१८ मंसिर २०७९ आइतबार
कला

सूर्यबहादुर

कोही भोकै पर्दैन। कोही भोकै मर्दैन।

यो न कविताको अंश हो, न हो गीतको अन्तरा। यो हो हाम्रो शासकको नारा, अर्थात् हाम्रो सरकारको नारा। नारा हो, तैपनि सुन्नेलाई कर्णप्रिय लाग्छ। पढ्नेलाई पठनीय लाग्छ। तर सरकारको कार्यशैली देख्दा मनको अन्तरकुन्तरदेखि रिस उठेर आउँछ। कोही भोकै पर्दैन भनिएको छ, तर धेरै नेपाली भोकै छन्। कोही भोकै मर्दैन भनिएको छ, तर भोकले भटाभट मर्दै छन्। उता सप्तरीमा मलर सदा भोकले मर्‍यो। यता कीर्तिपुरमा सूर्यबहादुर तामाङ भोकले मर्‍यो। देशभरि धेरै मलर सदा र सूर्यबहादुरहरू भोकले मर्दै छन्।

सरकारले देखेकै छैन र सुनेकै छैन, जनता भोकले मरेको। म यस्तो सोच्दै घरबाट बाहिर निस्केँ, भोकले मरेको सूर्यबहादुरलाई हेर्न। सूर्यबहादुर हाम्रो सहरमा भारी बोक्ने काम गथ्र्यो। अर्थात् हामी सबैको भारी बोक्थ्यो।

सूर्यबहादुरको लाशलाई मान्छेको भीडले घेरिसकेको रहेछ। सूर्यबहादुर भने हातमा नाम्लो लिएर खुला सडकको पेटीमा उत्तानो परेर आनन्दले निदाइरहेको थियो चिरनिद्रामा। नाम्लो लिएको हात उसको छातीमा थियो। सायद ऊ भनिरहेको थियो, ‘हेर, मैले मेरो नाम्लोबाहेक कसैको केही लगेको छैन।’

सूर्यबहादुर गएछ, फेरि कहिल्यै नफर्किने गरी। हामीलाई कहिल्यै नभेट्ने गरी। फेरि हाम्रो भारी कहिल्यै नबोक्ने गरी। अब हाम्रो भारी कसले बोक्छ? हामीलाई पिर पारेर गएछ सूर्यबहादुर।

सूर्यबहादुर कति ज्ञानी। कुनै हल्लै नगरी सुटुक्क गएछ। कसैलाई थाहै नदिई गएछ। भोकको कथा लेख्ने र भोको अनुहारको तस्बिर बेच्नेहरूले पत्तै पाएनन्। नत्र उसको कथा लेख्ने र उसको भोको अनुहारको तस्बिर छापेर कमाउनेहरूको तँछाडमछाड हुन्थ्यो।  

सूर्यबहादुरको शवलाई मान्छेको भीडले घेरिसकेको रहेछ । सूर्यबहादुर भने हातमा नाम्लो लिएर खुला सडकको पेटीमा उत्तानो परेर आनन्दले निदाइरहेको थियो चिरनिद्रामा । नाम्लो लिएको हात उसको छातीमा थियो ।

सहरमा सूर्यबहादुरका आफ्ना कोही छैनन्। न श्रीमती, न छोराछोरी, न कोही आफन्त। सूर्यबहादुर गाउँबाट एक्लै आएथ्यो, केही सपना साँचेर, केही विपना बोकेर। सूर्यबहादुर एक्लै थियो। एक्लै गयो सुटुक्क। उसलाई रोक्ने कोही भएनन्। उसलाई रोक्ने कोही थिएनन्। उसको बाटो छेक्ने कसैको आँसु थिएन। त्यसैले उसलाई जान सजिलो भयो। ऊसँग एउटा सग्लो नाम्लो थियो। त्यही थियो उसको जीवनभरको साथी। जसलाई उसले कहिल्यै छोडेन। जसले उसलाई कहिल्यै छोडेन। ऊसँग त्यही एउटा नाम्लो थियो। त्यही नाम्लोसँग उसको अटुट सम्बन्ध थियो। उसको जीवनको अन्तिम घडी र त्यसपछि पनि त्यही नाम्लो उसको साथमा थियो। त्यही नै उसको साथी थियो।

