४ वैशाख २०८१ मंगलबार
कला

आजको आकाश सार्वजनिक

पाँच कवि आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र डा. राजेन्द्रप्रसाद अधिकारीको तेस्रो संयुक्त कवितासंग्रह ‘आजको आकाश’ सार्वजनिक भएको छ।

यी पाँचै कविले २०४२ र २०६३ सालमा पनि ‘आजको आकाश’ शीर्षकमै संयुक्त काव्यसंग्रह ल्याएका थिए। प्रमुख अतिथि प्राध्यापक माधवप्रसाद पोखरेल, प्राध्यापक समालोचक खगेन्द्रप्रसाद लुइँटेल र गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदनले कृति एकैसाथ सार्वजनिक गरेका हुन्।

प्रमुख अतिथि प्राध्यापक माधवप्रसाद पोखरेलले कृति सार्वजनिक गर्दै कुनै पनि सिर्जनाको विशेषता त्यसको समसामयिक भाव भएको बताए। उनले भने, ‘समसामयिकता हुँदाहुँदै पनि कविता कालजयी हुनुपर्छ। पाँचै कविमा त्यो क्षमता रहेको छ।’

प्राध्यापक समालोचक खगेन्द्रप्रसाद लुइँटेलले ३७ वर्षदेखि यी कविहरूले कविहरूमा फुटको नभई जुटको सन्देश दिएको बताए। कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले पाँचै कविले तेस्रो पटकसम्म संग्रह ल्याउनु कविहरूको राम्रो खाले साहित्यिक गठबन्धन भएको बताए।

प्रयोगको नाउँमा कविताको खेलवाड भइरहेको बेला पाँचै जनाले तेस्रो पटक कृति  ल्याएर कविहरूले राम्रो सन्देश दिएका छन्। श्रेष्ठले संग्रहमा विविध स्वादका कविता रहेको पनि बताए।

कार्यक्रममा पाँचै कविले एक/एकवटा कविता वाचेका थिए। दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा लेखप्रसाद निरौलाले स्वागत मन्तव्य दिएका थिए भने यादव भट्टराईले कार्यक्रम चलाएका थिए।

प्रकाशित: ६ असार २०७९ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App