२३ श्रावण २०७९ सोमबार
कला

सुनको लौरो

लघुकथा

किशन पौडेल

गाउँघरमा चौतर्फी चर्चापरिचर्चा हुन थाल्यो। गाउँका सम्पन्न धनाढय  दुर्गालालले सुनको लौरो उपहार पाए।

पत्रपत्रिकाहरूले पहेंलो सुनको लौरो सहित कभर पृष्ठमा समाचार छापे।

‘भगवानले पनि धनीलाई मात्र हेर्दा रहेछन् है रामेको बा! कति किलो होला है त्यो लौरो? हजुरले जाबो एउटा चार आनाको तिलहरी पनि बनाइदिन सक्नुभएन त।’ मनकलीले एकैसाथ आफ्नो जिज्ञासा, दुखेसो र कुण्ठा ओकली।

‘यस्तै हो मनकली, मन बुझा। गलाभरि सुन लगाएर कोही ठूलो मान्छे हुँदैनन्। तँलाई यही पहेंलो नक्कली सुन पनि कति राम्रो सुहाएको छ। हेर त ऐना।’

रामेको बा सान्त्वनाका दुई शब्द पोख्दै थिए, ‘हुनेखानेको गलामा भएको भए यही गहना पनि सक्कली देखिन्थ्यो। हामी गरीबले सक्कली नै लगाए पनि नक्कली नै भन्छन्। चित्त बुझा न मनकली।’

रामे स्कुलबाट दौडिंदै घरभित्र पस्यो र फुत्त भुईमा झोला फाल्दै भन्यो, ‘आमा-आमा, त्यो गाउँको मुखियाले उपहार पाएको सुनको लौरो त नक्कली पो रहेछ नि! आज सरले भन्नुभएको।’

मनकलीले राहतको सास फेर्दै थिइन्।

प्रकाशित: १८ श्रावण २०७९ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App