जाँदाजाँदै उसले कसैलाई दुख नदिई गयो। जति दुःख खेप्नु थियो आफैले खेप्यो। कसैले उसको मृत्युमा शोक मान्नुपरेन। दुःख बार्नुपरेन। रीत पुर्‍याउनु परेन। संस्कार धान्नु परेन। ऋण गरेर खर्च गर्नु परेन। पत्रिकामा समवेदना छपाउनु परेन। ऊ सुटुक्कै गयो। एक्लो हुनुको पनि फाइदा रहेछ। कसैलाई दुःख नदिई जान पाइने रहेछ। कसैलाई केही भन्ने अवसरै नदिई जान पाइने रहेछ। नत्र गइसकेपछि पनि कत्तिले त यसो पनि भन्थे होलान्, बल्ल मरेछ त्यो !

सूर्यबहादुर त गएछ। अब उसको ठाउँमा फेरि अर्को कोही सूर्यबहादुर आउला। यो देशमा धेरै सूर्यबहादुरहरू छन्, जीवन खोज्दै गरेका र जीवनको आशा खोज्दै गरेका। आँखामा धेरै रङ्गीन सपना साँचेर सहर पस्ने सूर्यबहादुरहरू सहरमा यत्रतत्र छन्। कोही भारी बोक्ने सूर्यबहादुर, कोही ठेला ठेल्ने सूर्यबहादुर, कोही रिक्सा चलाउने सूर्यबहादुर, कोही मालिकको घरका जुठा भाँडा माझ्ने सूर्यबहादुर।  

हिजोसम्म सूर्यबहादुरलाई कसैले सोधीखोजी गरेन। कसैले उसको सन्चो–बिसन्चो सोधेन। उसको परिवारले, उसका आफन्तले अनि देशले पनि कहिल्यै खोजेन सूर्यबहादुरलाई, चुनावमा भोट हाल्ने दिनमा बाहेक। गएको चुनावदेखि बेखबरजस्तै थियो सूर्यबहादुर। सूचनाको अधिकार के हो सूर्यबहादुरले थाहै पाएन। उसको खबर उसको घरसम्म कहिल्यै पुगेन। उसको परिवारको खबर ऊसम्म कहिल्यै आएन। एउटै भूगोलमा फरक देशान्तर भएर बाँचिरहे सूर्यबहादुर र उसको परिवार। सूर्यबहादुर त हाम्रै सहरमा थियो।  

हो, एउटा सूर्यबहादुर गयो कहिल्यै नफर्किने गरी। अब फेरि अर्को कोही सूर्यबहादुर आउला। हाम्रो भारी बोक्ला। हाम्रो घरघरमा सामान पुर्‍याउला। हामीले मायादयाले दिएको खाला। हामीले दिएको लाउला। सूर्यबहादुरजस्तै यतैकतै पाटी अथवा पेटीमा हाम्रै नजिक बस्ला। त्यो सूर्यबहादुर कहिल्यै डेरामा बसेन। डेराभाडा तिर्ने उसको सामथ्र्य थिएन। हामीचाहिँ घरभित्र न्यानो सिरक ओढेर अर्को सूर्यबहादुर काम्दै गरेको सोच्दै बसौंला। अनि उसले पनि त्यो सूर्यबहादुरले जस्तै मनमनै सोच्ला दुनियाँ कत्ति मतलबी रहेछ भनेर। साँच्चै, हामी कति मतलबी छौं हगि सूर्यबहादुर !

सहर बन्दाबन्दीमा थियो। त्यसैले सबैजना घरभित्रै थिए। सूर्यबहादुर मात्रै बाहिर थियो। सबैलाई डर थियो कोरोनाको। सायद उसलाई थिएन। त्यसैले ऊ निर्धक्क सडकमा हिँड्थ्यो हातमा नाम्लो लिएर। सायद त्यो उसको नाम्लो उसको हतियार पनि थियो। त्यसैले कोरोना पनि डराउँथ्यो ऊसित। खासमा उसको त्यो नाम्लोसित। सहरमा कतिलाई लाग्यो कोरोना। तर उसलाई लागेन। उसले त कोरोना लागे–नलागेको पनि थाहा पाएन। उसलाई त भोक लागेको मात्रै थाहा हुन्थ्यो। किनभने त्यो भोक ऊ आफैभित्र थियो।  

