२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

लेखकहरूलाई दलित बस्तीमा घुमाइयो

तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारस्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टेको प्रवर्द्धन गर्न कन्सेप्ट नेपालले २६ जना स्थापित लेखकलाई घुमाएको छ। काव्ययात्रीहरूलाई दुई रात होमस्टेमा राखेर गाउँलेसँग अन्तरक्रिया गराइएको थियो।

असार १५ देखि १७ गतेसम्म आयोजना गरिएको ‘आँपस्वारा काव्य यात्रा–२०७९’ यात्रामा लेखकहरू ध्रुव मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनिषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, संजिव पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए।

आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ। यहाँ २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो। दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्।

गाउँबाट अन्नपूर्ण हिमशृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ। छुवाछुतविरुद्ध ऐक्यबद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न  मुलुकका २६ जना लेखकलाई घुमाइएको हो।

कार्यक्रमको दोस्रो दिन विश्वकर्मा समाज भवन बाहिर चौतारीमा आयोजित कार्यक्रममा कवि तथा लेखकहरूले आआफ्ना अनुभूति र रचना सुनाए। उनीहरूले आँपस्वाराबाट फर्केर आआफ्ना अनुभव मिडियामा लेख्न सुरु गरिसकेका छन्। यसबाट आँपस्वाराको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ। काव्ययात्राको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड थियो भने सहयोगीमा व्यास नगरपालिका रहेको थियो।

यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेका अनुसार काव्य यात्रा सफल भयो। अब आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामग्री पनि उत्पादन गरिनेछ। यसबाट गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। ‘छुवाछुत मेटाउन आँपस्वाराबासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवर्द्धन गर्नु हाम्रो यात्राको मुख्य उद्देश्य हो’, भादगाउँलेले भने, ‘त्यति मात्र होइन, हामीले जीवनमा जानेर वा नजानेर गरेका विभेदको आत्मआलोचना पनि गर्‍यौं।’

कन्सेप्ट नेपालले ‘खप्तड काव्ययात्रा २०७५’ र ‘फोक्सुन्डो काव्ययात्रा २०७६’ भव्य रूपमा सम्पन्न गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवर्द्धन गर्न ती दुवै यात्रा कोशे ढुंगा सावित भएका थिए।

शिल्पीहरूको सम्मान

‘आँपस्वारा काव्य यात्रा–२०७९’ का अवसरमा असार १६ गते आँपस्वारा गाउँका चार कलाकर्मीलाई आयोजक कन्सेप्ट नेपालले जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ अर्पण गर्‍यो।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका विक, आरनको काम गर्ने डिलबहादुर विक, मादल बजाउन सिपालु सुन्दर विक र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो।

गाउँघरमा बसेर सनातनी सीप संरक्षण गरी गाउँलेको सेवा गर्दै आएका भुईं मान्छेको सम्मान गरिएको हो। जीवनमा पहिलोपटक सम्मान पाउँदा उनीहरू गद्गद् भएका थिए। ‘यस्तो सम्मान पाइएला भनेर सपनामा पनि चिताएकी थिइनँ’, ५९ वर्षीया कलाकार मेनुका विकले भनिन्।  

प्रकाशित: २२ असार २०७९ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App