अम्बिका धिताल
‘नमस्कार सर, आराम हुनुहुन्छ, के छ हालखबर?’ मैंले छिमेकी कार्यालयका हाकिम श्याम सरलाई अभिवादन गरें।
‘नमस्कार,सबै ठिकै छ।’ अँध्यारो चेहरामा श्याम सरले जवाफ दिनुभयो।
‘सबै ठिक छ त भन्नुभयो तर हजुरको मुहारले त्यसो भनिरहेको छैन नि सर?’ मैले कौतुहलता मेट्ने जमर्को गरें।
‘खासै केही भएको छैन। कार्यालयको कामको तनाव छ। त्यसैले होला। साँच्चै तपाईलाई धेरै दिनदेखि एउटा कुरा सोध्न मन लागेको थियो।’ उहाँले निराशाजनक भावमा सोध्नुभयो।
मैले उत्सुक हुँदै हत्त न पत्त भनें, ‘हो र सर,भन्नुस् न छिटो। मलाई फेरि कार्यालय जान ढिला हुन्छ।’
श्याम सर बोल्नुभयो,‘कुरा तपाईंको अफिसकै हो। तपाईहरू बिहान पनि अफिस समयभन्दा एक घण्टाअघि नै दौडिएको देख्छु। बेलुका पाँच/छ बजेसम्म पनि अफिसमा नै देख्छु। फेरि तपाईहरूमा बढी समय दिनुपयो भनेर कुनै नैराश्य पनि देखिंदैन। यसको रहस्य के हो? बताउनुस् न मलाई।’
मेरो जवाफ सुनेर सरले अझै थप्नुभयो, ‘हो र सर। सुन्नुस्, हामीलाई त अझ अफिस कतिखेर पुगौं जस्तो लाग्छ। दिन गएको पनि पत्तो नै हुँदैन।’
‘मैले मेरा स्टाफलाई बढी समय अफिसमा बिताएको थप पैसाको व्यवस्था गरेको छु। लाग्छ अन्य अफिसको भन्दा निकै सेवा सुविधा दिएको छु तर पनि उहाँहरू मदेखि पटक्कै खुसी हुनु हुन्न। मलाई त देख्न र भेट्नै नपरे पनि हुन्थ्यो जस्तो व्यवहार देखाउनुहुन्छ। कारण धेरै खोजें तर पत्ता लगाउन सकिनँ। तपाईहरू खुसी हुनुको कारण सुन्न म आतुर छु। ढिलो नगरी बताइहाल्नुस् न।’
मैले गर्वले भरिएको यथार्थ ओकल्नै पर्यो, ‘ल सुन्नुस् सर। हाम्रो कार्यालयको हाकिम सर निकै मिजासिलो र नम्र हुनुहुन्छ। उहाँको काम गराउने तरीका र बोलीमा मिसिएको महको स्वादले हामी सबै कर्मचारी प्रेरित छौं। उहाँको उज्यालो चेहरा,सबैमा सम्मान र समानताको भावना, योग्यताको कदर र मुस्कान अझै हाम्रा लागि काम गर्न उत्साह थप्ने प्रेरणाको स्रोत हुन्। अब आफैं पत्ता लगाउनुस्, हजुरका कर्मचारी किन बेखुसी छन्?’
प्रकाशित: २२ असार २०७९ ०९:०५ बुधबार