बैतडीका ९० वर्षीय सर्जक जयवल्लभ भट्टकाे ‘पुर्खाका पाइला’ लोकार्पण भएको छ।
अम्बिका भट्टको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
सर्जक भट्टले पाँच दशकभन्दा धेरै समय शिक्षण पेसाकाे साथ साथै समाजसेवामा समर्पित छन्।
प्रमुख अतिथि पूर्वप्रधानमन्त्री खनालले कृति लोकार्पण गर्दै कला र साहित्य साधनाका लागि उमेर कहिल्यै बाधक नबन्ने बताए। ९० वर्षको परिपक्व उमेरमा पनि भट्टले देखाएको अगाध साहित्यिक सक्रियता, सिर्जनशीलता र तन्नेरी जाँगर नयाँ पुस्ताका लागि अत्यन्तै प्रेरणादायी रहेको उनको भनाइ थियो।
प्राडा देवी नेपालले यस काव्यभित्र कविको लामो जीवनयात्राका विविध उकालीओराली, भोगाइ र आत्मीय अनुभूतिहरूको जीवन्त आत्मोद्घाटन भएको उल्लेख गरे।
त्यस्तै समीक्षक भुवन निस्तेजले कृतिमा १५ औँ–१६औँ शताब्दीका तत्कालीन बैतडी स्वराड गर्खाका भट्ट, चन्द, लुहार लगायतका घरानाको इतिहास समेटिएको र तत्कालीन मुगल शासकहरूको आक्रमणविरुद्ध मध्यकालीन डोटीका राजा हरि शाही र कल्याण चन्दले गरेको प्रतिकारका प्रसंगहरू समेत रहेकाले यो तत्कालीन इतिहास अन्वेषण गर्ने कुञ्जी भएको बताए।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि शुभकामना सन्देशमार्फत मौखिक परम्परा र स्मृति पुस्तकमा समेट्ने प्रयासको प्रशंसा गरेका थिए।
कृतिका संरक्षक, सम्पादक एवं सर्जकका सुपुत्र (प्याब्सन काठमाडौंका अध्यक्ष) नवराज भट्टले यो कृति बुबाको साहित्यिक सिर्जना मात्र नभएर सिङ्गो परिवारका लागि जीवनको संस्कार, आदर्श र अनुशासनको अमूल्य मार्गदर्शक दस्तावेज भएको बताए।
सोही अवसरमा उनले मातापिताको सम्मानमा "नन्दादेवी जयवल्लभ प्रतिष्ठान" स्थापनाको घोषणासमेत गरे।
आफ्नो भनाइ राख्दै वयोवृद्ध सर्जक जयवल्लभ भट्टले यो कृति कुनै व्यावसायिक वा शास्त्रीय दृष्टिकोणभन्दा पनि आफ्नै जीवनका भोगाइ, मधुर संस्मरण र अतीतका पाइलाहरूलाई भावी पुस्ताका लागि छाडिएको सादा स्मृति–प्रयास भएको स्पष्ट पारे।
कवि तीर्थराज भट्टले गरेकाे कार्यक्रममा कोट्देवी विद्यालयका छात्रछात्राको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, सम्मान, अभिनन्दन र रचनावाचन पनि भएकाे थियाे।
कुमारी अम्बिका भट्ट तथा शुभकामना प्रकाशन प्रालि, भक्तपुरले प्रकाशित गरेकाे यस कृतिमा बैतडीको किम्तोली क्षेत्रलाई केन्द्र बनाएर सुदूरपश्चिमको ग्रामीण जीवन, स्थानीय भाषा, संस्कृति, जनश्रुति र ऐतिहासिक केही तस्बिरसमेत समेटिएका छन्।
प्रकाशित: ११ आश्विन २०८३ ०६:३७ आइतबार