कोरोना सर्ला भनेर मान्छेहरू बन्दाबन्दीमा बसे। क्वारेन्टिनमा बसे। आइसोलेसनमा बसे। तर ऊ त सधैं बन्दाबन्दीमा बसेजस्तै थियो। सधैं क्वारेन्टिनमा बसेजस्तै थियो। अनि सधैं आइसोलेसनमा बसेजस्तै थियो। उसको शरीरमा पसिना गन्हाउँथ्यो। पसिनाको गन्ध मन नपराउनेहरू उसको नजिक पर्न डराउँथे। त्यसैले ऊ सुरक्षित थियो। ऊ खुला सडकमा सुरक्षित थियो। तर हामी घरभित्र पनि असुरक्षित महसुस गरेर भयभीत थियौं। त्रसित थियौं। आतङ्कित थियौं। त्यो भय, त्रास र आतङ्कबाट ऊ मुक्त थियो। तर एउटा कुरामा भने ऊ सधैं कैदमा थियो– भोकको। त्यसैले ऊ नाम्लो बोकेर सधैं सडक नापिरहेको हुन्थ्यो।

अन्ततः भोकले जित्यो। सूर्यबहादुरले हार्‍यो। तर यो हारमा पनि ऊ खुसी थियो, सन्तुष्ट थियो। त्यसैले उसको मृत अनुहार पनि उज्यालो थियो, सूर्यजस्तै। शासकले बारम्बार दोहोर्‍याउँदै आएका हुन् कोही भोकै पर्दैन अनि कोही भोकै मर्दैन। तर ऊ मर्‍यो। ऊ अपवाद भयो। ऊ शासकको विरुद्ध उभियो। उसले शासकलाई चुनौती दियो अथवा उसले शासकसित ठट्टा गर्‍यो– सहरको खुला सडकपेटीमा भोकै मरेर। सरकारले दिएको केही लिइनँ भनेर। सरकारले दिएको केही खाइनँ भनेर। सूर्यबहादुरको मृत्युले सरकार नाङ्गिएको थियो। सरकारलाई कठोर व्यङ्ग्य गरेको थियो सूर्यबहादुरको मृत्युले।  

सूर्यबहादुरले भोकसँग हार्‍यो। तर उसले शासकलाई जित्यो। उसको सामु शासकको हार भयो। त्यसैले शासक उससँग क्रुद्ध छ। किनभने उसले शासकलाई निकै कडा चुनौती दियो। उसले शासकसित निकै क्रुर ठट्टा गर्‍यो। शासकले पटकपटक दोहोर्‍याउने कोही भोकै पर्दैन र कोही भोकै मर्दैन भन्ने नारालाई सूर्यबहादुरले भोकै मरेर खिल्ली उडाएको थियो।

सूर्यबहादुर कोरोनाले मरेको भए अमर हुन्थ्यो। उसको इतिहास लेखिन्थ्यो। तर ऊ भोकले मर्‍यो। त्यसैले उसलाई अब कसैले सम्झिँदैन। किनभने भोकले मर्नेहरूको इतिहास लेखिन्न। भोकले मर्नेहरूको संख्यामात्रै गनिन्छ। भोकले मर्नेहरूको संख्यामा अब एउटा अंक थपियो। यत्ति हो।  

सूर्यबहादुरले भोक लाग्दा सरकारसित भात मागेन, लाज छोप्ने कपडा मागेन। भोकै मर्ने, तर मागेर नखाने उसको दर्शन थियो। देश आफै सङ्कटमा छ। देशले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा बनायो। राष्ट्रियताको भावना राष्ट्रियस्तरमा जागेको छ। यस्तो बेलामा धेरैभन्दा धेरै देशको झण्डा आवश्यक पर्छ। यस्तो बेलामा देशले धेरैभन्दा धेरै झण्डा बनाउनुपर्ने हुन्छ। त्यसैले देशलाई नै खाँचो छ धेरै कपडाको। उसले देशसित भात र कपडा नमागेर ठूलो गुन लगाएको छ। ऊ देशभक्त भएको छ। भोकको पीडाले छटपटाउँदा पनि उसले देशप्रति कुनै गुनासो गरेन। लाजै छोप्न नसक्ने अवस्था हुँदा पनि उसले देशलाई गाली गरेन, सरापेन। ऊ साँच्चै देशभक्त हो। तर शासक देशभक्त होइन। शासक देशभक्त हुनै सक्दैन। शासक मात्रै शासक हुन्। उसलाई शासन गर्न मात्रै आउँछ। जनताको सास्ती बुझ्न आउँदैन। देशको पीडा बुझ्न आउँदैन।

