१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नेपालमा पर्यटन पत्रिकाको उद्भव र विकास

नेपाल पर्यटन पत्रिकाको इतिहास धेरै लामो नभए पनि महत्वपूर्ण मान्न सकिन्छ। पर्यटन प्रवर्द्धनमा यस्ताखाले पत्रिकाले प्रशंसनीय भूमिका निर्वाह गर्दै आएका छन्। अचेल देशको चतुर्मुखी विकासका लागि पर्यटन प्रवद्र्धन आवश्यक मात्र होइन, अति आवश्यक ठानिन्छ। यसबाट विदेशी मुद्राको आयआर्जनमा अभिवृद्धि हुन्छ। यसलाई ‘सुनको फूल’ पार्ने उद्योगका रूपमा मान्यता प्राप्त हुन गएको छ विश्वभरिमा। अतः पर्यटनलाई प्रचारप्रसार गर्नका लागि पर्यटन पत्रिका एउटा सशक्त माध्यम मानिन्छ।  

पर्यटन पत्रिकाको प्रारम्भ

सन् १९६४–६५ तिर नेपालमा तारे होटल खुल्न थालेका हुन्। सर्वप्रथम सोल्टी होटल खुल्यो पाँचचारे होटलका रूपमा। यस होटलमा नै सर्वप्रथम क्यासिनो पनि खुल्यो। यसका संस्थापक थिए अमेरिकी नागरिक आरडी टटल। यहीँबाट प्रथम पर्यटन पत्रिका ‘इन्ज्वाय नेपाल’ को सुरुआत पनि गरियो। यसको सम्पादकको अभिभारा ‘रूपरेखा’ मासिकका प्रधान सम्पादक उत्तम कुँवरज्यूलाई दिइयो। एक दिन उहाँ ‘इन्ज्वाय नेपाल’ पत्रिकाको अंक लिएर खिचापोखरीस्थित मद्रास कफी हाउसमा आउनु भयो, जहाँ बेलुकी हरेक दिन केही लेखकहरूको जमघट हुने गर्दथ्यो। देशको राजनीतिदेखि लिएर साहित्य संस्कृति पर्यटनको चर्चा परिचर्चा हुने गर्दथ्यो। तदुपरान्त शाही नेपाली वायुसेवा निगमको इन्फ्लाइट म्याग्जिनका रूपमा ‘यति’ रंगीन पत्रिकाको प्रकाशन सुरु भयो।  

‘यति’ शाही नेपाल वायुसेवा निगमको लोगो भएकाले यसै नामबाट यो पत्रिका निस्कन थाल्यो। शाही नेपाल वायुसेवा निगमको मुख्य भवन अगाडि अहिले पनि यतिको प्रतिमा निर्मित भएको पाइन्छ र यसका मूर्तिकार हुनुहुन्छ वरिष्ठ कलाकार प्रमिला गिरी। ‘यति’ बाट नै शाही नेपाल वायुसेवा निगमबाट सञ्चालित हवाइजहाजको पनि नामकरण गरियो। यसप्रकार शाही नेपाल वायुसेवा निगमबाट नै नेपालको राष्ट्रिय ध्वजा अंकित हवाइजहाज विदेशी भूमिमा उड्न थाल्यो। ‘यति’ ब्रान्डेड नाम हुन गयो। ‘यति’ पत्रिकाका प्रधान सम्पादक हुनुहुन्थ्यो आइके प्रधान। उहाँ एकदम कर्मनिष्ठ कर्मचारी हुनुहुन्थ्यो तर हृदयको सरल व्यक्तित्व। मसँग उहाँको घनिष्ठ सम्बन्ध स्थापित हुन गयो। एकपल्ट मलाई उहाँले के आग्रह गर्नुभयो भने जनकपुरको बारेमा एउटा आलेख तयार गरेर दिनुस् ‘यति’ पत्रिकामा प्रकाशित गर्नका लागि। मैले खुबै मिहिनेत गरेर त्यो आलेख तयार गरेर उहाँलाई दिएँ। 

