२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

खल्तीको चेक

लघुकथा

ढाकामोहन बराल

१) खाली कापी

आज पनि सरिता ढिलो आइन्। करिव एक हप्ता भयो सरिता ढिलो आउन थालेको। आज त अजय सरको कक्षा सकिन नै लागेको थियो। आज सरले ‘भित्र पस्न दिन्न’ पनि भन्नुभयो।

सोझी सरिता आँखामा आँसु लिएर उभिरहिन्। सानी सरिता अरू के पो गर्न सक्थिन र! मेरो छेउमा आएर बसेकी ४ असरितालाई अजय सर गएर दोस्रो घण्टी सुरु नभएसम्मको समयमा सोधें,‘आजभोलि के भएर ढिलो हुन लाग्यो?’

उनले भक्कानिंदै हातको औंला देखाइन् जुन बिहान खाना पकाउँदा पोलेको रहेछ। हत्केलाले आँसु पुछ्दै सुस्तरी भनिन्, ‘आजभोलि चुनाव लागेको छ’ भनेर बाबा पनि कहिलेकाहीं मात्र घर आउनुहुन्छ र मामु पनि ‘आफैं पकाएर खाऊ है छोरी’ भन्दै पार्टीको झण्डा बोकेर हिंड्नुहुन्छ।’

मलाई गृहकार्य सक्न बिहानभर लागेको थियो। उनले कसरी गरिन् होला जस्तो लागेर उनको कपी पल्टाएर हेरेको त पूरै खाली रहेछ।

२) खल्तीको चेक

सधैंको चुनावझैं यसपालि पनि ऊ सक्रिय छ। उसलाई अहिले पनि यही नयाँबस्तीको जिम्मा छ। ऊ तनावमा पनि छ। पहिला जस्तो सजिलो छैन। पहिला चुनाव जिते पनि हारे पनि आफ्नो मेहनतको फल पाउँथ्यो। तर, यसपालि उम्मेदवार अलि बाठो परेछ। रक्सी र मासु पनि उधारोमै ल्याएर बाँड्नुपरेको छ। चुनावमा राम्रै व्यापार दिने भएकाले पत्याएका छ्न् धने दाइ र हर्कबहादुरले। खल्तीमा चेक छ तर साट्न नमिल्ने। उम्मेदवारले शर्त राखेर चेक दिएको थियो।

उसले भनेको थियो,‘गोपालजी,ल यो एउटा चेक लिनु है। यसमा मिति चुनावपछि पाँच दिनको राखेको छु। त्यतिबेलासम्म नतिजा पनि आइसक्ला। मैले जितें भने चेक साट्नुहोला, हैन भने म रद्ध गरिदिन्छु।’

खल्तीको पाँच लाखको चेक सम्झन्छ र जोखिम मोलेर सक्रिय हुन्छ ऊ।

३) तारे भिरमाथिको बाबियो

रेडियोबाट समाचार आयो, ‘मत गणनास्थलमा सिसि टिभी जडान गरिने।’

साँझमा टिभीमा तार जालीको प्रयोग गरेर बलियो बन्धन बनाएर उन्मत्त साँढेलाई घेर्न बनाएको खोरजस्तै देखाउँदै थियो। हर्कबहादुरले तारेभिरमाथिको बाबियो सम्झे, बुबाको बलियो हातले गिद्रासहितको चोया मिसाएर बनाएको दाम्लो सम्झे। जहिले पनि चोर्न पसेर हैरान बनाउने तर बुबाबाहेक कसैले बाँध्न नसक्ने चाँदे गोरु थियो घरमा। बुबाले यसैको लागि दाम्लो बनाउनुभएको थियो।

‘के गर्नु तारेभिरमाथिको बाबियोले सबै मानिसलाई दाम्लो नपुग्ने। अहिले मानिस पस्ने डरले पहिरो रोक्ने तार जाली प्रयोग गरेर छेक्नुपरेको छ।’ उसले एक्लै गनगन गर्दै समाचार हेरिरहे।

प्रकाशित: ३० असार २०७९ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App