देशले सूर्यबहादुरलाई न्याय गरेन। तर ऊ आफैले पनि आफूलाई अन्याय गर्‍यो भोकै मरेर। उसले भोकको विद्रोह गर्नुपथ्र्यो। कमसेकम उसले आफ्नो भोटको मूल्य माग्न सक्थ्यो। त्यो पनि मागेन। ऊ कति त्यागी? कति सन्तोषी? हाम्रा शासकले, हाम्रा नेताले उसले जस्तै त्यागी हुन कहिल्यै जानेनन्। सन्तोषी हुन कहिल्यै जानेनन्। देशै रित्याएर खाँदा पनि ती कहिल्यै अघाएनन्।  

सूर्यबहादुरका आफ्ना कोही थिएनन्। तर ऊ सबैको थियो। काम पर्दा उसलाई सबैले बोलाउँथे– ‘ए सूर्यबहादुर’। यताबाट ‘ए सूर्यबहादुर।’ उताबाट ‘ए सूर्यबहादुर।’ तलबाट ‘ए सूर्यबहादुर।’ माथिबाट ‘ए सूर्यबहादुर।’ ऊ जता पनि पुग्थ्यो। ऊ जता पनि भ्याउँथ्यो। ऊ सबैको प्रिय थियो। तर कोही उसका प्रिय हुन सकेनन्। त्यसैले ऊ एक्लै भयो। उसको प्रिय त उसको भोक थियो। उसको गरिबी थियो। जो सधैं उससँगसँगै हिँडिरहेका हुन्थे। एक पल पनि उसलाई नछोडी। हरेक पल उसलाई पछ्याएर।

हिजोसम्म सूर्यबहादुरलाई देखेको हो हामीले। सधैंझैं हातमा नाम्लो लिएर त्यही सडकको पेटीमा ऊ हिँड्दै थियो, उभिँदै थियो, बस्दै थियो। आज चिरनिद्रामा डुबेछ, कहिल्यै नब्युँझिने गरी।  

भारी बोक्दाबोक्दा सूर्यबहादुर सधैं बेफुर्सदी थियो। यो बेइमान कोरोना के आएथ्यो, मान्छेहरू डराए। शासक पनि डराए। हतारहतार सहरमा बन्दाबन्दी गरे। मान्छेहरू घरभित्रै बन्दी भए। त्यसपछि उसलाई फुर्सदैफुर्सद भयो। कोरोनाको डरले सबै घरभित्र बसे। ऊमात्रै बाहिर भयो। बाहिर सुनसान थियो। एकान्त थियो। त्यो एकान्तमा पनि उसलाई डर लागेन। उसलाई चोरको डर लागेन, किनभने ऊसित चोरिने कुरा केही थिएन। उसलाई लुटेराको पनि डर लागेन, किनभने ऊसित लुटिने कुरा केही थिएन। उसलाई कोरोनाको पनि डर लागेन, किनभने उसलाई छुने कोही थिएनन्। उसलाई एउटै कुराको डर थियो– भोक। ऊ भोकसँग डराउँथ्यो। त्यसैले ऊ नाम्लोलाई साथी बनाएर सहर घुम्थ्यो। नाम्लो नै उसको डर भगाउने साथी थियो, साधन थियो।  

