सोमबार
कला

पछुतो

लघुकथा

शान्ता तिम्सिना

मोबाइलमा घण्टी बज्यो। हतारमा उठाएँ, आमाको रहेछ। भन्नुभयो, ‘छोरी, तिज आयो त। भोलि बुबा लिन आउनुहुन्छ। घरमा कुरा मिलाउनु है।’

फोन राखेर घरमा सोधे। अनुमति  पनि मिल्यो। जन्मघरमा सबै दिदीबहिनीको भेटघाट र बुबाआमासँग रमाइलो तिज मनाउने खुसीमा थिएँ म।

देउरानी मिना मेरो गरीबीमा हाँसो गर्थी। उनका श्रीमान् भन्सारमा राम्रै आम्दानी गर्ने हुनाले घमण्ड बढेको थियो। उसले  हाँस्दै भनी, ‘न गहना छ्न न राम्रो लुगा नै! के जानू माइत पनि? हाम्रो घरकै इज्जत जान्छ। हुन त इज्जत  हुनुपर्‍यो नि बेइज्जत हुनलाई।’

उता देउरानी भने भए जति गहना लगाएर चट्ट सारीमा सजिएर श्रीमानका साथमा माइत जाँदै थिई।माइती घरमा सबै मिलेर दर खाइयो। खुसी र पीडा साटासाट गरियो। मन खुसी भएको थियो। एकछेउमा रेडियो बजिरहेको थियो। तिजका गीतहरूले वातावरण झनै मनोरम बनाइरहेको थियो।

समाचारको सुरुमै सुने मैले, ‘भ्रष्टाचारको अभियोगमा गंंगा कंडेललाई बिगोसहित सात वर्षका लागि जेल चलान गरियो।’

हतारहतार घर पुगेकी थिएँ। देउरानी छेउमा आएर अँगालो हालेर रुँदै भन्न थाली, ‘हामी त घर न घाटको भयौं। यस्तो दिन आउला भनेर मैले त सोचेकी पनि थिइन।’

प्रकाशित: १८ श्रावण २०७९ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App