२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन

सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन्। प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रूपमा चयन गरेको हो। संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई हटाई बाँकी कार्यकालका लागि अध्यक्षका रूपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो।

शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू र पदाधिकारीहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए। बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा छ। यो संस्थाले बर्सेनि विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन गर्दै आएको छ। नेपाल लगायतका देशमा यसका शाखा छन्।

सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ तिरबाट आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिको सदस्य, सचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन्।

उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सहसंयोजक÷सञ्चार विभाग प्रमुख समेत रहिसकेका छन्। उनी प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुन्।

स्याङ्जामा जन्मे हुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो। एक दशकअघिदेखि वैदेशिक रोजगारीको सिलसिलामा परदेश लागेका उनी हाल आबुधाबीमा सुपरभाइजरका रूपमा कार्यरत छन्। उनको हालसालै कवितासंग्रह ‘आकाशगंगाको किनार’ बजारमा आएको छ।

प्रकाशित: २७ असार २०७९ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App