टोलमा राहत बाँडिएको थियो। सूर्यबहादुरले पनि लाइनमा उभिएर राहत थाप्यो। राहत छउन्जेल खायो। त्यसपछि भोकै बस्यो। भोकको आगोले उसलाई भित्रभित्रै जलायो। ऊ हार्दै गयो। भोकसँग हार्दाहार्दै पनि उसले देशसित केही मागेन। तर अब देशले ऊसित माग्नेछ। कुरो पत्यारलाग्दो छैन। भोकले मरेको मान्छेसित देशले माग्ने? यो पत्याउने कुरा पनि होइन। तर कुरा साँचो हो। अब देशले सूर्यबहादुरसित माग्नेछ। अब देशले सूर्यबहादुरको शरीर माग्नेछ। देशका लागि सूर्यबहादुरको शरीर अत्यन्त महत्वपूर्ण छ, अत्यन्त मूल्यवान छ। देशलाई सूर्यबहादुरको आँखा काम लाग्छ। सूर्यबहादुरको आँखाले देशले सूर्यबहादुरजस्तै गरिबहरूलाई हेर्नेछ। भोको मान्छेलाई हेर्नेछ। गरिबको आँखाले हेर्दा संसार कस्तो देखिनेछ? त्यो हेर्नेछ देशले।  

सूर्यबहादुरको लाश उठाउन कोही आएनन्। किनभने उसका कोही आफन्त थिएनन्। उसको लाशमाथि झन्डा ओढाउन पनि कोही आएनन्। कसैले ‘सूर्यबहादुर अमर रहून्’ भनेर नारा पनि लगाएनन्। किनभने ऊ कुनै राजनीतिक पार्टीको सदस्य थिएन। ऊ सर्वसाधारण नागरिकमात्रै थियो, तर अनागरिकजस्तै। भोट हाल्ने एउटा अधिकारबाहेक अरू सबै अधिकारबाट बञ्चित नागरिक।  

मान्छेको भीड थियो सूर्यबहादुरको लाश वरिपरि। भीडमा कोही चुकचुकाउँदै थिए। कोही आँसु झार्दै थिए। कमसेकम उसले आफ्ना कोही नभए पनि मर्दा आँसु झार्ने मान्छे कमाएर गयो। यो उसको ठूलो कमाइ हो। मर्दा आँसु झार्ने मान्छे अथवा मलामी कमाउनसक्नु ठूलो कुरो हो। सम्पत्तिभन्दा मलामी कमाउन निकै गार्‍हो छ।  

अब केही बेरमा प्रहरीको भ्यान आउने छ। गर्‍यापगर्‍याप गरेर दुई–तीन जना प्रहरी भ्यानबाट ओर्लने छन्। मान्छेको भीडलाई अलि पछाडि धकेल्ने छन्। उसको लाशवरिपरि घेरा लाउने छन्। विभिन्न कोणबाट उसको फोटो खिच्ने छन्। मुचुल्का उठाउने छन्। मुचुल्कामा बेवारिशे लाश भनेर लेख्ने छन्। त्यसपछि बल्ल सूर्यबहादरको लाश उठाउने छन्।

देशलाई जिउँदो सूर्यबहादुर काम लागेन। तर सूर्यबहादुरको शरीर काम लाग्छ। त्यसैले अब उसको मुटु झिकेर कसैलाई दिने छन्। उसको आँखा झिकेर कसैलाई दिने छन्। उसको फोक्सो झिकेर कसैलाई दिने छन्। उसको मृगौला झिकेर कसैलाई दिने छन्। उसको हात, खुट्टा, नाक, कान आदि सबै अङ्ग झिकेर अरूलाई दिने छन्। अब एक होइन, धेरै सूर्यबहादुरहरू बाँच्ने छन् र यो संसार हेर्ने छन्।  

सूर्यले उज्यालो दिन्छ। न्यानो घाम दिन्छ। सबैलाई दिन्छ। बराबर दिन्छ। धनी भन्दैन। गरिब पनि भन्दैन। सूर्यबहादुर पनि सूर्यजस्तै हो।  

सडक र सदनमा आवाज उठिरहेको छ– कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भनेको होइन सरकार? सूर्यबहादुर किन भोकै मर्‍यो? सरकार भने मौन छ, भोकले मरेको सूर्यबहादुरजस्तै।  

(२०७७ साल जेठ ११ गते आइतबार कीर्तिपुरको सडकमा मृत भेटिएका धादिङका सूर्यबहादुर तामाङको सम्झनामा)

प्रकाशित: ३२ असार २०७९ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App