उहाँले मौखिक नै वाचा गर्नुभएको थियो कि म तपाईंलाई लेखकको पारिश्रमिकका रूपमा दुइटा हवाइ टिकट काठमाडौंदेखि कोलम्बसम्मको दिन्छु। त्यो आलेख प्रकाशित भएपछि आफ्नो वाचाबन्धन अनुसार नै मलाई दुईवटा हवाइ टिकट दिनुभयो र मैले सपत्नी कोलम्बो भ्रमण गर्ने अवसर पाएँ। त्यसपछि मेरो आकर्षण ‘यति’ पत्रिकाप्रति बढ्दै गयो। म यदाकदा यति पत्रिकामा लेख्न थालेँ र सँगै द राइजिङ नेपाल दैनिकमा पनि। यसप्रकार मैथिली सांस्कृतिक र धार्मिक पर्यटन विषयक लेख लेख्न थालें।  

मलाई झन् सहज हुन थाल्यो। म आइके प्रधानसँग नियमित भेट गरेर यतिका बारेमा नै सक्दो सुझाव र आलेख पनि उहाँको मागअनुसार दिन थालेँ। यसैक्रममा भारतको नयाँ दिल्ली निवासी सागर आलुवालिया सफारी इन्डिया पर्यटन पत्रिका निकालेर सधैँ आइके प्रधानसँग भेट्न आउने गर्दथेँ। सफारी इन्डियामा शाही नेपाल वायुसेवा निगमको विज्ञापन नियमित प्रकाशित हुन्थ्यो। सागरज्यूलाई निःशुल्क हवाई टिकट दिने प्रावधान नै थियो पारिश्रमिकका सट्टामा। उहाँ काठमाडौं आउँदा जहिले पनि पाँच तारे होटलमा बस्नुहुन्थ्यो। एकपल्ट बानेश्वरस्थित एभरेस्ट होटलमा उहाँको कोठामा उहाँलाई भेट्न पनि गएँ। उहाँको जीवनशैलीबाट प्रभावित र प्रेरित पनि भएँ। त्यसैक्रममा मेरो दिमागमा पनि एउटा विचार आयो, सफारी इन्डियाका जस्तै ‘सफारी नेपाल’ किन प्रकाशित नगर्ने? मैले आइके प्रधानज्यूसँग पनि यसबारेमा विचार विमर्श गरेँ। उहाँँले पनि सक्दो सहयोग गर्छु भनेर वाचा गर्नु भयो। 

मैले ‘सफारी नेपाल’ को दर्ता र स्वीकृति ललितपुर जिल्ला कार्यालयबाट लिएँ। कीर्तिपुरमा प्राध्यापन सेवामा भएकाले मसँग प्रशस्त समय हुन्थ्यो। शेष समयलाई मैले सफारी नेपाल पत्रिकाको प्रकाशन र सञ्चालनमा लगाउन थालेँ। म एक्लै विज्ञापनका लागि होटल, ट्राभल एजेन्सी र ट्रेकिङमा चहार्न थालेँ। सबैसित सहयोग पनि प्राप्त हुन थाल्यो। यसैक्रममा काठमाडौं गेस्ट हाउसका मालिक कर्ण शाक्यज्यूसँग पनि परिचय भयो। वहाँ त लेखनदेखि लिएर विज्ञापनसम्ममा पनि सहयोग गर्न थाल्नुभयो। यसैबीच खिचापोखरीस्थित पनोरमा होटलका मालिक एलेन तुलाधरसँग पनि सहयोग प्राप्त भयो। उहाँले त आफ्नो होटलमा एउटा कोठा पनि अफिस सञ्चालनका लागि दिनुभयो र विज्ञापन संकलनमा आफ्नो स्टाफलाई सहयोग गर्नका लागि खटाएर मलाई मद्दत गर्नुभयो। उहाँ मभन्दा कम उमेर भएका तर व्यापारमा मभन्दा कति अनुभवी कति अनुवभी। चियासमेत आफ्नो होटलबाट नै निःशुल्क खुवाउनुहुन्थ्यो। उहाँसँग गाडी पनि भएकाले उहाँसँग तत्कालीन पर्यटन मन्त्री श्रीप्रसाद बुढाथोकीसँग उहाँको अन्तर्वार्ता सफारी नेपालका लागि लिएर प्रकाशित गरेँ। 

