'स्वास्थ्यले साथ दिएसम्म यतै सक्रिय रहनेछु,' तीन महिनाअघि झापास्थित नागरिक संगीत विद्यालयको निर्देशक बनेर 'पुर्ख्यौली थलो' आएका क्षेत्रीको अठोट छ, 'अबको वर्ष दिनभित्र पूर्वमा संगीतका लागि केही गरेर देखाउनु छ।'
दार्जिलिङस्थित संस्कृति विभागको निर्देशक पदबाट उमेरका कारण अघिल्लो वर्ष अवकाश पाएका ६१ वर्षे संगीतकारको दैनिकी अचेल झापाका डेढसय बढी विद्यार्थीको सानिध्यमा बित्छ। सातामा तीन दिन दमक र अर्को तीन दिन बिर्तामोडका लागि छुट्याएका उनले दुवै ठाउँका लागि दार्जिलिङबाटै प्रशिक्षक झिकाएका छन्। भन्छन्, 'यसैबाट संगीतका अब्बल जनशक्ति निस्कने छन्।'
मोफसललाई कार्यक्षेत्र बनाउने आफ्नो निर्णय सच्याएर राजधानी जाने सल्लाह दिने समकालीन पनि थिए। 'तर, आफूलाई काठमाडौभन्दा यतै प्यारो लागेको' उनको कथन छ। 'काठमाडौं आफ्नै धुनमा मस्त छ,' दार्जिलिङ हुँदा वर्षमा १६ पल्टसम्म त्यहाँ पुगेका उनको ठहर छ, 'काठमाडौंलाई कला, भाषा र संगीतको उत्थानसँग उति चासो छैन। त्यहाँभन्दा बाहिरै बसेर धेरै गर्न सकिन्छ जस्तो लाग्छ।'
राजधानी र मोफसलको तुलना उनले दुई जना व्यक्तिको उदाहरण दिएर गरे। 'लौरो खुट्टा ठीक नहुनेका लागि सहारा बन्छ,' नागरिकसँग क्षेत्रीले भने, 'राजधानी आफैमा सबल छ, त्यसैले उसलाई लौरोको जरुरी छैन तर मोफसल त्यति सबल छैन। म कम्तीमा झापाको संगीत क्षेत्रका लागि लौरो बनेर उभिने प्रयास गर्नेछु।' संगीतका जिज्ञासु नयाँ पुस्तालाई साथ दिने अठोट गरेर झापा झरेको उनको भनाइ छ।
क्षेत्री नेपाली सुगम संगीतका सिद्धहस्त संगीतकार मानिन्छन्। गायिका अरुणा लामासँग तीन दशक बढी समय सहकार्य गरेका उनका दर्जनौं गीत संगीतपारखीको ओठमा झुन्डिएका छन्। 'हाँगाहाँगा वनभरि चैत फुलेछ' हरिभक्त कटुवालका यी शब्दमा उनले गरेको संगीतमा अरुणा लामाले स्वर दिएपछि क्षेत्रीले संगीतकारका रूपमा परिचय पाएका थिए। त्यसो त विद्यार्थीकालमै ४९ वटा युगल गीतमा अरुणा लामालाई साथ दिएका क्षेत्री गायक र बाँसुरीवादक पनि हुन्।
प्रारम्भमा गायकका रूपमा सांगीतिक जीवन सुरु गरेका मणिकमल पछि संगीतकारका रूपमा स्थापित भए। पछिल्लो पुस्ताका चर्चित गायक रामकृष्ण ढकालले गाएको 'हिउँचुलीमा हिउँ पर्यो' बोलको गीत लोकप्रिय बनेपछि त्यसका संगीतकार क्षेत्री नयाँ पुस्ताका स्रोतामाझ पनि चिनिए। 'अहिले म गायक कम, संगीतकार बढी भाछु' उनी भन्छन्। गायकबाट संगीतकारको परिचय प्राप्त हुनुमा उनलाई लाग्छ, 'मुड' ले धेरै काम गरेको छ।
झन्डै आठ वर्ष भुटान बसेर सन् १९७८ मा दार्जिलिङ फर्किंदा त्यहाँ उनले गायक मात्रै भेटेछन्। 'गाउने त धेरै भेटेँ, कम्पोज गर्ने नभेट्दा खिन्न भएँ।' क्षेत्रीले विगत सम्भि्कए, 'त्यसपछि म आफै कम्पोज गर्न तम्सिएँ, त्यसपछि त म गायनभन्दा संगीतमै बढी रमाउन थालेँ।' उनका अनुसार हालसम्म १५ सय गीतमा उनले धुन हालिसकेका छन्। ५ सय रेकर्ड भएका छन्।
'अहिलेसम्मको अनुभव र ज्ञान म नयाँ पुस्तालाई सेयर गर्छु।' उनको थप योजना छ, 'लोपोन्मुख बाजाको संरक्षण र नाटकको क्षेत्रमा संगठित अभियान सुरु गर्छु।'
जिल्ला आउनासाथ अभियानका बारे सरसल्लाह प्रारम्भ गरेका उनले सकारात्मक 'रेस्पोन्स' पाएको बताए। 'तीन महिना बीचमा झापा, मोरङ र सुनसरीका १० ठाउँमा मलाई सम्मान गरियो,' उनले भने, 'ती सबै ठाउँमा मैले कला, साहित्य र संगीत बारेको मेरो योजना सुनाएँ, सबैले साथ दिने वचन दिएका छन्।' सैद्धान्तिक रूपले खारिएका, अध्ययन र साधनामा विश्वास गर्ने विद्यार्थी उत्पादनलाई 'अर्जुनदृष्टि' बनाई आफू लागेको उनको कथन छ।
कुनैबेला रेडियो नेपालमा स्वर परिक्षा दिन काठमाडौं जाँदा 'पारिको' भनेर परीक्षामा सामेल हुन रोकिएका उनी भन्छन्, 'तर अहिले सम्मान र माया मात्रै पाएको छु।' नयाँपुस्ताका गायक जगदिश समाललगायतका लागि संगीत गरिरहेका उनले भने, 'रिटायर्ड लाइफमा यता आउनुको एउटा कारण मायाको खोजी पनि होला।'
प्रकाशित: २८ पुस २०६६ ०५:५३ मंगलबार





