२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गोधूलि भानु शिखर अभिनन्दन साहित्यकार प्रेम छोटालाई

गोधूलि साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ। बुधबार भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले अभिनन्दनपत्र प्रदान गरेका हुन्।

नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका साहित्यकार छोटालाई प्रतिष्ठानले अभिनन्दन गरेको हो। अभिनन्दित व्यक्तित्व छोटाबारे बोल्दै प्राडा षडानन्द पौड्यालले छोटा व्यक्ति नभएर सिंगो संस्था भएको उल्लेख गरे।

उनले बाग्लुङे माटोमा रहेर समग्र धौलागिरी र नेपाली भाषा, साहित्यको क्षेत्रमा अनवरत योगदान पुर्‍याएको भन्दै उनलाई जति नै सम्मान र अभिनन्दनका शब्दहरू खर्चिए पनि कमै हुने बताए। एक सामान्य परिवारमा जन्मिएका छोटाले नेपाल वाङ्मयमा लागेर अग्रजको सम्मान, समकालीनसँगको सहकार्य र अनुजलाई प्रोत्साहन गर्ने संस्कार बसालेको भन्दै गोधूलिले अभिनन्दनका लागि सही पात्र छनोट गरेको भन्दै प्रशंसा गरे।

त्यस्तै कार्यक्रमका उदघोषक प्रकाश समीरले छोटाले नेपाली भाषा, साहित्यलाई शिखरमा पुर्‍याउन आफ्नो ६ दशक समय खर्चिएको भन्दै एक गौरवशाली व्यक्तित्वको छोटालाई अभिनन्दन गर्दा संस्था आफैं अभिनन्दित भएको बताए। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले प्रेमको नाममा छोटा भए पनि उनी छोटा नभएर बडा भएको बताए।

त्यस्तै सोही अवसरमा संस्कार समाज नेपाल र अरनिको एसिया फाउन्डेसनले पनि छोटालाई अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानले कवि एवं समोलचक राजन न्यौपाने र अर्का कवि राजेन्द्र तारकिणीलाई  जनही दश हजार नगदसहित ‘भानु भाषा, साहित्य पुरस्कार’ प्रदान गरेको छ। साथै गोधूलि साहित्य प्रतिष्ठानले नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

यस वर्षको गोधूिल भानु भाषा, साहित्य सम्मानबाट साहित्यकारहरू बमबहादुर जिताली, शीला पन्त, प्रभा भट्टराई र पशुपति दंगाल, कवि भावना खनाल र कवि एवं अभियन्ता ओमकृष्ण प्रसाईलाई प्रदान गरेको छ। अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन भन्ने मर्मलाई आत्मसात् गरेको प्रतिष्ठानले भानु जन्मजयन्तीको अवसरमा राजधानीदेखि मोफसलाका विभिन्न दश जना स्रष्टाद्वारा कविता वाचन समेत गरेको छ।

डेढ दशक लामो समयदेखि निरन्तर रूपमा विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहेको गोधूलि साहित्य प्रतिष्ठानले साहित्य, कला, संगीत र समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउने वरिष्ठ साधक तथा नवोदित प्रतिभालाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि साहित्यकार तुलसी दिवसले कविता लेखर केही पनि हुँदैन भन्ने सोचाइ गलत भएको बताए।

कविता लेखेरै आफू ८०/९०  देशमा पुगेको अनुभव सुनाउँदै कवि दिवसले भाषा, कला र संस्कृतिको विस्तारमा कविता लेखनको महत्त्वपूर्ण भूमिका हुने बताए। राजनीतिक र प्रशासनिक कार्यमा लागेकाहरू भूतपूर्व हुने भए पनि साहित्यमा लागेकाहरू कहिल्यै भूतपूर्व नहुने उनको भनाइ छ।

कवि दिवस कविता लेखेरै पैसा कमाउन नसके पनि नाम कमाउन सकिने र त्यो नाम इतिहासमा लेखिने बताए। संस्थाका अध्यक्ष गंगा लिगलको सभापतित्वमा सम्पन्न कार्यक्रमक प्रकाश समीर र महेश कठायतले चलाएका थिए।

प्रकाशित: ३० असार २०७९ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App