त्यस्तै सोल्टी होटलका मालिक प्रभाकर शमशेर राणाको सहयोगमा उहाँको अन्तर्वार्ता लिएर प्रकाशित गरेँ। यसरी सफारी नेपालको सफर लम्बिँदै गयो। मलाई केही आर्थिक लाभ पनि हुनथाल्यो। मेरो आकर्षण झन्झन् बढ्दै गयो पर्यटन पत्रिका पेसामा। मैलेचाहिँ सफारी नेपालको सम्पादकमा आरडि राकेश नै राखें। उता आरडी टटलले ‘नेपाल ट्राभलर’ पत्रिकाको प्रकाशन पहिलादेखिनै सुरु गरिसक्नु भएको थियो। यस अर्थमा उहाँ पर्यटन पत्रिका र क्यासिनो नेपालमा स्थापित गर्नका लागि पहल गर्नुभयो, जुन प्रशंसनीय कुरो हो। उहाँले धनप्रधान भन्ने व्यक्तिलाई विज्ञापन संकलनका लागि गाडि दिएर पठाउने गर्नुहुन्थ्यो। मचाहिँ लुरुलुरु हिँड्दै होटल, ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीमा जाने गर्दथेँ। यसो गर्दा लघुताभाष हुन्थ्यो तर गर्ने के? त्यसपछि नेपाल ट्राभलर अन्तर्राष्ट्रिय स्तरको भएकाले त्यसमा विज्ञापन भरमार हुन्थ्यो। रंगीन पत्रिकामा सबैले विज्ञापन दिन मनपराउँथे तर मेरो पत्रिका ‘सफारी नेपाल’ श्यामश्वेत भएकाले पाँचतारे होटेलहरूले विज्ञापन नै दिन मनपराउँदैनथे। 

अन्नपूर्ण होटलका महाप्रबन्धक किशोर पाण्डेले कहिलेकाहीँ आफ्नो होटलको विज्ञापन दिएर मलाई सहयोग गर्नुहुन्थ्यो। आरडी टटलले एनटिटिआर नेपाल ट्राभल ट्रेड रिपोर्टर पत्रिका पनि समानान्तर रूपमा प्रकाशित गर्न थालेँ। एउटा अर्को ग्रुपले नेपाल ट्राभलरको प्रतिस्पर्धामा ट्राभलर नेपालको प्रकाशन पनि सुरु गरे। यसरी ट्राभल म्यागाजिन दिनानुदिन प्रतिस्पर्धात्मक हुन थाल्यो र लगानी पनि प्रचूर मात्रामा गर्नुपर्ने भइसकेको थियो। हरिराज जोशीले ‘इमेज नेपाल’ प्रकाशित गर्न थाले। त्यस्तै अर्को एटा ग्रुपले ‘वेलकम नेपाल’ निकाल्न थाले। यसरी यो आकर्षक बजारको प्रतियोगिता र प्रतिस्पर्धामा मद्वारा सम्पादिन सफारी नेपालको केही ठाउँ नै थिएन। यस्तो स्थितिमा मलाई के लाग्न थाल्यो भने अब चाहिँ म यस क्षेत्रमा सफल हुन सक्दिनँ। मलाई केही परिचित पत्रकार मान्छेहरूले ‘सफारी नेपाल’ पत्रिकामा सामेल गर्ने आग्रह गरे। 

