१३ असार २०७९ सोमबार
कला

जुनकीरी

लघुकथा

अनुग्रह राना मगर ‘पुष्प’

जग्गा भिरालो ठाउँमा भए पनि खेतैको शिरमा पानीको मूल फुटेको थियो। हिउँदे बालीलाई पनि सिंचाइ गर्न पर्याप्त पुग्थ्यो। यस्तो हिउँदे र बर्खा दुवैका लागि पर्याप्त पानी पाउनु त भाग्यमानी हो भन्दै छिमेकीको बखान गर्दै थिए आकाश।

-आफ्नो त कुलो मात्र छ। खोल्सामा पानी त छ नि सानो, कुलोमा लाउनेबितिक्कै हराइहाल्छ। जेनतेन प्वाल टालटुल पारेर ल्याउँदा खेतको गह्रासम्म सिर्को आइपुग्न नि गाह्रो। आकाशबाट नबर्सने हो भने त बर्खे बाली लाउनै गाह्रो। हिउँदे त परै जावस्। मनको पीडा एक्लै पोख्दै थिए आकाश।

प्रकृतिमाथि नियाले। केही देखेनन्।

-हेर, खडेरीले सुकेको मेरो भाग्य। उफ्! निराश हुँदै टुसुक्क बसे र बाँकी बसेको ठुटे चुरोट पुत्पुताइरहेको अगुल्ठाले झोसे र प्वाकप्वाक धुवाँ उडाउन थाले।

जुनकीरीले श्रीमानको दृश्य देखेपछि सान्त्वनाको थुप्रो लिएर छेउमा आइन् र भन्न लागिन्,‘के भयो हजुरलाई! निकै चिन्तित देखिनुभएको छ त? के छ त्यस्तो, मिलीजुली आधाआधा बाँडौ हुन्न?’

 मनको गुनासो पोखे आकाशले, ‘हुन्छ भनौं कि हुन्न भनौ! विवाह गरेको यत्रो वर्ष भयो। एकदिन सुखको मानो दिन सकेको छुइनँ।’

-पिर नगर्नुस्! दुखको छहारीभित्र सुखको मानो लुकेको हुन्छ। धैर्य गर्नुपर्छ।

समय बित्दै गयो। साथमा साथ, काँधमा काँध र हातमा हात मिलाउँदै एउटै सुताको डोरी भएर काम गर्दै गए। पतिको हरेक निरासापनमा जुनकीरीको चमकझैं बिहानीको आशाको किरण बनिरहिन् जुनकीरी। जसले गर्दा आज आकाशको घर सुन्दर र शान्त विशालको घर-गाउँमा उदाहरणीय बनी खुला आकाशमा रहेर सुनसान रात्रिमा झैं  छरिएको चन्द्रमाको उज्यालो प्रकाश बनेको छ।

प्रकाशित: ९ असार २०७९ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App