म पनि सहयोगी साथीहरूको साथमा सफारी नेपाललाई स्तरीय रंगीन पत्रिका बनाउन सक्छु कि भन्ने लागेर काठमाडौंका रैथाने दुईजना परिचित पत्रकारहरूलाई सफारी नेपालको टिममा सामेल गरेँ। हुन त उनीहरूलाई पनि पर्यटन पत्रिकाको अनुभव थिएन। म त सम्पादक नै रहेँ। एक जनालाई मैले कार्यकारी सम्पादक र अर्कोलाई प्रबन्ध सम्पादकका रूपमा सफारी नेपालको स्टाफमा सामेल गरेँ। प्रकाशिकामा मेरी श्रीमती तारा देवी नै रहिन्। सल्लाहकार सम्पादकमा पनि एक जनालाई यस टिममा भित्र्याएँ। यसरी म एक्लै एक दशकसम्म सफारी नेपालको सम्पादकका रूपमा कार्य गरें। नयाँ टिमले त नयाँ काम गरेर सफारी नेपालको स्तरोन्नति गर्नमा सहयोग गर्न थाले तर विज्ञापन संकलनमा आशाजनक काम हुन सकेन, जुन पत्रिकालाई सुचारुरूपमा सञ्चालन गर्नका लागि अति आवश्यक थियो। यिनीहरू महाचलाख भएकाले र रैथाने भएकाले विज्ञापनको रकममा पनि हिनामिना गर्न थाले। 

शाही नेपाल वायुसेवा निगमको हवाइ टिकट आफूखुसी बेचेर चैनको बाँसुरी बजाउन थाले। शाही नेपाल वायुसेवा निगम वार्टर सिस्टममा विज्ञापन दिने गर्दथ्यो। दुई तीनचोटी त म सपत्नी सिङ्गापुर र हङकङको भ्रमण पनि गर्ने मौका पाएँ। त्यसपछि त्यो विदेश भ्रमणको सिलसिला पनि समाप्त भयो किनभने शाही नेपाल वायुसेवाले दिएको रकम सफारी नेपालको खातामा छँदै थिएन। यति मात्रै कहाँ हो र? मलाई थाहै नदिईकन सफारी नेपाललाई माया मारेर ‘हिमाल होराइजन’ पत्रिका निकालेर तत्कालीन पर्यटन मन्त्रीसँग होटल माउन्टेनमा विमोचन पनि गराइ हाले। मैले पछि थाहा पाएँ र तीनछक परें। यसैबीच सम्पादक वाइएन लम्साल र उनको सम्पादकीय टिमले नेपाल ‘भिजिटर द्वैमासिक’ पत्रिका पनि निकाल्न थाले।  

अहिलेको वर्तमान स्थितिमा नेपाल वायुसेवा निगमले ‘साङ्ग्रिला पर्यटन पत्रिका’ नियमित रूपमा निकाल्न थालेको छ, जुन स्तरीय छ तर निगमले ठेक्कामा प्रकाशनको अभिभारा दिएकाले लेखकहरूलाई लेखकस्व पाउनमा मुस्किल भइराखेको छ। बुद्ध एयरले पनि यात्रा पत्रिका प्रकाशित गर्न थालेको छ, जुन आन्तरिक उडानका लागि उपयुक्त नै देखिन्छ र आन्तरिक पर्यटनलाई टेवा पुर्‍याइराखेको छ। मचाहिँ सरकारी सेवामा भएकाले मेरो पदस्थापन प्राध्यापन सेवाबाट निर्वाचन आयोगमा सहसचिवका रूपमा भएकाले मैले ‘सफारी नेपाल’को प्रकाशन र सम्पादन छोडेको झन्डै तीन दशक भइसक्यो। 

मलाई नैतिकरूपमा पनि ‘सफारी नेपाल’को सम्पादन र प्रकाशन गर्न उचित लागेन। अवकाश प्राप्त भएपछि ‘सफारी नेपाल’ निकाल्ने सपना देखें तर निकाल्ने आँट र आर्थिक स्रोतको अभाव भएकाले मैले सदाका लागि ‘सफारी नेपाल’को प्रकाशन र सम्पादन बन्द गरेँ। नेपालमा पर्यटन पत्रिकाको भविष्य सुनौलो छ। अब त डिजिटलमा पनि यी पत्रिकाहरू निस्कन थालेका छन्। नेपाल वायुसेवा निगमले ‘आकाश भैरव’ पर्यटन पत्रिका निकालेर अभिनन्दनीय काम गरिराखेको देखिन्छ। 

प्रकाशित: १४ श्रावण २०७९ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App